बागलुङ, १३ पुस – जिल्लामा यस वर्ष ३० करोड रुपैयाँ भन्दा वढिको सुन्तला उत्पादन भएको छ । जिल्लामा ६ सय ७१ हेक्टरमा गरिएको व्यावसायिक सुन्तला खेतीबाट ३० करोड बराबरको उत्पादन भएको हो । जिल्लाभरमा यो वर्ष ३ हजार ४ सय ६५ टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार ३ सय ८५ हेक्टरमा १ लाख २० हजार उत्पादन दिने बिरुवा छन् । “सुन्तलाको बिक्रीबाट यो सिजनमा जिल्लामा ३० करोडभन्दा बढी रकम किसानको घरमा भित्रिएको छ,” अधिकृत अधिकारीले भने, “कच्चीनै भए पनि गाउँ–गाउँमा सडक पहुँच पुगेका कारण किसानलाई आफ्नो फसल बेच्न सजिलो भयो ।”
अनुकूल मौसमका कारण गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लभरबाट ३ हजार ३ सय ६० टन सुन्तला निर्यात भएको थियो । आगामी वर्ष सुन्तला उत्पादनमा अझै वृद्धि हुने कार्यालयले अनुमान गरेको छ । “व्यावसायिक सुन्तला खेती सुरु गरिएको २ सय ८० हेक्टरमा लगाइएका सुन्तलाका बिरुवाले उत्पादन दिन बाँकी छ,” अधिकृत अधिकारीले भने, “आगामी वर्ष १५ देखि २० प्रतिशत थप विरुवाले उत्पादन दिन सुरु गर्नेछन् ।”
कार्यालयका अनुसार व्यावसायिक सुन्तला खेतिमा लागेका किसानको एक घरबाट न्यूनतम ५० हजारदेखि ५ लाखसम्मको सुन्तला बिक्री हुने गरेको छ । व्यवसायीहरू किसानको बगैंचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । सुन्तला बारीमै पुग्ने ब्यापारीले बोटनै एकमुष्ठ खरिद गरेको विहुँका सुन्तला किसान बालानन्द कँडेलले बताए । कँडेलले आफ्नो बगैंचामा फलेका सुन्तला तीन लाख थोक मूल्यमा बिक्री गरेको जानकारी दिए । मध्यपहाडी लोकमार्गको नजिकै सुन्तला बगान भएपछि व्यापारीलाई खरिद तथा ढुवानी गर्न सहज हुन थालेपछि व्यवसायीहरू किसानका बगैंचामै जाने क्रम बढ्न थालेको हो ।
रोगकीराको व्यवस्थापन, प्रविधि सामग्रीको तालिम दिएका कारण यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भए पनि बाग्लुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतका केही स्थानमा सुन्तलाको दाना सानो देखिएको कृषकको गुनासो छ ।
सुन्तलाका लागि बाग्लुङको सिगाना, भकुण्डे, बिहूँ , जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटीलगायतका २० वटा वडालाई पकेट क्षेत्र मानिन्छ । कृषि विकास कार्यालयले बिरुवा, औषधिलगायतका प्राविधिक सहयोग र सामग्री प्रदान गर्दै आएको छ । बेलाबेलामा कृषकलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम पनि दिइने गरेको कार्यालयका अधिकृत श्यामप्रसाद अधिकारीले बताए ।
कार्यालयले समयसमयमा कृषक भेटघाट, अध्ययन-अनुगमन भ्रमणको पनि आयोजना गर्ने गरेको छ । कार्यालयले बोटमा बाँकी रहेका सुन्तला तत्काल टिप्न किसानलाई आग्रह गरेको छ । पुरानै फल बोटमा भएपछि त्यसले नयाँ फूल तथा कोपिला आउन रोक्ने कार्यालयले जनाएको छ ।
Previous Articleनेपाली कांग्रेसलाई भोट नदिएपछि जजमान परित्याग
Next Article बहिरा बिद्यार्थीलाई सहयोग