बागलुङ/बिद्युत प्रशारण लाइनको ट्रान्सफर्मर पड्किएपछि जिल्लाको दक्षिण क्षेत्र कुम्मीशेराका सर्वसाधारण अन्धकारमा बस्न बाध्य भएका छन् । साविकको कुश्मीशेरा–९ फेदीमा रहेको ११ केभिए प्रसारण लाइनको ट्रान्सफर्मर बिग्रिपछि कुश्मीशेराका १ सय ८० घरधुरीमा बिद्युत प्रसारण बन्द भएको हो । गत भदौ १४ गते ट्रान्सफर्मरमा समस्या आएपछि बिद्युत आपुर्ती बन्द रहेको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाअध्यक्ष भुपेन्द्र थापाले बताए । बिद्युत आपुर्ती बन्द भएपछि सामान्य मोबाइल चार्ज गर्न समेत लामो यात्रा गरेर जानु परेको स्थानिय बताउँछन् । ट्रान्सफर्मरमा समस्या आएपछि उता वडा कार्यालयले बिद्युत सुचारु गर्ने पहल थालेको छ ।
नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रलाई जानकारी गराई बिद्युत सुचारु गर्नको लागि पहल थालिएको वडाध्यक्ष थापाले बताए । प्राधिकरणले नयाँ ट्रान्सफर्मरको व्यवस्था गरेकाले सम्बन्धित क्षेत्रमा पुर्याउन सडकको समस्या रहेकाले आइतबारदेखी सडक मर्मतको काम थालिएको उनले जानकारी दिए । बर्षात्को समयमा ठाउँ–ठाउँमा सडक बिग्रिएकाले पहिले सडक मर्मतमा लागिएको थापाले बताए । उनका अनुसार, सोमबार सम्ममा कुश्मीशेरा बजारदेखी फेदीसम्मको सडक मर्मत सकिने र सोमबार नै ट्रान्सफर्मर सम्वन्धित क्षेत्रमा पुर्याइने थापाले बताए । बिद्युत प्राधिकरणले नयाँ बिद्युत प्राधिकरणरको व्यवस्था गरेको भएपनि सडक समस्याका कारण सम्बन्धित क्षेत्रसम्म पुर्याउन कठिन भएपछि वडा समितीको बैठक बसस् तत्काल मर्मतको लागि रकम बिनियोजन गरी काम सुरु गरेको थियो । वडा कार्यालयले ४० हजार रुपैयाँमा कुश्मीशेरा बजारदेखी फेदीसम्मको बाटो मर्मत गर्न थालेको हो
। ‘बिद्युत प्राधिकरणले ट्रान्सफर्मर उपलव्ध गराए पनि सडकको समस्याका कारण हामीले प्रभावित क्षेत्रमा पुर्याउन सकेनौं’ थापाले ढोरपाटनसँग भने– ‘सडक मर्मत भएपछि तत्काल ट्रान्सफर्मर जडानको काम थाल्छौं ।’ बिद्युत अभावका कारण साविकको कुश्मीशेरा ७, ८, र ९ नं वडाका नागरिक समस्यामा परेका छन् । उनीहरुले एक घण्टा लामो बाटो हिंडेर कुश्मीशेरा बजार पुगेर मात्रै मोबाइल चार्ज गर्ने गरेको स्थानिय बताउँछन् ।