कृष्णप्रसाद शर्मा
नेपालीहरू कामको खोजीमा संसार भरी पुगेका छन्भने नेताहरू भ्रमणका नाममा संसार घुमेका छन् । भएकाले घरघडेरी बेचेर वा ऋण काडेर खाडी र अन्य मुलुक छिरेका छन्भने नेताहरू जनताको करबाट विदेश सयर गरेकै छन् । त्यसैले विदेशमा उच्च पदस्थको भ्रमण बारे थाहै होला कति त बिदेश नै पढेर फर्केका नेताहरू समेत छन् । हरेक पार्टिका नेता तथा कार्यकर्ताहरू संग निजी गाडी छन् । कतिपयसंग त दुई तीन वटा समेत छन्भने कतिले त पदमुक्त भएपछि पनि सवारी साधन फिर्ता नदिएका धेरै उदाहरण छन् । गाडी हुँदैमा वा गाडी चढ्ने हैसियत हुँदैमा राजनितिमा लागेका मान्छेहरू व्यापारीको जस्तो जीवनयापन गर्न ठीक हुन्छ वा हुँदैन । हाम्रो जस्तो विकासोन्मुख देशमा त अझ नेता हुनु केवल उसको आफ्नो जीवन सुखमय बनाऊने नभइ अरूको लागी प्रेरणा हुनु पनि हो ।
बिकशित देशका नेताहरू आफ्नो आर्थिक हैसियत भएपनि सकभर सार्वजनिक यातायात नै चढ्छन् अनि सुरक्षाकर्मि पनि हाम्रो जस्तो लावालस्कर लगाएर हिंदैनन् । बिकशित देशको तुलनामा अबिकसित र बिकासोन्मुख देशमा नेताहरू बढी बिलासी देखिन्छ । नाइजेरीया र हाम्रो देशमा कुनै उच्च पदस्थको देश भित्रैको भ्रमण हेनुस् त कति सुरक्षाकर्मि र गाडीको लस्कर हुन्छन् तर बिकशित मुलुकमा हुँदैनन् । यो देश गरीब भएर होईन की सोच गरीब भएर हो । बेलायतका पुर्व मेयर तथा अहिले परराष्ट्र समालिरहेका नेता बोरिस जोन्सन अधिकतम समय सार्वजनिक यातायातकै प्रयोग गर्छन । उनले परराष्ट्र नसमाल्ने बेलासम्म हरेक दिन साईकलमै संसदमा आवतजावत गर्थे भने अहिले पनि साईकल वा रेल नै चढ्छन् । उनलाई राज्यले दिएको गाडीको पनि प्रयोग गर्छन तर हामी कहाँ जस्तो पेवा नै सम्झेर तरकारी किन्न, मामा कहाँ जान र ससुराली जाँदा समेत लैजांदैन्न् । बोरिस जोन्सन मात्रै होईनन् बेलायतकै पुर्व प्रधानमन्त्री डेभिड क्यामरुन पनि हरेक महिना एक पटक रेलको यात्रा गर्ने गर्थे, के उनका लागी सुरक्षा चासो नेपाली नेताको जस्तो थिएन होला र ?
