काठमाडौं, १३ पुस – नेपाल विद्युत प्राधिकरण र भारतकोे विद्युत व्यापारको नोडल एजेन्सी विद्युत व्यापार निगम (एनभिभीएन) लिमिटेडबिच आगामी चैत १५ गतेसम्मका लागि विद्युत खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच बुधबार भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा सम्झौताको नवीकरण भएको हो ।
सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोली बुधबार बिहान नयाँ दिल्ली प्रस्थान गरेको थियो । नयाँ दिल्लीबाट कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिए ।
त्यस क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारीबीच विद्युत आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ ।
ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ । भारतबाट नेपालले यस हिउँदका लागि झण्डै ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको छ । रासस
Previous Articleवामएकतामा विदेशी चलखेल निश्चित – एमाले नेता पाण्डे
Next Article कविता: मेरो ओठमा हाँसो सुहाउँछ