बागलुङ, ५ मंसिर– बालमैत्री शासन, बाल अधिकारको सम्मान भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बाल अधिकार दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल संजालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमका सहभागिले बाल अधिकारको पालना मार्फत आजका बालबालिकालाई भविष्यका कणधार बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बालबालिकाले गर्भदेखिनै सुरक्षित जन्मन पाउने अधिकार रक्षा गर्नुपर्नेमा जोड दिए । राज्यका निकाय, समाज र घरपरिवारले पनि बालबालिकाको अधिकारका लागि आफ्नो पहल गर्न जरुरी भएको पनि बताए । कानूनी रुपमा पाएका अधिकार उलंघन भएमा राज्यले दण्ड दिने भएपनि परिवार भित्रका समस्याहरु कानूनी दायरा सम्म नआउने उनले बताएका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बालअधिकारका धेरै पक्ष मध्ये शिक्षालाई पहिलो र महत्वपूर्ण अधिकारको रुपमा लिनुपर्ने बताएका थिए । सबै बालबालिकाले अनिवार्य र निशुल्क शिक्षा पाउने अधिकारलाई सरोकारवालाले पनि सुरक्षित बनाईदिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा राजनीतिक दलको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नविनचन्द्र शर्बुजा, धौलागिरी बहिरा बाल क्लबकी पूर्व अध्यक्ष सुनिता शर्मा, रुद्रेपिपल माविकी भावना पौडेल, चिल्ड्रेन लाईफ बोर्डिङका अनिस रेग्मी लगायतले बोलेका थिए ।
बाल क्लब जिल्ला संजालका अध्यक्ष गोविन्द गौतमको अध्यक्षता, सचिव सन्देश रिजालको संचालन र महिला विकास अधिकृत डिलकुमारी शर्माको स्वागतमा सम्पन्न भएको थियो । उक्त अवसरमा शर्माले अन्तराष्ट्रिय बाल अधिकार महासन्धी पारित भएको दिनको सम्झनामा यो दिवश मनाउन थालिएको जानकारी गराएकी थिइन् । दिवशकै अवसर पारेर आयोजित वक्तृत्वकला प्रयोगिता, निवन्ध लेखन लगायतका सिर्जनशिल अभियानमा प्रथम, द्वितिय र तृतिय हुने बालबालिकालाइ नगद पुरस्कार साथै प्रमाणपत्र पनि बितरण गरिएको जनाईएको कार्यालयले जनाएको छ ।