बागलुङ, ५ पुस – अमेरिकामा २५ वर्ष चिस्याएर राखिएको भ्रूणबाट सफलतापूर्वक बच्चा जन्मिएको छ। टेनिसीकी टिना गिब्सनले गत नोभेम्बर २५ मा छोरी जन्माइन्। सो भ्रूण सन् १९९२ को १४ अक्टोबरका दिन सुरक्षित गरिएको थियो। बच्चाको नाम एम्मा रेन गिब्सन राखिएको छ। एम्माका आमाबुबा टिना र बेन्जामिनले भ्रूणको उमेर थाहा पाउँदा आफूहरु चकित भएको बताएका छन्।
टिना हाल २६ वर्ष पुगिन्। ‘यो भ्रूण र म बेस्ट फ्रेन्ड बन्न सक्थ्यौँ,’ उनले भनेकी छन्। यति पुरानो भ्रूणबाट बच्चा जन्मिएको यो पहिलो पटक भएको बताइएको छ। यसअघि २० वर्ष पुरानो भ्रूणबाट जीवित बच्चा जन्मिएको थियो। एम्माको स्वास्थ्य निकै राम्रो रहेको बताइएको छ।
आफ्नो वंशाणु नभए पनि एम्मा आफ्नै छोरीजस्तो भएको ३३ वर्षीय बेञ्जामिन बताउँछन्। ‘उनी बाहिर आउनेबित्तिकै म उनलाई माया गर्न थालेँ,’ उनी भन्छन्। एम्माको भ्रूण नाम थाहा नभएका जोडीबाट लिएर चिस्याएर राखिएको थियो। ‘स्नोबेबिज्’ भनिने यस्ता भ्रूण आफ्नो जन्मको पर्खाइमा हुन्छन्।
टिना र बेन्जामिनले ७ वर्ष अघि विवाह गरेका थिए। तर सिस्टिक फाइब्रोसिसबाट पीडित बेन्जामिनमा प्रजनन् क्षमता थिएन। त्यसैले आफूहरु कुनै धर्मसन्तान पाल्ने विचारमा रहेको टिनाले बताइन्। भ्रूण प्रत्यारोपणअगाडि पनि उनीहरुले कैयौँ बच्चाको लालनपालन गर्दै आएका थिए।
यसै क्रममा एक साता लामो छुट्टी लिने निर्णय उनीहरुले गरे। त्यसैले घरको कुकुर आमाबाबुकहाँ छोड्न जाँदा टिनाका बाबुले उनीहरुलाई भ्रूण प्रत्यारोपणका बारेमा बताए। ‘मैले आज समाचारमा देखेको। यसलाई भ्रूण गर्ने भन्दारहेछन्। भ्रूण प्रत्यारोपण गरेपछि तिमी आफ्नो पेटमा बच्चा हुर्काउँछौँ,’ टिनाले बुबाको मुखबाट सुनिन्। ‘त्यो त राम्रो कुरा हो। तर हामी इच्छुक छैनौँ,’ टिनाले बुबालाई उत्तर दिइन्।
तर छुट्टीका लागि जाँदैगर्दा ८ घण्टा लामो यात्राभरी उनले यो कुरालाई दिमागबाट निकाल्न सकिनन्। अन्ततः उनले बेन्जामिनतर्फ फर्केर भनिन्, ‘तिमी यसबारे के भन्छौ ?’ बेन्जामिन पनि त्यही कुरा सोचिरहेका थिए। छुट्टीभर उनीहरुले यसैबारे अध्ययन गरे।एम्मा
त्यसपछि गत वर्षको अगस्टमा उनीहरुले भ्रूण ग्रहणका लागि आवेदन दिए। डिसेम्बरदेखि उनलाई यसका लागि तयार पार्न थालियो। औषधि दिइयो। विभिन्न परीक्षणहरु गरियो। मार्चसम्ममा उनी यसका लागि तयार भइन्। त्यसपछि उनीहरुले वंशाणुगत सूचना भएका करिब ३०० भ्रूणहरुको सूची अध्ययन गर्नुपर्यो, ताकि उनीहरुले सही भ्रूण छान्न सकून्। ‘धेरै भ्रूण थिए र हामीलाई कुन छान्नु, कुन छान्नु भयो,’ टिना भन्छिन्।
तर छनोटलाई सहज बनाउन उनीहरुले एक तरिका लगाए। टिना र बेन्जामिन दुवै सानो शरीर भएकाले त्यसैअनुसारको भ्रूण छनोट गर्न थाले। तर उनीहरुको पहिलो छनोट उपलब्ध हुन सकेन। त्यसैले उनीहरुले दोस्रो पटक फेरि रोजे। भ्रूण प्रत्यारोपण हुँदै गर्दा मात्रै उनीहरुलाई डाक्टरहरुले थाहा दिए, यो विश्व कीर्तिमान हो।
चिस्याएर राखिएको भ्रूण पगाल्दाखेरि जीवित हुने सम्भावना ७५ प्रतिशत हुने डा. क्यारोल समरफेल्ट बताउँछिन्। यद्यपि त्यसलाई प्रत्यारोपण गरेपछि सफल हुने सम्भावना भने २५ देखि ३० प्रतिशत मात्रै हुन्छ। तर टिनामा पहिलो पटक नै भ्रूण प्रत्यारोपण सफल भयो। अन्ततः उनले २५ नोभेम्बरमा २० घण्टा लामो सुत्केरी व्याथापछि एम्मालाई जन्म दिइन्।
एम्माको भाइ वा बहिनी जन्माउन टिना फेरि त्यही प्रक्रिया दोहोर्याउन चाहन्छिन् त ? ‘दुई महिनाअघि सोधेको म पक्कै हुन्छ भन्ने थिएँ,’ टिना भन्छिन्, ‘तर प्राकृतिक रुपमा बच्चा जन्माइसकेपछि म अब फेरि बच्चा जन्माउने छैन भन्ने अवस्थामा पुगेकी छु। तर अर्को वर्षतिर सायद अर्को बच्चा जन्माउन चाहन्छु होला।’ सिएनएन