पृथ्वी उच्च माद्यामिक बिद्यालयको काखैमा रहेको खेल मैदान बिहिबार हजारौ दर्शकले भरी भराउ थियो । मञ्चमा बसेका जिल्ला समन्वय समितीका संयोजक र नेकपा एमालेका जिल्ला उपाध्यक्ष खासखुस गर्दै थिए । केही कलाकार, पेसाकर्मी र समाजसेवीहरु मञ्चमा नै आशिन थिए । कार्तिक महिना लागिसकेको भएपनि दिनको टन्टालापुरे घाममा दर्शकहरु आसपासमा बसेर कार्यक्रम हेरिरहेका थिए ।
कार्यक्रम संचालक कृष्ण अखेलीले उद्घोष गर्दै भने अब पालो जनगायक जिवन शर्माको । घामले तातेर छेउछाउ लागेका सबै दर्शक मैदानमा ओलिए अनि तात्यो अमलाचौर महोत्सवको मुल समारोहमा रौनक । स्टेजबाट उठेका शर्माले मासलाई जुरुक्क उचाले । पहिले उनले २०६९ सालमा सिर्जना गरेको गित ‘हिमाली पहाडी हामी सबै नेपाली’ भन्ने गीत गाउँदा मास हल्का तातेको थियो । जब उनले २०३९ सालमा सिर्जना गरेको गित गाउने तयारी गरे मासवाट ८ बर्ष उमेर समुहका बालबालिकालाई स्टेजमा बोलाईएको थियो । यथार्थलाई संगीतमा उतारेर यो गित बनाइएको भन्दै उनले ति बालबालीकाहरुलाई प्रतिनिधि पात्र बनाए र सुरु गरे ‘भारी बोक्ने भरीयाको यहि हो जिन्दगानी, झरनाको चिसो पानी’ मास उचालिएको थियो बालबालिका देखी बुढापाकासम्मले उनको गीतमा निकै रोमान्स गरे । उनले गाएको ‘सिमली छायाँमा बसी’ गितमा कति रोए भने कतिले निन्त्याउरो अनुहार पारे ।
पञ्चेबाजाको ‘यसपालि त यस्तै भो आमा’ गीतले युवाहरुलाई भावुक बनायो । उनीपछि आएका पशुपति शर्माले पनि घरि रात्यौली त घरि चेतनामुलक गीतहरु गाउँदै दर्शकहरुलाई एक घण्टा लामो नचरीको अवसर दिलाए । शारीरिक अस्वस्थ्यताका बाबजुद अमलाचौर पुगेका शर्माले दर्जन बढि गीत गाएर सुनाएका थिए । अमलाचौर युवा जागरण मञ्चले तिहारको अवसरमा दिलाएको यो मौकाले आँफुहरुले निकै रमाइलो गर्ने अवसर पाएको दर्शक प्रकाश परियारले बताए ।
राजनीतिक भाषणले आजित बनेका सर्वसाधारणलाई सांगीतिक कार्यक्रमहरुले उत्साह थप्ने गरेको परियारले सुनाए । जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा भाषण लाई भन्दा पनि सांगीतिक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाइएकोले निकै उपलव्धि मुलक बनेको आयोजकले दाबी गरेको छ ।