दीपक घिमिरे
क्रिकेटको बलले प्रेमको खुट्टामा लागेपछि ऊ फिल्डमै थचक्क बस्यो । उता सविना दर्शकदीर्घाबाट जुरुक्क उठी अनि दुवै हातले मुख छोपेर मनमनै भनी– “ओ माई गड ! सेभ हिम ।”
रेफ्रीले प्रेमलाई अवस्था सोधे– ऊ खोच्याउँदै एरियाभन्दा बाहिर गयो । उसको ठाउँमा हेडसरले दिपेनलाई पठाएँ ।
प्रेमलाई एक्लै देखेर सविना उसको नजिक गएर छेउमै बसी । आधा भएको मिनरल वाटरको बोतल दिँदै भनी– “ख्याल गर्नुपर्दैन ? ज्यानै फालेर खेल्नुपर्छ ?”
प्रेमले पानी पियो अनि बलले लागेको खुट्टा मुसार्दै भन्यो– “मलाई क्रिकेटको राम्रो खेलाडी बन्नु छ । तेरो उपदेश चाहिँदैन, उता जा ।”
सविनाले प्रेमको कपाल तान्दै भनी– “सान झार्छ साले ! तँलाई चोट लाग्दा मलाई दुख्छ बुझिस् । ”
पानीको बोतल सविनाको काखमा फालेर प्रेम फेरि फिल्डतिरै गयो, सविना चैँ नाक बटार्दै दर्शकदीर्घामै आएर बसी ।
सात र आठ कक्षाको क्रिकेट प्रतियोगितामा यो पटक पनि आठ कक्षाले नै जित्यो, प्रेम म्यान अफ द म्याच बन्यो । प्रेम म्यान अफ द म्याच भएकोमा सबैभन्दा बढी खुशी सविना नै भई । ऊ दुवै हातमाथि उठाउँदै चिच्याउँदै भनी “हुर्रे ! बेस्ट अफ लक प्रेम ।”
सविना चिच्याउँदै हुटिङ गरेको प्रेमले देख्यो । अनुहार कालो बनाउँदै सोच्यो “पागल केटी !”
म्याच सकिएपछि स्कुल छुट्टी भयो ।
सविना प्रेमको पछिपछि हिँड्दै घर फर्किंदै थिई, अलि पछाडि थियो दिपेन । प्रेम आफ्ना साथीहरूसँग गफिँदै हिँड्दै थियो । सविना उसको हरेक चालसँग फिदा थिई । मुहारमा मन्द मुस्कान छाड्दै सविना प्रेमलाई हेरिरहन्थी अनि हिँडिरहन्थी, एकसुरे भएर । “ओए सविना, रुक !” पछाडि आइरहेको दिपेनले सविनालाई रोक्न खोज्यो ।
पछाडि फर्केर सविनाले भनी– “रुक्दैन ।”
दिपेन दौडियो, सविना झन् दौडेर प्रेमको ग्याङमा मिसिन आइपुगी । दिपेन अलि ओरै अडियो ।
“खै लेऊ म झोला बोक्दिन्छु ।” सविनाले प्रेमको झोला तान्दै भनी ।
“पर्दैन ! आफै बोक्न सक्छु ।” प्रेमले झोला अर्को साइडमा बोक्दै झ्याउ मानेको जस्तो व्यवहार देखायो ।
रिसाउँदै सविनाले भनी– “खुट्टा दुखेर हिँड्न अप्ठ्यारो भएको होला भन्ने ठानेर हो बौला । खुबै सान दिन्छस् है ।”
अरू साथीहरू गललल हाँसे । सविना रिसाउँदै अझ अघि हिँड्न थाली ।
सविना र प्रेमको घर एउटै बजारभित्र पर्छ । लमही बजारका नामुद व्यापारी खनाल बाजे कि नातिनी सविना पनि पढाइमा कम्ती केटी होइन । स्कुलका मास्टरदेखि बजारका छिमेकी अनि आफन्तीले उदाहरणै दिने जस्ती छोरी हो सविना ।
