एजेन्सी/उत्तरी अष्ट्रेलियामा सेतो रंगको गोही फेला परेको छ । डार्विन नजिक ऐडिलेड नदीमा यो दुर्लभ गोही फेला परेको हो । प्रत्यक्षदर्शीका अनुसार यसको लम्बाई करिब ३ मिटर छ । सेतो रंगको गोहीको नाम ‘पर्ल’ राखिएको छ । यो दुर्लभ गोहीबाट पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् ।
एक गैरसरकारी वन्य जीवन संरक्षण समूहका अध्यक्ष ब्राडीले भनेकी छन, ‘सबैजना निकै उत्साहित छन् । म पूरै दिन भावविभोर भएर उसलाई हेरिरहें ।’ सन् २०१४ मा पनि सेतो रंगको हाइपोमेलनिस्टिक गोही फेला परेको थियो । निकै चर्चामा आएको उक्त गोहीले एकजना माझीलाई मारेपछि स्थानीयबासीले पनि उसलाई मारेका थिए । अहिले फेला परेको सेतो रंगको गोहीको सम्वन्ध पनि त्यही गोहीसँग हुनसक्ने स्थानीयबासीको अनुमान छ । गोही सेतो किन हुन्छ ? जीव बैज्ञानिकका अनुसार हाइपोमेलनिज्मको कारण गोहीको रंग हल्का पहेंलो जस्तो देखिन्छ । हाइपोमेलनिज्म त्यो अवस्था हो जसमा छालाको रंग निर्धारण गर्ने मेलनिनको मात्रा कम हुन्छ । अष्ट्रेलियामा पाइने धेरैजसो गोहीको रंग खैरो हुन्छ या हरियो हुन्छ ।
यस रंगले उनीहरुलाई पहिचान गर्न मद्दत गर्छ । चार्ल्स डार्विन विश्वविद्यालयमा रिसर्च एसोसियट ऐडम व्रिटनका अनुसार पर्लको हाइपोमलनिज्मको कारण वंशाणुगत हो या अण्डामा गडबड भएर हो । अण्डामा गडबडी भयो भने तापमान बढी भएर कोशिकाको बिभाजनमा असर पर्दछ । उनी भन्छन्, ‘यसप्रकारले हुने बदलावमा रंग परिवर्तन वा छालाको ढाँचामा परिवर्तन हुन्छ ।’ के यो विरलै घटना हो ? व्रिटन भन्छन् फार्ममा साना गोहीमा यस्तो हुनु सामान्य कुरा हो तर पहेंलो वा सेतो गोही परभक्षीसँग बच्न निकै मुस्किल हुन्छ । ‘हल्का रंगवाला वयस्क गोही देखिनु थोरै असामान्य हो,’ उनी भन्छन्, ‘मैले कहिलेकाहीँ यस्तो गोही देखेको छु तर यति ठूलो आकारको यस्तो गोही भने कहिले पनि देखेको थिएनँ ।’
Previous Articleसातामै चढ्यो २ लाख ३६ हजार भेटी
Next Article सबै मतदान केन्द्रमा पुगे कर्ममचारी