बागलुङ महोत्सवको पहिलो दिन उद्घाटनको लामो कार्यक्रम हेरेर थकीत बनेका दर्शकहरु त्यतीबेला एका–एक ताते जतिबेला इन्डियन आईडल प्रशान्त तामाङ्ले माईक्रोफोन समाते । पहिलो दिन छोटो समय पाएका तामाङले गीत गाएनन् तर दर्शकहरुलाई सामान्य परिचय मात्रै दिए । पहिलो दिनको रात पर्न आँटेको थियो केही स्थानिय कलाकारले सामान्य नाचगान गरी सकेका थिए र सोही दिनको आकर्षणको रुपमा बोलाईएका तामाङ पनि आफ्नो प्रस्तुतीका लागि आएका थिए । उद्घाटन कार्यक्रम भएकाले पहिलो दिन टिकट काट्नु पर्ने थिएन । बजार छेउको क्याम्पस प्राङ्गडमा आयोजना गरिएको कार्यक्रम स्थलबाट धेरै दर्शक बाहिरीएका थिए तर उद्घोषकले प्रशान्तको नाम लिएपछि दर्शकहरु फेरी भित्रिए उनको आवाज सुन्न र हेर्नका लागि । जिल्लाको ताराखोला घर बताउने एक जान युवाले भने ‘प्रशान्त जिलाई धेरै मत हालेर आईडल जिताएको उहाँ आएर गाउनु हुन्छ भन्ने सुनेर आएँ ’उनले आफुले अपेक्षा गरेअनुसार प्रशान्तले गीत नगाएको बताए । पहिलो दिन चिनजानमा बिताएका प्रशान्तको दोस्रो दिनको प्रस्तुती हेर्न दर्शकहरु टिकट काटेरै महोत्सव स्थलमा पुगेका थिए । केही नेपाली र केही हिन्दी गीत गाएका प्रशान्तको प्रस्तुतीमा प्रायदर्शक रमाएको देखीयो तर आशा गरेअनुसार उनले प्रस्तुती दिन नसकेको दर्शकहरुले दुखेसो गरे । ‘प्रशान्तको प्रस्तुती दमदार होला भन्ने लागेर आएको सोचेजस्तो भएन’ काठेखोला गाउँपालिकाका वडाअध्यक्ष प्रेम लामिछानेले भने ‘नेपाली गीतहरु भन्दा हिन्दी गीतमा धेरै समय बिताए ।’ उनले महोत्सवको महोल तताउने गरी प्रस्तुती दिने अपेक्षा दर्शकले गरेको भएपनि त्यो अनुसारको प्रस्तुती नरहेको देखीयो । प्रशान्तले प्रायः आँफुले गाएका गीतहरु गाए । तामाङ्ले अभिनय गरेको गोर्खा पल्टन चलचित्रको गीत गाउनका लागि मासबाट निकै ठुलो आवाज उठ्यो तर उनले त्यसको वास्ता गरेको देखीएन् । ‘जाउँला सरर रेलैमा गोरखा पल्टन’ भन्ने गीत गाएका तामाङले दर्शकको माग हुँदाहुँदै पनि सान्नानीले भन्ने गीत नगाएको दर्शकहरुले गुनासो गरे । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारले प्रस्तुती दिईरहेका छन् । महोत्सवको तेस्रो दिन आईतबार डिजे कन्सर्ट आयोजना गरिएको थियोभने त्यो भन्दा अघि कलाकारहरु रेशम सापकोटा, श्रीकृष्ण बम मल्ल लगायतका कलाकारहरु प्रस्तुती दिएका थिए । महोत्सवको पहिलो र दोस्रो दिन पप गायक डम्बर नेपालीले पनि गीत गाएका थिए । –तारानाथ आचार्य बागलुङ