उता प्रेम पनि ठ्याक्कै त्यस्तै । पढाइमा पनि अब्बल अनि सोझो । बाउको आफ्नै व्यावसाय छ प्रेमको । बाजेले सुरु गरेको व्यावसायलाई अहिले उसका बाले सम्हाल्छन् । भोलि यही व्यावसाय प्रेमको हातमा आइपुग्छ । तर पनि ऊ खेल र पढाइलाई महत्व दिन्छ । पढाइमा क्लासभरिकै उत्कृष्ट विद्यार्थी हो प्रेम ।
प्रेमलाई सविना बाल्यकालदेखि नै मन पराउँछे । ऊ किन मन पराउँछे थाहा पाउदिन रे तर सबैभन्दा धेरै मन पराउँछे रे । अस्ति आरतीले सविनाका लागि दिपेनको लभ प्रपोज ल्याइपुर्याउँदा क्लासभित्रै सविनाले भनेकी थिई– “यो सविना प्रेम कि भैसकी, यस्ता हुलाकी काम नगर है केटी !”
आठ पास गरेर प्रेम अनि सविना दुवै नौ कक्षामा पढ्ने भए । प्रेम पढाइ अनि खेलमा मात्र ध्यान दिन्थ्यो भने सविना पढाइ अनि प्रेममा ध्यान दिन्थी । काँचो उमेर भए पनि सविनाको प्रेम पाको थियो । ऊ जीवनभर प्रेमकै हुने कसम खान्थी ।
सविनालाई आफ्नो बनाउन स्कुलमा धेरै केटा लाइनमा हुन्थे । प्रेमको परिभाषा नबुझ्नेहरू पनि सविनालाई प्रेमपत्र लेखेर पठाउँथे । हिम्मत भएकाले उसैलाई दिन्थे अनि हिम्मत नहुनेहरू सविनाका लागि कोरियका प्रेमपत्र उसको ब्यागमा सुटुक्क हालेर टाप कस्थे ।
बाल्यकालदेखि चलेको एकतर्फी मायाबाट हार खाएकी सविना स्कुले जीवनको अन्तिम दिन प्रेमलाई सबै भन्ने अठोट लिएर स्कुल पुगी । एक हप्ता पछिदेखि एसएलसी परीक्षा थियो । आज स्कुलमा सामान्य कार्यक्रम थियो, दस कक्षाको बिदाइ कार्यक्रम ।
मनमा हिम्मत जुटायर स्कुल पुगेकी सविनालाई प्रेमले एक पटक पनि हेरेन अनि लभ प्रपोज गर्ने मौकै दिएन ।
ऊ हार खाएर क्लासमा आएर बसेकी मात्र थिई । उसका आँखा अगाडिको ब्ल्याकबोर्डमा पुगे । ब्ल्याकबोर्डमा लेखिएको थियो “डि+एस !”
ऊ हतारिँदै गएर कागजको खोस्टाले लेखिएको मेटाउने प्रयास गरी । ऊ लाजले रातो भई, तनावले अनुहार कालो भयो ।
भर्खर मेटाइसकेकी मात्र थिई । दिपेन क्लासभित्र छिर्यो अनि सिरियस हुँदै भन्यो– “रियल्ली सबु ! आई लभ यु । मलाई बुझ्ने कोसिस गर ।”
रिसले आगो भएकी सविना जुरुक्क उठेर बाहिर गई, दिपेन मास्टर बस्ने कुर्सीमा थचक्क बस्यो ।
निरास भएर घर फर्कंदै गरेकी सविनाले पीसीओ रोड निर प्रेमलाई भेटी । एक्लै हिँडेको प्रेमलाई देखेर सविनाको मुहारमा अलिकति हाँसो भेटियो ।
उ खुशी हुँदै कुदेर प्रेम नजिक आइपुगी, स्वाँ स्वाँ गरेकै स्वरमा प्रेमलाई भनी “तिमीसँग काम थियो । एक छिन टाइम देऊ न ल ।”
ऊ वास्तै नगरी हिँडिरह्यो, आफ्नै तालमा ।
सविनाले प्रेमको हात समातेर भनी– “तिमी मलाई किन इग्नोर गर्छौ ?”
