अमृत बास्कुने
हालसालै सकिएको स्वान्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित भएको म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको टोलीले पदस्थापन भन्दा पहिला नै क्याम्पस र विद्यार्थीको पक्षमा काम थालेका छन् ।
म्याग्दी क्याम्पसमा चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा निर्वाचित टोलीले अहिले विद्यालय स्तरको परीक्षा(एसइइ)को केन्द्र सञ्चालन भएको विद्यालयमै पुगेर विद्यार्थीहरुलाई शुभकामना दिनुका साथै कक्षा ११ पढ्नका लागि म्याग्दी क्याम्पसमा आउन आग्रह गर्ने गरेका हुन् ।
निर्वाचित भएर पदस्थापन समेत नभै सकेको अवस्थामा पनि स्ववियु टिमले क्याम्पसमा बिद्यार्थीको गन्तव्य बनाउन र बढाउनका लागि काम थालेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति संगम चोखालले जानारी दिनुभयो । उहाँले भन्नुभयो–‘म आफै नेतृत्व गरेर हरेक परीक्षा केन्द्रमा पुग्ने र विद्यार्थीलाई आत्मबल बढाउँदै परीक्षामा सहभागी हुन भन्ने र शुभकामना दिने गरेको छु ।’ उनीहरुलाई कक्षा ११ पढ्नका लागि उत्कृष्ट गन्तव्य म्याग्दी क्याम्पस हुने भएकाले त्यही पढ्नका लागि पुग्न आग्रह गर्ने समेत गरेको चोखालको भनाई छ ।
म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई निमन्त्रण दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको टोली अहिले सक्रिय भएको छ । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको टोली अहिले एसइइ परीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर निमन्त्रण गर्ने गरेको र परीक्षालाई मर्यादित र शान्त तबरले सञ्चालन गर्न केन्द्राध्यक्षलाई आग्रह गर्ने समेत गरेका छन् ।
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सचिव मञ्जुर कटुवाललगायतको टोली प्रकाश माध्यमिक विद्यालयमामा पुगेर एसइइ परिक्षा केन्द्रमा पुगेर परिक्षा हलबाट बाहिर निस्कने विद्यार्थीहरुलाई क्याम्पसमा पढ्न आउन निमन्त्रणा दिएका थिए ।
जिल्लाको सिंगा, बाबियाचौर, दरवाङलगायतका एसइइ परिक्षा सञ्चालन भएको परिक्षा केन्द्रमा सभापति चोखाल नेतृत्वमा स्ववियु तथा अन्य विद्यार्थीहरुको टोली पुगेर विद्यार्थीलाई शुभकामना दिनुका साथै क्याम्पसमा पढ्न आउन आग्रह गरेको थियो ।
म्याग्दी क्याम्पसको शैक्षिक क्यालेण्डर सहित पुगेर स्ववियु टोलीले विद्यार्थीहरुलाई क्यालेन्डर दिनुका साथै क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा समेत बताउने गरेका छन् । उच्च शिक्षाका लागि उत्कृष्ट क्याम्पसका रुपमा लिन सकिने म्याग्दी बहुमुखी क्याम्पस क्युएए मान्यताप्राप्त क्याम्पस भएकोले पनि यहाँको शैक्षिक गुणस्तरका बारेमा कुनै पनि सम्झौता हुनै नसक्ने स्ववियु सभापति चोखालको भनाई छ ।
स्वतन्त्र विद्यार्थी युनियनको टोलीले परिक्षा हल सम्म पुगेर विद्यार्थीहरुलाई क्याम्पसको बारेमा जानकारी गराउने र क्यालेण्डर तथा ब्रोसर दिने कार्यमा क्याम्पसका प्राध्यापकहरुले पनि सघाएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । म्याग्दी क्याम्पसमा व्यवस्थापन, मानविकि तथा शिक्षा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तह सम्म अध्ययन गर्न सकिने समेत उहाँको भनाई छ ।