मातृका दाहाल
काठमाडौं, १३ पुस – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई भोट नदिएपछि काठमाडौंमै पुरोहितले जजमान त्यागेका छन् । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उमेदवार गगन थापा र समानुपातिकतर्फ नेपाली कांग्रेसलाई भोट नदिएपछि कपनका चुडामणि कोइरालाले २ घर जजमान नै त्यागेका हुन् ।
बूढानिलकण्ठ नगरपालिकास्थित बालुवाखानीका शम्भु राउत र नरेश राउतले एमाले उम्मेदवार राजन भट्टराई र समानुपातिकमा नेकपा एमालेलाई भोट दिएपछि कोइरालाले जजमान त्यागेको बताए । कांग्रेसलाई भोट नदिएकै कारण कोइरालाले तुलसीको पूजा र वार्षिक श्राद्धसमेत बहिष्कार गरेका छन् । कोइराला नगएपछि नरेश राउतले आफ्नी आमाको श्राद्ध र तुलसी पूजा अरु नै पुरोहित बोलाएर गरेका छन् । गएको शुक्रबारको श्राद्धका लागि बोलाउँदा कोइरालाले अरु नै पुरोहित बोलाएर गराउन भनेका थिए ।
“प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एकमा कांग्रेसलाई भोट हाल्न आग्रह गर्दा राउत परिवारले पहिला माओवादीलाई भोट हाल्यो । यसपटक प्रत्यक्ष र समानुपतिकमा एमालेलाई सहयोग गर्ने भनेपछि मैले जजमान छोडेको हो,” कोइरालाले भने, “पुरोहित पेशा मन मिल्दा गर्ने हो, कसैसँग मन र विचार मिल्दैन भने उपयुक्त देखिनँ ।” कर्मकाण्ड र राजनीतिलाई एकै ठाउँमा नराख्न राउत परिवारले आग्रह गर्दा पनि कोइरालाले जान इन्कार गरेका थिए ।
समाजशास्त्रीहरू राजनीतिक आस्थाकै कारण देखिएको यस्तो बिग्रहले मुलुकको समृद्धि, विकास र शान्तिमा नै खलल पुग्ने बताउँछन् । फरक आस्था बोकेकै कारण मलामी नजाने, आपतविपतमा सहयोग नगर्ने, परम्परागत मूल्यमान्यतालाई बिर्सिने, विकास निर्माणमा एउटा दलको नेताले गरेको काममा अर्कोले सहयोग नगर्नेजस्ता विकृति राजनीतिक विभाजनले बाएको उनीहरूको तर्क छ । त्यसको मूल कारण अशिक्षा र बेरोजगारी पनि मूल कारण भएको समाजशास्त्रीहरू बताउँछन् ।
समाजशास्त्री प्रा.डा. गणेश गुरुङ राजनीतिक आस्थाका कारण समाजमा परापूर्वकालदेखि रहँदै आएको सद्भाव र सम्बन्ध बिग्रँदै गएकोमा चिन्ता व्यक्त गर्छन् ।
“राजनीतिक आस्थाका कारण समाजको बनोट र सद्भाव विस्तारै धुमिल हुँदै गएको छ,” समाजशास्त्री गुरुङ भन्छन्, “विकास, समृद्धि, एकता र भाइचाराका लागि यो ज्यादै चुनौती र जोखिम हो ।” विगतमा आर्थिक, सांस्कृति, धार्मिक र छुवाछुतजन्य विभेदले जरा गाडेकोमा त्यसमा राजनीतिक आस्थाका आधारमा उत्पन्न विग्रह थपिएको गुरुङको धारणा छ । राजनीतिक दल, नागरिक समाज र वुद्धिजीवि भनिएका पक्षले खराब र गलत तत्वलाई परित्याग गर्न नसक्दा समाजमा बिग्रहको स्थिति आएको उनी बताउँछन् ।
“समाज विभाजन राम्रो र नराम्रो, असल र खराब, इमान्दार र बेइमानी, काम गर्ने र नगर्ने, अपराधी र सज्जनबीच हुनुपर्ने हो,” गुरुङ भन्छन्, “तर समाज र राष्ट्र डोर्याउने पक्षबाटै गुन्डा, भ्रष्ट, अपराधी, बेइमानीलगायतलाई संरक्षणमा लागेकोले तत्काल यसमा सुधारको सम्भावना न्यून छ ।” कारोवार
Previous Articleकविता: मेरो ओठमा हाँसो सुहाउँछ
Next Article बागलुङमा ३० करोड भन्दा वढिको सुन्तला उत्पादन