बागलुङ, ७ माघ– बिद्यामन्दिर पुस्तकालय बागलुङले मासिक रुपमा संचालन गर्दै आएको साहित्य गोष्ठी शनिवार पनि गरिएको छ । बिद्यामन्दिर पुस्तकालयको साहित्य उपसमितिको समन्वयमा गरिएको गोष्ठीमा ८ जना स्रष्टाहरुले आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा स्रष्टा गोविन्द सुवेदी, प्रेम मगर, दिनेश बिकल्प, सिर्जना कार्की, कमला आचार्य, सुप्रिया सापकोटा, राजकुममार रावल र राजन प्रभातले रचना बाचन गरेका थिए । सो अवसरमा बोल्दै धौलागिरि वाङ्मय समाजका संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारीले साहित्यमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न आवश्यक रहेको बताए । कार्यक्रम पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, साहित्य उपसमितिका सदस्य कोपिला कँडेलको स्वागत र संयोजक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।