बागलुङ, ३ असोज/एमाले बागलुङले स्थानीय तह पुनः संरचनाका सम्बन्धमा जिल्ला प्राविधिक समितिले पठाएको प्रतिवेदनमा आएका विवादको समाधानका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार सकिएको १२ औं बैठकको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा उक्त जानकारी गराइएको हो । कतिपय स्थानबाट गुनासा आएकोले सत्य तथ्य अध्ययन गरी जनताको मर्म र भावना अनुसार निर्णय पुनरावलोकन गर्न गराउनका लागि आवस्यक सुझाव प्रस्तुत गर्न तथा सार्थक पहल गर्न समिति गठन गरिएको बताइएको छ । समितिमा पार्टी अध्यक्ष श्रीप्रसाद शर्मा संयोजक रहेका छन् । समितिको सदस्यमा बिष्णु भुषल, धु्रवबहादुर केसी, सावित्रा राना र संजयकुमार श्रेष्ठ सदस्य छन् । सरकारले गठन गरेको राज्य पुनसंरचना आयोगले बागलुङलाइ ८ वटा गाउँ तथा नगरपालिका बनाउने निर्णय गरी सिलिङ तोकेको थियो । उक्त सिलिङको आधारमा रहेर राजनीतिक दलहरुले छलफल गरेपछि प्राविधिक समितिले पुनः संरचना आयोगमा सिफारिस गरिसकेको छ । उक्त सिफारिस बारेमा काँग्रेसले पनि असहमति जनाइरहेको छ । देशव्यापी रुपमा पनि प्रमुख दलहरुबाटै पुनसंरचना बारेमा असहमति आएपछि राष्ट्रिय रुपमा पनि चर्चा आइरहेको छ । त्यस्तै साउन भदौमा परेको बर्षा र बाढी पहिरोको कारण पुगेको क्षति प्रति दुःख व्यक्त गरेको छ । एमालेले आगामी मंसिर २५ देखि २७ गते सम्म जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ । उक्त अधिवेसनका लागि गठित उपसमितिले एकै दिन गाउँ अधिवेसन सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।