बिनु सुवेदी
तिमीले पहिलो प्रेमपत्रको,
पहिलो हरफमा व्याख्या गरेझेँ,
धान झुलेको गैरीटारजस्तै थियो मेरो कपाल
कालान्तरमा तारेभिरको खर भन्ठान्यौ
मेरा सुनकेस्रालाई,
र हाल्यौ फनफनी घुम्ने रोटेपिङ
तिमीले प्रशंशाको दोस्रो हरफमा
ब्याख्यागरेको पिपलपाते ओठसँग
के सौदा थियोहँ ?
बर्खामा कोदो गोड्न गएकी युवतीको
तिघ्रा चुसेर ढाडिएको जुका झैँ बनायौ
जुका त अरूलाई चुसेर ढाडियो
आफै चुसिएर ढाडिनुपर्ने यो ओठको
भाग्य……!
तिमीले प्रशंसाको तेस्रो हरफमा व्याख्या गरेको
आँखा हेर त,
आजकल यी गाजलु रहेनन ।
कालो हुनु भनेको गाजलु हुनु हैन रहेछ
प्रिय,
आँखाको धब्बा यसरी गाढा बन्दै छ नि,
कालोलाई झन अँध्यारो बनाउन म गाजल
किन लगाउँ हँ ?
छाम्छु चिरा-चिरा परेको मुटु
सम्झन्छु खडेरीले धाँजा फाटेको गैरीखेत
खेत त पानी पाएपछि आफ्नै लयमा
फर्कियो
तर, आँशुले सिँचेको मुटु झन रुखो हुँदोरैछ
त्यसैले त तिमीले छुने बित्तिकै
खङ्ग्रङ्ग हुन्छ मेरो मन
र पट्ट फुट्छ पसिनाको मूल
एकदिन कटक्क पेट काटेको बेला
पटक्कै सहन नसकेर
मैले सिरानी हालेको तिम्रो देब्रे पाखुरा…
म अवाक छु कपास फुल्नुपर्ने ठाउँमा
कसरी काँडा पलायो !
तिनै काँडाहरूले जबरजस्ती चिथोरेपछि
असह्य पीडा भएर
जब मैले प्रतिवाद गरेँ नि,
त्यतिबेला झर्नै आँटेको वीर्य
पाइपनलीमै अड्किँदा
कसरी छटपटाएका थियौ तिमी ?
हो, त्यो भन्दा कैयौँ पीडा हुन्छ मलाई
झर्नै खोजेको आँशु
फेरि भित्र धकेलेर
फिस्स मुस्कुराउनु पर्दा !
तर तिमी अझै भन्छौ
मेरो ओठमा हाँसो सुहाउँछ !
Previous Articleभारतसंग भयो विद्युत खरिद सम्झौता नवीकरण
Next Article नेपाली कांग्रेसलाई भोट नदिएपछि जजमान परित्याग