हात झट्कारेर छुटाउँदै प्रेमले भन्यो– “नट इन्ट्रेस्टेड इन लभ ! प्लिज लिभ मी अलोन ।”
सविना टक्क अडिई, प्रेमलाई हेर्दै कसम खाई– “अब तेरो बाटो धाउँदिन ।”
एसएलसी आयो, सकियो ।
प्रेमपत्र कोर्नेहरूले सविनालाई प्रेमपत्र दिइरहे । ऊ स्कुलभरीकै राम्रो विद्यार्थी अनि इज्जतिली केटी थिई । उसका लागि मर्ने दिवानाहरूको कमी थिएन । तर ऊ मात्र प्रेमलाई प्रेम गर्थी । अरूका प्रपोज सबै इग्नोर हुन्थे । पढाइमा अब्बल सविना एउटा कलेजतिर लागी, प्रेम अर्को कलेजतिर लाग्यो । उनीहरूको भेट हुनै छाड्यो ।
अबोध उमेरमा हुने प्रेमकै कारण जीवन बर्बाद हुनेहरूको भीडबाट सविनाले आफूलाई बचाई । जीवन अझ धेरै सुखमय हुन पनि सक्थ्यो तर आजसम्म स्कुले जीवनमा जतिका प्रेम भए अनि जतिले प्रेमलाई विवाहको रूप दिए, तीमध्ये धेरैका घरवार अनि जीवन तहसनहस थियो ।
त्यसैले त सविना आजभोलि बुझ्दैछे कि किन बाबामम्मी प्रेमसँगको प्रेममा बाधक हुनुहुन्थ्यो भनेर । त्यसैले त ऊ बुझ्दैछे कि बाल विवहा रोक्न सरकार किन कम्मर कसेर लाग्दैछ भनेर ।
त्यो बेला प्रेममा नराम्रोसँग भासिएको सम्झेर कहिलेकाहीँ सविना एक्लै हाँस्छे । ऊ त्यो बेलाको प्रेमलाई भेट्न आतुर पनि हुन्छे अनि लजाउँछे पनि । पढाइ र उमेरसँगै आउने दिमागले उसलाई आजभोलि परिपक्व छोरी बनाएको छ । त्यतिबेलाका सबै लभका चक्कर सपना जस्तै मान्दछे ।
प्रेम सहर बसेर पढ्न थालेपछि सविनाले उसलाई भुल्दै गएकी थिई । ऊ प्रेमसँगको स्कुले जीवन सम्झेर हाँस्थी तर अझै मन चैँ पराउँथी । दिमागमा जीवनको महत्व बुझ्ने भैसकेपछि उसले प्रेम घरमै माग्न आए हुन्थ्यो भन्नेसम्मको कल्पना गर्थी । प्रेमसँग प्रेम विवाह होइन, मागी विवाह गर्ने उसको रहर पलाएको थियो आजभोलि । तर सबै असम्भव जस्तै थियो । किनकि प्रेम हैसियत बनाउन सहर छिरेको धेरै समयसम्म पनि फर्केन ।
दिन बित्न के बेर ! एक दिन सविनाका बाआमासँग सविनाको हात माग्न एउटा घर आइपुग्यो । बुहारीलाई छोरी बनाएर राख्ने सपना देखेका ती घरका मान्छेका कुरालाई सविनाका बाआमाले नकार्न सकेनन् । सविना प्रेमलाई भेटेर अन्तिम पटक कुरा गर्ने सपना देख्दै निदाउँथी तर यता बाआमाले उसका लागि माग्न आएको घर नै स्वर्ग जस्तै सुन्दर हुने सपना देखाउन थाले ।
