काठमाडौँ, २७ असोज –आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज हङ्कङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।
हङ्कङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ हङ्कङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए । यसअघि हङ्कङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङ्कङलाई ब्याटिङको निम्तो दिएको थियो । हङ्कङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
हङ्कङका लागि जेमी एट्किन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ११७ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । टनवीर अफजलले ३८ र कप्तान बाबर हायटले २९ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने तीन तथा वसन्त रेग्मी र करण केसीले समान दुई–दुई विकेट लिए ।
Previous Articleभिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने
Next Article गल्कोट महोत्सवमा एक करोडको कारोबार