अङ्कारा, २६ असोज –अमेरिका र टर्की बीचको भिषासम्बन्धी विवाद अन्त्य गर्न दुई देशका बीचमा छलफल हुने भएको छ । टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै वार्ता हुन लागेको बिहीबार जानकारी दिए । “दुई देशका प्रतिनिधिबीच हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सक्ने गरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ,” एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भने । गत आइतबार अङ्करामा रहेको अमेरिकी दूतावासले टर्कीलाई कुनै पनि कूटनीतिक सेवा नदिने घोषणा गरेको थियो । अमेरिकाको घोषणापछि प्रतिक्रियास्वरुप टर्कीको दूतावासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ । अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडि सुरक्षा कारण देखाएका छन् । गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको भत्सर्ना गर्नुभएको थियो । उनले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पारे ।