बागलुङ/गाउँघरमा एउटा उखान छ– ‘ढुंगा खोज्दा देवता मिल्यो’ तर जिल्ला शिक्षा कार्यालय बागलुङ यस्तो छ जहाँ विद्यालय भवन माग गर्दा चर्पी बनाउने योजना दिन्छ । जैमिनी नगरपालिका वडा ६ साविक अर्जेवा गाविस–९ चोखेकमा रहेको जनज्योति आधारभूत प्राथमिक बिद्यालयको भवन भूकम्पले भत्काई दिएपछि भवन अभावको कारण विद्यार्थीहरु घरको पीढीमा बसेर पढाई गरिरहेका छन् ।
विद्यालय व्यवस्थापन समितिल विद्यालयको भवन निर्माण गर्न जिल्ला शिक्षा कार्यालयमा योजना माग गरिरहेको छ तर कार्यालयले भने विद्यालय भवनका लागि रकम निकासा नगरी चर्पीघर बनाउने योजना पारिएको जनाकारी दिएपछी अभिभावक एवं स्थानीयवासी आश्चर्य चकित बनेका छन् । भवनको लागि उपयुक्त जग्गाको अभाव भएको भन्दै भवन निर्माण गर्न आनाकानी गरिरहेको जिल्ला शिक्षा कार्यालयले एक्कासी आठ ओटा प्यान राख्ने ट्वाइलेटको लागि सहयोेग गरेको हो ।
अभिभावक वीरेन्द्र थापाले घरको पीँढीमा पठन–पाठन सञ्चालन गर्दा विद्यार्थीको पढाइ प्रभावित बनेको बताए । पीँढीमा बस्दा सहज बसाइ नहुने र आकाशबाट पानी पर्दा समेत रुझिने हुँदा पढाइलाई प्रभावकारी बनाउन शिक्षाले तत्काल भवन निर्माणको लागि सहयोग गर्नुपर्ने थापाको माग छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरिश्वर आचार्यले स्थानीयको माग र आवश्यकता प्रति शिक्षा कार्यालय उदासीन बनेको आरोप लगाए ।
आचार्यले विद्यालयमा तत्कालको लागि भवनको आवश्यक भए पनि शिक्षाले चर्पी बनाउन सहयोग गरेर स्थानीय आवश्यकतामाथी व्यङ्ग गरेको बताए । ३ पटकसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा भवन निर्माणको माग गरे पनि अहिले सम्म सुनुवाई नभएको आचार्यको दुखेसो थियो । यसबारेमा बागलुङका निमित्त जिल्ला शिक्षा अधिकारी सरिता शर्माले गत वर्षको कार्यक्रम अन्तरगत भवन निश्चित कोटा रहेकोले दिन नसकेको बताईन । तर यसवर्ष अत्यावश्यक ठाउँहरुमा भवन निर्माण गरिने बताउँदै शर्माले अर्जेवाको चोखेकको लागि भवन बनाउने योजना रहने जानकारी दिएकी छिन् ।
–कमल राना
Previous Article‘क्या राम्रो स्याउ बारी, मार्फा गाउँमा’का वसन्तीको निधन
Next Article भिडियो निर्देशनमा जम्दै खगेन्द्र…