नेपालमा पनि केही सादा जीवनयापन गर्ने नेताहरू छन् । एमालेका नेता लालबाबु पण्डित आफु सरकारमा हुँदा समेत जनताको लागी राम्रै काम गरे भने उनी अहिले पनि सार्वजनिक यातायात नै चढ्छन् । सर्वसाधारण चढ्ने टेम्पोदेखी बस नै उनका प्रमुख सवारीका साधन हुन तर त्यही पार्टिका अन्य नेताहरूको घरमा सुईमिङ पुल नै छ अरू के भनौ । उनिहरू पदमा भए पनि नभए पनि कहिलै सार्वजनिक यातायात चढ्न जानेन् । राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर के.सी मन्त्री हुँदाका २ र ४ महिना बाहेक अरू पुरै समय सार्वजनिक यातायातमै चढेर बिताएका छन् । उनको लागी टेम्पो नै पहिलो सवारीको साधन हो । त्यसै माओबादीका नेता नारायणकाजी श्रेष्ठले पनि सार्वजनिक यातायात प्रयोग गरेको देखिन्छ तर उनको लागी यातायातको प्रमुख साधन भने सार्वजनिक यातायात भने होइन ।
हजारौको संख्यामा रहेका नेता तथा तिनिहरूका कार्यकर्ता जो सर्वसाधारणले दैनिक यात्रा गर्ने सार्वजनिक यातायात कहिलै चढ्दैन् भने जनताले यात्रामा भोग्ने कठीनाई र यात्रुका समस्या कसरी थाहा हुन्छ । मन्त्रीहरू त सुरक्षाको दृष्ट्रिकोण देखाएर चढदैनन् तर सामान्य एउटा नेतामा समेत निजी सवारी साधानको मोह बढ्दो छ । धेरै परका कुरा किन गरौ, त्यही भारतमा आम आदमी पार्टिका नेता केजरीवालले सार्वजनिक यातायात चढ्छन् । उनी मुख्यमन्त्री हुनु पुर्व उनि ईन्जिनियर थिए भने भारतमा गाडी किन्न त्यति गाह्रो पनि छैन । उनले किन्न सक्थे होला तर सोचको कुरा । हाम्रै अर्को छिमेकी मुलुक भुटानको प्रधानमन्त्रीले स्वच्छ वातावरणका लागी भनेर मिलेसम्म साईकलको यात्रा गर्दछन् तर हाम्रो नेताहरूलाई पक्कै पनि थाहा छ नै होला यस्ता कुराहरू जो हामी जस्ता भुइँमान्छेहरूलाई अवगत छ । हाम्रा नेताहरूलाई बेलायतको वेष्टमिनिष्टेरीयल संसदीय प्रणाली थाहा भएपनि त्यहाँका नेताहरूको आनीबानी भने थाहा पाउन जरूरी ठान्दैनन् ।
गत महिना बेलायतको एउटा समाचारमा भनिएको थियो कि त्यहाँका प्रमुख प्रतिपक्ष दलका नेता जेर्मि कोल्विन लण्डन बाहिरको यात्रा गर्दा रेलको टिकट आग्रिम बुकिङ्ग नभएका कारण करीब ४५ मिनेट रेलको भुँईमा बसेर यात्रा गरे । यो समाचार हाम्रो नेताका पी.ए वा सल्लाहकार वा आसेपासेले पढ्छन् पढ्दैन् होला । के यो देखेर कहिलै यस्तो व्यवहार आफ्नो पनि होस् भन्ने चाहन्छन् होला त ? हाम्रा कतिपय नेताहरूलाई न चिनिको मुल्य नै थाहा छ न त सार्वजनिक यातायातको भाडादर नै थाहा छ । अझै आफु चढ्ने पेट्रोलको मुल्य समेत थाहा नहुन सक्छ किन कि आफुले गर्ने काम भनेको भाषण हो त्यसको पनि आफैले आज बिहान बोलेको कुरा बेलुका पत्तो पाउँदैनन् ।
सार्वजनिक यातायातका कारण हरेक दिन जसो सर्वसाधारणको मृत्यु हुन्छ यसको कारण यस क्षेत्रमा अनियमितता छ जसलाई नियमन गर्ने कोही छैन । आफुहरूलाई संधै निजी यातायात भइरहने हुँदा यस क्षेत्रमा कुनै पनि नेतालाई यो चासोको बिषय बनेको छैन । जबसम्म राज्यका सबै तहका मान्छेहरू सार्वजनिक यातायातको निर्वाद प्रयोग गर्दैनन् तब सम्म यो क्षेत्र सुरक्षित हुँदैन । नेताहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न बाध्य पार्नका लागी राज्य पक्षले नेताहरूलाई दिदै आइरहेको निजी सवारी साधनको सुविधालाई अन्त्य गर्नु पर्दछ । जनताले पनि महङ्गो र चिल्ला गाडीमा चढ्नेलाई भन्दा सार्वजनिक यातायात प्रयोग गर्ने नेतालाई सम्मान गरौ ।
Previous Articleव्यवहारवाद, अनुभववाद र श्रद्वावादबारे केही कुरा
Next Article संविधान कालो कि सेतो ?