पर्वत, ५ असोज/सदरमुकाम कुश्माबजारमा क्रियाशिल एक युवा क्लवले पहिलो संविधान दिवसको अवसर पारेर गरिव परिवारका बालबालिकालाई संविधान वितरण गरेको छ । एकता युवा क्लव पर्वतले एक कार्यक्रमको आयोजना गरी ९० जना बालबालिकालाई संविधान वितरण गरेको हो । मुल समारोह समितिको कार्यक्रम अन्तर्गत नै क्लवले गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई ९० थान नेपालको नयाँ संविधान सहित शैक्षिक सामग्री वितरण गरिएको हो । संविधानका बारेमा गरिव समुदायमा समेत चेतना पुगोस् भन्ने उद्देश्यले संविधानको पुस्तक वितरण गरिएको क्लवका अध्यक्ष अच्युत तिवारीले जानकारी दिए । बालबालिकालाई संविधान प्रदान गरेपछि बालबालिकाले नै घर परिवारमा संविधान सम्बन्धी जानकारी दिन सकुन् र संविधानका बारेमा सवै सचेत बनुन् भन्ने मुख्य ध्येयले संविधान प्रदान गरिएको अध्यक्ष तिवारीले बताए । नेपालको संविधान सहित शैक्षिक सामग्री प्राप्त गरेका अनिष नेपालीले खुशी व्यक्त गर्दै घर परिवार र छिमेकमा समेत संविधानमा उल्लेखित अधिकारका बारेमा जानकारी गराउने बताए । क्लवले विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाएर उक्त सामग्री प्रदान गरेको थियो । सो सँगै खेलकुद सामग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल, पर्वत कारागार प्रमुख नेत्र पौडेल र जिल्ला विकास समिति पर्वतका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले कार्यक्रमको प्रशंसा गरेका थिए । क्लवका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गोकुल चापागाईले गरेका थिए ।
Previous Articleबेनीमा सहकारी बैंकको शाखा खुल्ने
Next Article ५ असोज २०७३, ढोरपाटन दैनिक