म्यानमारमा रोहिंग्या मुसलमान समुदायमाथि सेनाको बर्बरता यतिबेला संसारभर चर्चामा छ । त्यससँगै चर्चामा आएका छन्, दुई अतिवादी नेता । उनीहरु हुन्, अताउल्लाह अबु अम्मार जुनुनी र आसिन बिराथु । जुनुनी आराकान रोहिंग्या रक्षा सेनाका कमान्डर हुन् भने बिराथु कट्टरपन्थी बौद्ध भिक्षु । रोहिंग्या रक्षा सेना म्यानमारको रखिने प्रान्तमा सक्रिय रहेको मानिन्छ । त्यसका कमान्डर जुनुनी भने पाकिस्तान प्रशासित कश्मीरमा जन्मेका हुन् । तथापि, उनी रोहिंग्या शरणार्थीकै सन्तान हुन् । उक्त फौजी समूहका अधिकांश सदस्य बंगलादेश पुगेका रोहिंग्या युवा रहेको म्यानमारको सेनाको दाबी छ ।
जुनुनी नौ वर्षको छँदा उनको परिवार साउदी अरेबिया पुगेको थियो । मार्च २०१७ मा सार्वजनिक भएको अन्तर्वार्तामा जुनुनीले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले आफ्नो समुदायलाई बचाउनका लागि कुनै गम्भीर कदम नउठाउन्जेल सशस्त्र संघर्ष गर्ने बताएका थिए । त्यसका लागि बलिदानीपूर्ण संघर्ष गर्न तयार रहेको उनको भनाइ थियो । म्यानमार सरकारले उक्त समूहलाई अतिवादी घोषणा गरिसकेको छ । यद्यपि, जुनुनीले आफ्नो संगठनको साइनो विदेशी इस्लामिक आतंककारी संगठनहरुसँग नरहेको बताउँदै आएका छन् । ‘हामी राति बत्ती बाल्न सक्दैनौं, दिनमा एक ठाउँबाट अर्कोमा जान सक्दैनौं,’ उनले अन्तर्वार्तामा भनेका थिए, ‘यो कुनै जीवन होइन र हामीलाई यस्तो अवस्थामा पु¥याउने सैनिक तानाशाही शासनविरुद्ध लडाईं छेडेका हौं ।’ गत अगस्टयता शुरु भएको रक्तपातपूर्ण सैनिक दमनबाट बच्न हजारौं रोहिंग्या मुसलमान थातथलो छाडेर भागिरहेका छन् । संयुक्त राष्ट्रसंघले सैनिक कदमलाई मानवताविरुद्धको अपराधको दर्जा दिएको छ । परिस्थितिलाई अझ भड्काउन उद्यत छन्, आसिन बिराथु ।
उत्तेजक भाषणमार्फत् उनी रोहिंग्या समुदायका मानिसको घर–घरमा पुगेर हिंसा भड्काउन प्रेरित गर्छन् । मुस्लिम अल्पसंख्यकविरुद्ध माहोल बनाउने अस्त्र नै उनको भाषण हो । १४ वर्षका छँदा भिक्षु बनेका उनी सन् २००१ मा रोहिंग्याविरोधी गुट ‘९६९’ गठन गरेपछि चर्चामा आएका हुन् । सन् २००२ मा उनले २५ वर्षको जेल सजाय पनि नपाएका होइनन् तर आठ वर्षपछि भएको राजनीतिक परिवर्तनलगत्तै रिहा भए । जेलबाट निस्केपछि उनको सक्रियता सामाजिक सञ्जालहरुमा देखियो । भर्चुअल संसारबाट रोहिंग्याविरुद्ध विषबमन मात्र गर्न थालेनन्, उनीहरुमाथि आक्रमणका लागि पनि उक्साउन थाले । जुलाई २०१३ मा टाइम म्यागेजिनले उनको कभर स्टोरी गरेको थियो । म्यागेजिनको कभरमै लेखिएको थियो, बौद्ध आतंककारीको अनुहार । बौद्ध भिक्षुहरुको उपदेशमा करुणा, शान्ति र भाइचाराको सन्देश हुन्छ । बिराथु ठ्याक्कै विपरित छन् । उनको उपदेशमा वैमनश्यताका कुरा हुन्छन् । र, मुसलमान समुदायतर्फ आगो ओकलेका हुन्छन् । –बीबीसी हिन्दीको सहयोगमा