बागलुङ२ कार्तिक–खेलकुदको माध्यामबाट पर्यटनको विकास गर्ने उद्देश्यले शनिबारदेखी जिल्लाको अमलाचौरमा सञ्चालित पहिलो अमलाचौर महोत्सव सकिएको छ । महोत्सवको समापन गर्दै जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुङ्गानाले युवाहरुले पर्यटन विकासको लागि चालेको कदम सकारात्मक भएको बताए । खेलकुदका माध्यामबाट पर्यटनको प्रबद्र्धनमा लागेका युवाहरुलाई शुभकामना दिदै उनले पर्यटनका हिसाबले पर्याप्त संभावना बोकेको बलेवालाई खेलकुदको माध्यामबाट प्रचारप्रसार गरी पर्यटनको गन्तव्य बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण पाठकले समग्र देशको विकास नै युवाहरुको काँधमा रहेकाले युवाहरुको सक्रियतामा हुने हरेक क्रियाकलाप उपलव्धीमुलक हुने बताए । अमलाचौर युवा जागरण समिती बानपा–१२ ले आयोजना गरेको महोत्सवको समापन समारोहमा नयाँ शक्तिका जिल्ला इन्चार्ज चित्र सापकोटा, नेकपा माओवादी केन्द्रका भोजराज आचार्य लगायतले मन्तव्य राखेका थिए । महोत्सवको अवसरमा आयोजित खुल्ला वडा स्तरीय भलिवल प्रतियोगीताको उपाधि सहारा क्लब कुश्मीशेराले जितेको छ । दोस्रो स्थानमा जैमिनी–४ सर्कुवाले आफ्नो स्थान सुरक्षित गरेको छभने प्रतियोगिताको तेस्रो स्थानमा आयोजकले चित्त बुझाएको छ । खेलमा प्रथम हुनेले ५१ हजार तथा मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ३० हजार मेडल र प्रमाण पत्र र तेस्रो हुनेले २० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा जनगायक जीवन शर्मा, गायक पशुपति शर्मा, प्रिती आले, शिव अँखेली, योगेशकाजी बिसी, किरण चापागाईं, देवेन्द्र अधिकारी, कृष्ण बाबु परियार लगायतका कलाकारले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमको मुल समारोहमा स्थानिय बजा, भजन तथा झाँकीहरु समेत प्रदर्शन गरिएको समितीका अध्यक्ष झलक आचार्यले बताए । जागरण मञ्चका अध्यक्ष झलक आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रकाश परियार र सञ्चालन उद्घोषक तथा कालाकार कृष्ण अखेलीले गरेका थिए । पाँच दिनसम्म चलेको महोत्सवमा दश हजार बढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
Previous Article३२ जिल्लाका उम्मेदवार टुङगायो एमालेले,बागलुङको टुङ्गो लागेन
Next Article जीवनले रुवाए, पशुपतीले हँसाए