कृष्णराज शर्मा
खानामा ढुङ्गा पर्यो भने कसैले गुनासो गर्छ, कसैले ओकलेर फेरी खान थाल्छ । गुनासो गर्यो भने खाना सुधार्छ भान्छेले । होईन आहा ! कति राम्रो ! भन्दियो भने बारम्बार ढुङ्गा खाई रहनु पर्दछ । मान्छेको जीवनमा भान्छेको भूमिका जो कसैलाई आउँछ । भान्छे हुँदै हुँदिन भन्नेहरूलाई पनि भैपरी आएर त्यो जिम्मा निभाउँछ । यहाँ बागलुङ महोत्सवका भान्छे र डाडुपन्यू हल्लाउनेको बारेमा मेरो गुनासो यसरी आयो । छिनको छिनमै मेला महोत्सवको टिकटको भाउ २३३ प्रतिशतले बढेको जीवनमा पहिलो चोटी अनुभव गरें । सँगै आएका मेरा मित्र रू. ६०÷–को टिकटले महोत्सव स्थल छिरे । हाम्रो पालोमा टिकट सकिए । एकछिन मै टिकट आए । टिकट त आए साठीका टिकट रू.२००÷– का भएर आए । दोमनमा भयौं फर्कौं कि जाऊँ । भित्र अघि गएको गाउँको साथीले कुरेको हुनुपर्छ । एकछिन सँगै घुमौंला र फर्कौंला भनेर मैले नै लगेको थिएँ । म बेईमानी हुन चाहिन ।
हामी बुढाबुढीले प्रति टिकट २००÷– तिरेर भित्र गयौं । म एक्लै कराएँ टिकट काउण्टरमा । यस्तो घोर विभेद ! टिकट बिक्रेता सबै परिचित पत्रकार मित्रहरू नै थिए । भएन भनेर पत्रकारका जिल्ला सभापती नै त्यहीं भेटाएँ । सबैसंग कराएँ । यो के गरेको ? यौटै कार्यक्रममा दुईथरी टिकट किन भयो ? सबै बिक्रेताले मसित धुरिएर जवाफ दिए– आज नयाँबर्ष हो । ‘ह्याप्पी न्यू एअर ईभ’ भएकोले टिकट बढेको । ह्याप्पी न्यू एअरमा आज ‘डिजे’ विशेष भएकाले टिकट बढाएको । मेरो पारो तात्यो र मैले सोधें– हाम्रो नयाँबर्ष कहिले हो थाहा छ तपाईंहरूलाई ? मञ्चको भित्तामा ‘बागलुङ महोत्सव–२०७४’ लेखेको देख्नु भएन ? २०७४ पछि २०७५ आउँछ कि २०१८ ? नेपाली मौलिक कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्न भन्दै दर्जनौं वक्ताहरूले उद्घाटनको दिन भाषण गरेर त्यो दिन त्यसै खेर फालेका हुन् ? त्यो हाम्रो संस्कृति हो । नेपाली बिक्रम सम्वत हाम्रो हो कि ईश्वी ? पश्चिमा संस्कृतिको उत्सवमा सिधै ठगी गर्न मिल्छ ? तपाईंहरूले नै यसको बिरूद्धमा कलम चलाउनु पर्नेमा बकाईदा त्यस्तो टिकट बेचेर बस्ने ? थुप्रै प्रश्नहरू मैले सोधें । उनीहरूले भने– नयाँ बर्ष मनाउन पोखरा जाने हरूलाई रोक्न र पोखराको अनुभुति बागलुङमै दिने भनेर यस्तो छुट्टै कार्यक्रम थपेकोले टिकटको मुल्य त्यसरी बढ्न गयो । फेरी रिस उठ्यो र भनें– भूगोलको वैशिष्ट बिशेषताको अनुभुति अर्को भूगोलले दिन सक्छ ? फेवाताल छ हाम्रो बागलुङमा ? यो प्रश्न मुखबाट खस्न नपाउँदै एक जना बिक्रेता बहिनीले प्याट्टै भनिन्– भित्र जानुस त मान्छेको ताल छ । त्यहीं पौडी खेल्नुस् । यो वाक्य सुन्नेहरू बिक्रेताहरू गललल्ल हाँसे । डिजे कै अनुभुति दिनु थियो भने यौटै ब्यानर मुनि नभएर छुट्टै स्थानमा कार्यक्रमको आयोजना किन भएन ? त्यतिबेला प्रति टिकट रू.१०००÷– तोक्दा पनि आपत्ति हुन्थेन ।
यसरी महोत्सवको मौकाको फाईदा उठाएर संस्थागत लुट गर्न पाईन्छ ? पत्रकारहरू समाज र राष्ट्रका सदाबहार प्रतिपक्ष हुन् कि नाईं ? उनीहरूले सँधै ‘वाचडग’ को भूमिका निभाउनु पर्ने हो कि होईन ? त्यहाँ भएका सबैले मित्रहरूले हो, दाई के गर्ने ! भन्दै मेरो कुरामा सहमति जनाउँदै निरीहता प्रकट गरे । यो देखेर सबैप्रति दया जागेर आयो । यसपछि त्यहाँ हामी दुवै त्यो महँगो टिकटको क्षतिपूर्ती उठाउन र २३३५ को भरपूर मजा लिन बाह्रै बजाउने निधो गर्यौं । के–के न होला भनेको त ज्या ! हिंजो अस्तिको जस्तो रमाईलो पनि मञ्चमा आएन । सबैले थकथकी गरे । अन्तमा क्याम्पसको पश्चिम गेट बाहिर पाँचवटा आतिशबाजी भने नौलो देखियो । मेरी श्रीमती खुब रिसाईन् म सँग । “त्यही पडकाएको हेर्न दुई सय तिरेर आएको हो बुढा ? त्यस्तो त घरै पड्काएका भए भै हाल्थ्यो ! हेर दुई सयको सत्यानाश ! भो भो नरिसाऊ मञ्चमा भक्र्याक् र भुक्रुक् उफेको देखिनौ ? त्यही त हो डिजे ! दुई सयको मजा भनेकै त्यस्तै रहेछ । के गर्ने ! पड्काएको दुई सय नाचेको साठी होईच । एकचोटी झुक्क्याए त नि’ जाम् हिंड भन्दै एकापसमा फकिएर घर फर्क्यौं । बस्, दुई सय रूपैयाँ चट् !
Previous Articleजब प्रशान्त तामाङले माइक समाते…
Next Article रेडियो नेपाल हराएको सूचना