‘मार्फा पुग्नेहरु यो गीत सम्झन्छन्, यो गीत सम्झनेहरु मार्फा सम्झन्छन्,’ संगीतकार सुनील थापा भन्छन्, ‘यो गीतले गाउँको चिनारी र पहिचानका लागि गीत रेकर्ड गराउने परम्परा नै बसाल्यो ।’ यो गीत अहिलेसम्म धेरैको जिब्रोमा झन्डिएको छ भने साँस्कृतिक कार्यक्रम होस् या विद्यालयका गतिविधि यो घन्किहाल्छ ।
यस्तै अर्को चर्चित गीत छ, ‘घान्द्रुककी ठिटी म त, गाउँकै गीत गाउँछु ।’ यो गीतले चर्चामात्रै बटुलेन, गण्डक क्षेत्रमा रहेका गुरुङ गाउँमा पर्यटन र संस्कृतिको माध्यम पनि बन्यो । त्यसपछि धेरै गाउँ तथा गुरुङ बस्तीका गीत बजारमा आएका छन् ।
यी गीतबाटै गाउँका गाउने र भिडियो बनाउने प्रचलन सुरु भएको संगीतकार सुनील बताउँछन् । गाउँलाई चिनाउने यस्ता गीतका रचयिता वसन्ती लालचन हुन् भने संगीतकार सुनील र गायिका ज्योति गुरुङ हुन् । यस्तै गाउँ चिनाउने गीत तथा मौलिक शब्द उन्ने गीतकार वसन्तीको निधन भएको छ । उनको उपचारको क्रममा शनिबार मध्याह्न मेदान्त अस्पताल भारतमा निधन भएको हो ।
उनको निधनले नेपाली मौलिक गीतका क्षेत्रमा अतुलनीय क्षति पुगेको छ । ‘क्या राम्रो स्याउ बारी, कहाँबाट आयौ तिमी, चौरीको गोठ, घान्द्रुककी ठिटी म तजस्ता चर्चित गीतका रचयिता वसन्ती दिदीको निधनले हामी मर्माहात छौं,’ वसन्तीका सबै गीतमा संगीत भरेका सुनीलले भने, ‘उहाँ सरल र सबैले बुझ्ने खालका मौलिक गीत लेख्नुपर्छ र हामीले गाउँ चिनाउनुपर्छ भन्नुहुन्थ्यो ।’
लालचनको पहिलो एल्बम सपनाको सहरका सबै गीतले चर्चा बटुलेका थिए । लालचन दोस्रो एल्बम बजारमा ल्याउने तयारी थिइन् । ‘उहाँका दोस्रो एल्बम निस्कदै थियो । सबै गीत रेकर्ड भइसकेको थियो । तीजको गीतको भिडियो निर्माणको काम हुँदाहुँदै उहाँ विरामी हुनुभयो,’ संगीतकार सुनीलले भने, ‘दशैं अगाडि नै उहाँको एल्बम निकाल्ने रहर त पूरा हुन सकेन तर हामीले पछि भएपनि एल्बक निकाल्ने छौं ।’
केही महिना अघिमात्रै लालचनको ‘धौलागिरि अञ्चल, मन भयो मेरो चन्चल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । अडियो रेकर्ड भएको झण्डै १२ वर्षपछि गीतकार लालचनको यो गीत सार्वजनिक भएको थियो । नेपालको धेरै इतिहाससँग मुस्ताङको साइनो जोडिएकोमा मुस्ताङको प्रकृति र संस्कृतिलाई चिनाउन गीतकार वसन्तीको भूमिका रहेको कवि तीर्थ श्रेष्ठ बताउँछन् ।
लालचनको योगदानको कदर गरेर नेपाल पर्यटन बोर्डले विशेष सम्मान दिनुपर्नेसमेत भिडियो सार्वजनिक कार्यक्रममा कवि तीर्थले बताएका थिए ।आफूलाई गाउँकै सौन्दर्य र वातावरणले लेख्न प्रेरणा दिएको बताउँदै आफूले गीतमार्फत स्थानीय पर्यटनलाई उजागर गर्न चाहेको लालचन बताउँथिन् । तर, अब उनको यो रहर पूरा हुन पाएन ।
थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचनले नेपालमा गाउँको गीत निर्माण गर्ने प्रचलनको विकास हुनुमा वसन्तीका गीतहरुको ठूलो भूमिका रहेको बताउँछन् । वसन्ती विश्व गौचनकी बहिनी र गीतकार विनोद गौचनको दिदी हुन् । उनको झन्डै ३० वटा गीत रेकर्ड भएका छन् । लालचनको श्रीमान राजेन्द्र लालचन पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । फोक्सोमा पानी जमेर अवस्था जटिल बन्दै गएपछि उनलाई उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो ।