हामीकहाँ उखान छ, रानी बन्न खोज्दा कहानी होला । यस्तै हुन्छ कहिलेकाहीं । राम्रो बन्नका लागि कस्मेटिक्स प्रयोग गर्दा होस् वा शल्यक्रिया, कुरुप हुने जोखिम हुन सक्छ । अहिले सुन्दर बन्नका लागि थरिथरि कृत्रिम तरिका अपनाइन्छ । प्राकृतिक ढंगले सुन्दर हुनेभन्दा सजिलो र छरितो काइदा हो यो । तर, यसको ‘साइड इफेक्ट’ पनि हुनसक्छ । कोलम्बियाका जर्सन ट्रुजिलोले अनुहार सुन्दर बनाउने चक्करमा सौन्दर्य नै गुमाए । चार वर्षअघि एक चिकित्सकको परामर्शमा गाला भर्नका लागि इन्जेक्सन लगाए । केही समयपछि ब्युटिसियन कहाँ फेसियल गर्न पुगे । अनुहारमा गलत इन्जेक्सन लगाइएको त्यहाँ मात्र उनले थाहा पाए । तीन महिनापछि उनको अनुहार नराम्ररी बिग्रियो । अनुहारमा डन्डिफोर आउन थाल्यो, अस्वाभाविक रातो हुन थाल्यो । २८ वर्षीय जर्सनले अनुहारको सौन्दर्य बचाउन अर्को शल्यक्रिया गराए । त्यसबाट ५० प्रतिशत ठीक भयो ।
–खराब प्लास्टिक सर्जरीः स्पेनमा १६ दशमलव पाँच प्रतिशत प्लास्टिक सर्जरी त्यसअघि बिग्रिएको शल्यक्रियालाई सुधार्न गरिन्छ । एक अध्ययनअनुसार प्लास्टिक सर्जरी गराउने तीनमध्ये एक जनाले मात्र चिकित्सकलाई विश्वास गर्छन् । इन्सटिच्युट अफ लिगल मेडिसिनका अनुसार कोलम्बियामा प्लास्टिक सर्जरी अत्यधिक हुन्छ । सन् २०१५ मा कोलम्बियामा प्लास्टिक सर्जरीकै कारण १३ जनाको मृत्यु भएको थियो । सन् २०१६ सम्म आइपुग्दा त्यो आँकडा बढेर ३० मा पुगेको थियो ।
–स्तनको स्वरुप बिग्रियोः कतिपय जान्ने–बुझ्नेहरु पनि खराब प्लास्टिक सर्जरीको शिकार हुने गरेका छन् । पत्रकार लोरेन बेल्ट्रान भन्छिन्, ‘१८ वर्षकी छँदा स्तनको शल्यक्रिया गराएँ । त्यस क्रममा चिकित्सकमाथि शंका भएन ।’ तर, उनको स्तनको स्वरुप बिग्रियो । एउटा निप्पलमा टाँकाको दाग पनि बस्यो । उनले अर्को शल्यक्रिया गराइन् । त्यसले उनको स्तन थप खराब भयो । कोलम्बियामा चिकित्सकको एउटा समूह ब्राजिल गएर सर्जरीको सानोतिनो कोर्स गर्छन् । त्यसपछि पूर्ण मेडिकल कोर्सको मान्यता प्राप्त गर्छन् । लोरेन यस मुद्दामा अदालतमा समेत पुगिन् । अहिले यसको न्यायिक जाँच चलिरहेको छ ।
–फर्जीको बिगबिगीः स्पेनका प्लास्टिक सर्जरी विज्ञ एनहोआ प्लेसर लेनेज भन्छन्, ‘यो व्यवसायमा अत्यधिक घुसपैठ भएको छ ।’ उनका अनुसार प्लास्टिक सर्जन बन्न पहिले ६ वर्षको कोर्स गर्नुपर्छ । र, थप पाँच वर्षको विशेषज्ञताको पढाइ । अहिलेका अधिकांश चिकित्सकले ६ वर्षे कोर्स मात्र गरेका छन् ।
–एकै नामका धेरै सर्जनः लोरेनका अनुसार, सेवाग्राहीले गुगलमा सर्जन खोज्छन्, अधिकांश एसोसिएसनको नाम एकै खालको हुन्छ । अधिकांश सर्जनले ठूला हस्तिसँग खिचाएको तस्बिर राखेका हुन्छन् । सोही कारण सेवाग्राहीले ती चिकित्सकलाई पत्याउँछन् र शल्यक्रियाका लागि तयार हुन्छन् । कतिपयचाहीं सस्तो मूल्यको लोभमा फस्छन् ।
–सर्जरीमा खाद्य तेलः लोरेनका अनुसार कोलम्बियामा अधिकांशले नितम्ब र स्तनमा खाना पकाउने तेलको इन्जेक्सन प्रयोग गर्छन् । उक्त तेलमा बाइपोलिमर हुन्छ, जसलाई मेडिकलमा प्रयोग गर्नु गैरकानूनी पनि हो । उक्त पदार्थ शरीरका लागि अनुपयुक्त हुन्छ । यसमा लिक्विड सिलिकन, मिथाइलमेथाक्रिलेट र कोलगन सामेल हुन्छ ।
–ध्यान दिनुपर्ने कुराः सर्जनसँग उसको शैक्षिक योग्यता सोध्नोस् । उसको अनुभवबारे जानकारी जुटाउनोस् । आपतकालीन स्थितिमा सर्जनले के गर्न सक्छ भन्ने पक्का हुनोस् । सर्जन विशेषज्ञ हुन् कि होइनन् भन्ने सुनिश्चित गर्नोस् । बिचौलियाको भरमा नपर्नु । मुलुकमा सर्जरी गराउने होभने चिकित्सकको भाषा बुझिनेर नबुझिने निश्चित गर्नोस् । –एजेन्सीको सहयोगमा