सम्पर्कभन्दा टाढा भएको प्रेमलाई अन्तिम अफर सुनाउन नपाउँदै सविनाले बाआमाको कुरामा मुन्टो हल्लाउँदै सहमती जनाई । अनि सुरु भयो बेहुली बन्ने प्रक्रिया ।
सविनाका हातमा मेहन्दी लागे, घरमा झिलिमिली टाँगिए । रोटी पाके, घर अगाडि आगनमा केराको बुटा गाडेर जग्गे बन्यो । सविनाका बाले हैसियत अनुसार बिहे गर्दिए ।
सविना खुशी थिई, सोचेजस्तै श्रीमान पाई । बाआमा जस्तै सासूससुरा पाई । उसले बिहे गरेकै दिन प्रेमलाई भुलिदिई पूर्णरूपमा ।
बिहेको दोस्रो दिन ऊ श्रीमान्सँग पाइलो फर्काउन माइत आई । आफ्नै घरको छतबाट सडकमा प्रेमलाई देखी । अझ धेरै सालिन अनि अझ धेरै भद्र रूपमा आएको प्रेमलाई देखेर कुदेर तल झरी ।
घरको मूल ढोका नाघ्नुभन्दा पैला उसले एक पटक अतीत सम्झी अनि वर्तमान पनि । ऊ टक्क रोकियर एक मिनेट सोची, अनि फेरि पाइला चालेर बाहिर निस्की ।
पुरानो प्रेम उसको दिलको राजा थियो । आजको प्रेम उसको स्कुले साथी मात्र थियो । ऊ उसलाई भेटेर अतीत सम्झिन मात्र चाहन्थी, प्रेमसँग प्रेमको भीख माग्न चाहँदैनथी ।
उसले प्रेमलाई नजिकैको बगैँचामा भेटी । प्रेमले अँगालोमा बेर्न खोज्यो । उसले रोक्दै भनी “निक्कै ढिला भइसक्यो प्रेम ।”
प्रेमले आँखाबाट आँसु झार्दै भन्यो– “मैले तिम्रो माया बुझ्नै सकिनँ । जुन दिन बुझँे, त्यही दिन घर हिँडेको हुँ । म आइपुग्दा तिमी अर्कै कि हुँदै थियौ । गएर रोक्नै सकिनँ ।”
उसका कुराले सविना पनि नरोएर बस्नै सकिन । एकछिन् दुवै जना हिक्का छाडेरै रोए । सम्हालिँदै सविनाले भनी– “अब म कसैकी छोरी, कसैकी श्रीमती अनि कसैकी बुहारी हुँ । अब इज्जतको पनि ख्याल गर्नुपर्छ । हिजो तिम्रो मात्र हुँदा तिम्ले वास्ता गरेनौँ अब हामी मात्र क्लास फ्रेन हौँ ! ओके ?”
प्रेमले आँखा पुछ्यो, रुन्चे स्वरमा भन्यो “भुल्न त भुल्दिनस नि डल्ली ?”
प्रेमले डल्ली भनेपछि सविना फेरि एक पटक प्रेमको छातीमै टाँसियर रोई । सविनाले पुराना दिन याद गर्दै भनी “उतिबेला डल्ली भनेर त इग्नोर गरिस नि, नत्र यसरी लुकेर अँगालोमा बेरि नै पर्थेन ।”
दुवैका रसाएका आँखा सुके अनि स्कुले दिन सम्झिँदै ठट्टा गर्दै घरसम्म फर्किए ।
Previous Articleचीनको ‘चेक डिप्लोमेसी’ चक्रव्युहमा भारत ?
Next Article गलकोटको जनजागृति मावि काॅडेबासलाई ६० लाख सहयोग