बागलुङ, २८ साउन – जिल्ला विकास समिति बागलुङको आयोजनामा विहिवार देखि आर्थिक बर्ष २०७२/०७३मा सम्पन्न भएका कार्यक्रमको समिक्षा बैठक शुरु भएको छ ।
घिल्लो बर्षको समिक्षा गरेर आगामी कार्ययोजना तय गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए । समिक्षाको पहिलो दिन गाविस सचिव, विभिन्न संघसंस्था लगायतको वार्षिक प्रगती समिक्षा गरिएको थियो ।
उक्त अवसरा जिल्लाका सबै गाविस सचिवले वर्षभरी गरेका काम तथा विकासे गतिविधि, ती क्रियाकलापमा खर्च भएको रकम समेतको प्रस्तुतीकरण गरेका थिए । साथै आगामी दिनमा गर्नुपर्ने काम र बजेटको सदुपयोगको लागि चाल्नुपर्ने कदम बारेमा पनि छलफल भएको हो ।
कार्यक्रममा सहायक प्रजिअ धु्रव गिरीले हरेक गाविस र संस्थाले बार्षिक रुपमा गरेका कामको सामान्य जानकारी लिने मात्र नभइ नमूना काम गर्न र अरुको भन्दा भिन्न काम गरेर देखाउन आग्रह गरे । साथै हरेक बर्ष भएका फरक र उपलब्धीमुलक कामलाइ जिविसले पनि सूचिकृत गरेर राख्न सुझाए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला संस्थाका प्रतिनिधिले पनि विकासे योजनालाइ पुरानो शैलीमा प्रस्तुत गर्नुमात्र भन्दा उपलब्धी र सिकाइलाइ बुँधागत रुपमा उल्लेख गर्न सुझाव दिएका थिए । शुक्रवार जिविसको बार्षिक कार्यक्रमको समिक्षा हुने योजना अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै जिल्ला विकास समितिको कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा म्याग्दी जिल्लामा जिविस, विषयगत कार्यालय र गैरसरकारी संघसंस्थाहरुबाट सञ्चालित योजना एवं कार्यक्रमहरुको समीक्षा गरिएको हो ।
समीक्षा गोष्ठीमा आर्थिक समितिको तर्फदेखि वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले कृषि कार्यालय, सिँचाई विकास सव–डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति र म्याग्दी उद्योग वाणिज्य संघमार्फत एक वर्षको अवधिमा म्याग्दीमा सञ्चालन गरिएका कार्यक्रमहरुको प्रस्तुती गरेका थिए । वरिष्ठ पशु चिकित्सक डाक्टर दयाराम चापागार्ईंले पशुसेवा कार्यालयबाट सम्पन्न गतिविधि प्रस्तुत गरेका थिए ।
यसैगरी भौतिक पूर्वाधार विकास समितिको तर्फदेखि प्रमुख जिल्ला इन्जिनियर ओमबहादुर केसीले जिल्ला प्राविधिक कार्यालय, नेपाल टेलिकम, विद्युत, सडक डिभिजन कार्यालय बागलुङबाट जिल्लामा सञ्चालित सम्पन्न कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै सामाजिक विकास समितिको तर्फदेखि जिशिअ रामप्रसाद अधिकारीले जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाई सव–डिभिजन, आयुर्वेद, महिला विकास, बालकल्याण समिति र जिल्ला स्वास्थ्य कार्यालयबाट भए गरेका कार्यक्रमहरुको जानकारी गराएका थिए । त्यसैगरी वन तथा वातावरण समितिको तर्फदेखि जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले वन कार्यालयका गतिविधि र जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले भूसंरक्षण कार्यालयको गतिविधि प्रस्तुत गरेका थिए ।
गैरसरकारी संघसंस्थाको तर्फदेखि गैसस महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले विभिन्न १९ ओटा संघसंस्थाहरुले गएको वर्षमा जिल्लामा गरेका कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जिविसमार्फत सञ्चालित योजना तथा कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । गोष्ठीको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले समीक्षा गोष्ठीमा उठेका विषयलाई सुधार गरी कार्यक्रम सञ्चालन गर्दा उपलब्धिमूलक हुनेगरी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम नेपाली काँग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठको मन्तव्य, स्थानीय विकास अधिकारी पौडेलको अध्यक्षता, योजना अनुगमन तथा प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलको सञ्चालन र प्रमुख जिल्ला इन्जिनियर ओमबहादुर केसीको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Articleस्थापना दिवसमा अन्तरक्रिया
Next Article भूकम्पिय जोखिममा सुरक्षित स्थान
1 Comment
Ramro sanga garnu paryo ni kam.