म्याग्दी, ५ असोज/जिल्लाको बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने विषयमा मंगलबार अन्तरक्रिया गरिएको छ । बैङ्कको बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको हो । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा स्थापना गर्ने निर्णय गरेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारीको विकास र प्रर्वद्धनका लागि शाखा खोल्न आवश्यक रहेको बताए । बैङ्कका सञ्चालक रामबहादुर जिसीले कार्यक्रमको उद्देश्य र धौलागिरीमा सहकारीको अवस्थाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका अध्यक्ष बिष्णुहरि ढकाल, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारी, जिल्ला सहकारी संघ म्याग्दीका पुर्वअध्यक्ष सुर्दशन श्रेष्ठ, मल्लाज बहुउद्देश्यीय सहकारी संस्था पर्वतका अध्यक्ष लालबहादुर अधिकारी, दिदी बहिनी साकोसका अध्यक्ष जमुना आचार्य लगायतले मन्तब्य व्यक्त गरेका थिए । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को अध्यक्षता र राष्ट्रिय सहकारी बैङ्क बागलुङ शाखाका प्रबन्धक सुरेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ४० भन्दा बढी सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको भेलाले शाखा खोल्नका लागि सदस्य विस्तार गर्न जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची) को संयोजकत्वमा ११ सदस्यीय समन्वय उपसमिति गठन भएको छ । समन्वय उपसमितिका सदस्यहरुमा अमृता भण्डारी, सुदर्शनकुमार श्रेष्ठ, रमेश गिरी, थमबहादुर गर्वुजा, लिलाबहादुर बानिया, विजयकुमार श्रेष्ठ, लालबहादुर अधिकारी, जमुना आचार्य, शेरबहादुर केसी र यामबहादुर खड्का रहेका छन् । उपसमितिले बैंकको सदस्य विस्तार लगायत बैंकको शाखा स्थापनाका लागि पहलकदमी गर्ने सदस्य लालबहादुर अधिकारीले जानकारी दिए । देशभर ३७ शाखा रहेको बैंकमा थप शाखा स्थापनाका लागि पहलकदमी भैरहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।