काठमाडौं/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्राइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्राइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ । असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए । ‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ,’ उनले भने । दशीकै दिन बिहान ७ः५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ ।
Previous Articleठेउले खोला माथिको पुल निर्माणकार्य सकियो
Next Article अक्षरहरुको खेतीमा फर्किरहँदा