राजु घिसिङ
काठमाडौँ, २४ भदौ–अघिल्लो महिना ब्राजिलमा भएको रियो ओलम्पिकमा सबभन्दा कान्छी खेलाडी भएकी नेपाली स्विमर गौरिका सिंह लन्डनमा अभिभावकसँगै बस्छिन् । त्यहीँ पढ्छिन। प्रशिक्षण गर्छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जित्दा पनि उनी लन्डनबाटै गुवाहटी गएकी थिइन् । उतैबाट फर्किइन् पनि । स्कुल बिदाको अवसर पारेर उनी रियोबाट फर्केलगत्तै भने नेपाल आइन् । प्रत्येक वर्ष स्कुल बिदामा स्वदेश आउने गरेकी १३ वर्षीया गौरिका शान्ति फाउन्डेसनको सद्भावना दूत पनि हुन् । यसैमार्फत उनी भूकम्पपछि पुनर्निर्माण गरिएको कालीदेवी माध्यमिक विद्यालय, ललितपुर पुगेर आफूजस्तै विद्यार्थीसँग केही घण्टा बिताइन् ।
तीन वर्षे स्विमिङ करिअरमा ३० राष्ट्रिय कीर्तिमान बनाएकी उनी चेलीबेटी बेचबिखनविरूद्ध अभियान थालेको माइती नेपालमा पनि गइन् । दुई साताको स्वदेश यात्रामा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटिन् । लन्डन पुगेर मंगलबारदेखि ९ कक्षाको अध्ययन थालेकी उनको रियोदेखि काठमाडौंसम्मको अनुभव उनकै शब्दमा :
नेपाल ओर्लेको पर्सिपल्टै कालीदेवी स्कुल पुगेकी थिएँ । कक्षाकोठा तीन वटा रहेछ । त्यहाँ आठ कक्षासम्म पढाइ हुने रहेछ । विद्यार्थी महिनामा दुई दिनमात्र स्कुल आउने र अरू बेला पैसा कमाउन जाने रहेछन् । मलाई अनौठो लाग्यो । स्कुल जाने बाटो साह्रै गाह्रो लाग्यो । भीरबाट झन्डै लडेकी थिएँ । त्यसबेला मलाई त फर्किन्छु जस्तो लागेको थिएन । खुट्टामा जुकाले धेरै टोके । पानी परेकाले गएको बाटोबाट हिँडेर फर्किन पनि मिलेन । कस्ता राम्रा दृश्य हेर्न पाइयो । मकै खेती कस्तो हुन्छ भन्ने पनि यहीँ देखें । अनौठो लाग्यो । स्कुलका बच्चा ‘क्युट’ थिए । साथी पनि बनाएँ । उनीहरूलाई ओलम्पिकबारे भने केही थाहा थिएन । …
माइती नेपालमा पनि पुगें । कस्तो क्युट बच्चा सुतिरहेको थियो । एक महिनाको त्यो बच्चा त पशुपतिनाथको जंगलमा फालिएको रहेछ । ओठ काटिएको अर्को बच्चा ओम हस्पिटलमा फालिएको रहेछ । किन बच्चालाई फालिन्छ होला ? मैले बुझिनँ । ट्राफिकिङ (मानव बेचबिखन) मा परेका ६–७ वर्षको केटा पनि भेटें । कस्तो राम्रा मान्छे रहेछन् । ट्राफिकिङमा केटा पनि पर्छ भन्ने मैले सोचेको थिइनँ । अंग प्रत्यारोपण र बाटोमा माग्न पठाउनका लागि केटालाई पनि बेच्ने गरेको अनुराधा दिदीले भन्नुभयो । म स्तब्ध भएँ ।
सिभिल बारमा आँखै अगाडि अभिभावकको हत्या भएको मान्छे पनि भेटें । त्यस्तो कहिल्यै देखे–सुनेको थिइनँ । मेरो परिवार र पाँच जना साथीसँगै माइती नेपाल गएकी थिएँ । त्यहाँ रहेका निकै चलाख (जान्ने) रहेछन् । मभन्दा पनि चलाख । पढाइ भइरहेकै बेला हामी पुगेका थियौं । म्याथ, इंग्लिस, सोसल स्टडीमा उनीहरूको स्तर उच्च रहेछ । सबै जनाले डिस्टिङ्सन ल्याउने रहेछन् । ज्ञानी रहेछन् । उनीहरूलाई ओलम्पिक र मेरोबारे जानकारी रहेछ । स्विमिङ किन गरेको, कस्तो छ भनेर सोधेका थिए । मलाई डान्स गर्न खासै आउँदैन । तर, उनीहरू र अनुराधा दिदीसँग डान्स पनि गरें । कस्तो अप्ठ्यारो लाग्यो । हामीसँगै बास्केटबल पनि खेल्यौं । उनीहरू च्याम्पियन रहेछन् ।
लन्डन फर्किनु एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटें । उहाँले पहिलेदेखि नै मिडियामार्फत मेरो प्रोग्रेस सुनिरहेको र आफूले भेट्न चाहेको बताउनुभयो । राष्ट्रपति भनेको राष्ट्रपति नै हो । उहाँसँग भेट्न पाउनु पनि ठूलो हो । धेरै धेरै खुसी लागेको छ । उहाँले अर्को प्रतियोगिताका लागि तयारी थाल्नका लागि हौसलता दिनुभयो ।
यसैपालि ओलम्पिक खेल्न पाउँछु भन्ने पनि सोचेको थिइनँ । तर मौका मिल्यो । रियो ओलम्पिकमा ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी हुँदा मलाई सुरुमा त विश्वासै लागेन । ओलम्पिक भिलेजमा धेरै मिडियासँग कुरा गरें । धेरैसँग फोटो खिचें । रमाइलो लाग्यो । मेरो फेवरेट प्लेयर माइकल फेल्प्सलाई रियोमा भेटें । फेल्प्सलाई ‘हेलो’ भनें । उनी स्विमिङको तयारीमा थिए । उनले ‘अहिले बोल्न सक्दिनँ’ भने ।
यस्तो बेला फोटो खिच्न नमान्ने उनको बानी मैले बुझेको थिएँ । आग्रह पनि गरिनँ । मेरो टोपीमा ‘सिग्नेचर’ भने गरिदिए । कजान (रूस) मा पनि भेटेका सुन याङले त मेरो कोच खोइ भनी सोधेका थिए । ओलम्पिकको ओपनिङ सेरेमोनीमा साडी लगाएकी थिएँ । जुडो कोच (देबु थापा) ले मलाई साडी लगाइदिनुभएको थियो । पहिले घरको पूजा र गुन्युचोलीमा पनि साडी लगाएकी थिएँ । बाजे (लवभक्त राणा) ले पकाउनुभएको कुरकुर आलु (आलु भुजुरी) साह्रै मनपर्छ ।
प्रोटिनसेक धेरै खान्छु । स्विमिङ र पढाइको टायम म्यानेज गर्न गाह्रो भएकाले स्कुलको लन्च आवरमा होम वर्क सक्ने गर्छु । भाइ सोउरेन बेस्ट फ्रेन्ड हो । उनीसँग झगडा गर्छु, माया पनि । ममीले भाइलाई गाली गर्नुभयो भने ढाकछोप गरिदिन्छु । स्विमिङ नखेल्दै तीन वर्षअघि आउँदा पाटन दरबार स्क्वायर घुमेको थिएँ । निकै रमाइलो लागेको थियो । अर्को वर्ष नेपाल आउँदा अझै धेरै घुम्ने इच्छा छ ।