गंगाधर शर्मा
जैमिनी –१ बागलुङ
हाल कतार
मन दुखिरहन्छ, हेर्दा कुनै घाउ छैन,
चहराइ रहन्छ, छाम्न कुनै ठाउँ छैन ।।
पानी पनि किन्नुपर्ने कस्तो जमाना छ,
आँसु झरिरहन्छ, तर केहि भाउ छैन ।।
व्यथा मनभरि, आँसु आँखाभरि,
बगिरहन्छ पीडा, तर्न कुनै नाउ छैन ।।
जिन्दगी हार र जितको जुवा जस्तो,
खेलिरहेछु तर जित्ने कुनै दाउ छैन ।।
सम्बन्धमा पनि व्यापार हुन्छ यहाँ,
किन्ने बेच्ने भिड छ तर कुनै साऊ छैन ।।