अक्षर काका
गौशालामा भेटिएकी देउती
गौशाला चोक । पुसको ठिहिरो । हिउँदे पाहुनाझैँ कुहिरोले घेरिएको सहर । बिहानको त्यस्तै ४ बजेको हुँदो हो, धरामा उषा खसिसकेको थिएन । निशाचरहरू गाइँगुइँ गरी नै रहेका थिए । सुदूरपूर्वसम्म नियाल्दा पनि उज्यालोको लेस भेटिन मुस्किलप्रायः थियो । हिँडेको थिएँ, महोत्तरी । त्यस दिन हास्यकलाकार धुर्मुस–सुन्तलीले बर्दिबासमा मुसहर समुदायका लागि बनाउन लागेको एकीकृत बस्तीको शिलान्यास गर्ने कार्यक्रम थियो । कुइँय…। गौशालाबाट पिङ्गलास्थानतर्फ केही ओरालो झर्ने्बित्तिकै एउटा अचम्मको आवाज कानमा आएर ठोक्कियो र तुरुन्तै हावामा विलय भयो । बाटो बिराएर अल्मलिएझैँ लाग्ने एक–दुईवटा कुकुर । प्रेमीको प्रतीक्षामा उभिएको युवकझैँ धुँवा फालेर छट्पटाइराखेका एक–दुई थान सवारीसाधनबाहेक यो आवाजको साक्षी अरू थिएनन् । अनौठो आवाज निकालेर कराउने जन्तु के होला ? मनमा कौतूहल सघन भयो । आवाज शून्यतामा निष्प्राण हुनेबित्तिकै सोचेँ– कुकुरसुकुर रोयो होला । मान्छेकै जस्तो स्वर निकालेर कुकुर रोएको नदेखेको होइन मैले ।
तर, होइन रहेछ ।
प्रहरी चौकीको आडैको पेटीमा वयोवृद्ध आमै चिसोले कुँजो भएर भक्कानिँदै पो रहिछन् । दायाँ हात चलाउन नमिल्ने गरेर छातीतिर मर्काएकी थिइन् । र, घुँडामुख गरेर रोइरहेकी थिइन् उनी ।
दुईवटा सूर्य चुरोटको बट्टा, केही थान पुष्टकारी र चकलेट हालेको खाली बट्टा टुहुरा बालकझैँ क्वारक्वार्ती उनलाई नियालिरहेका थिए ।
गाडीले ठक्कर पो दियो कि ? उनको त्यो हालत देख्दा मन अत्ताल्लियो । तुरुन्तै सम्हालिएर सोधेँ, ‘के भयो आमै ? किन यसरी रुनुभएको ? गाडीले हिर्काएर भाग्यो ?’ पूर्व डोरोमा क्रमशः रातो लाली चढ्दै थियो । र, क्रमशः धरामा उज्यालो पोखिँदै थियो ।
रुँदारुँदै थाकेकी उनले पीडा सुनाउँदै भनिन्, ‘यसैगरी पेटीमै जीवन काट्न थालेको ६–७ वर्ष भयो । नाङ्लोका चुरोट–चक्लेट बेच्थेँ । अघिपछि निद्रै पर्दैनथ्यो, नाङ्लोका सामान चोरलाई बुझाउनु रै’छ क्यारे, आज त भुसुक्कै निदाएछु । म सुतेको मौका पारेर चोरले लटीपटी पारेछ बाबु !’
यति भन्दा नभन्दै उनका आँखाबाट गुच्चा आकारमा आँसुका ढिक्का फाल हाल्न थाले । एकमनले भन्यो, ‘यस्ती बूढी आमैको रगतपसिनामा समेत लामो हात गर्ने कस्तो दयाधर्म नभएको चोर ?’
‘चोर पनि धर्मात्मा हुन्छ र ?’ लगत्तै अर्को मनले उत्तर दियो । कण्ठमा आएर अड्किएको शब्द उम्कनै सकेन !
कुरा बुझ्दा–
उनको स्थायी घर दक्षिणी काभ्रे रहेछ, पनौतीतिर । बालखैमा बिहे भएछ । र, त्यस्तै १६ वर्षको हुँदा लोग्ने बितेछन् । जग्गाजमिन प्रशस्तै थियो । पेवापात पनि नभएको होइन । दुवै कानमा लस्करेमुन्द्रा, ढुंग्री, तिल्हरी, नौगेडी के मात्र थिएनन् उनका ! बेचेको भए बसेरै खान पुग्थ्यो । तर, विधवा भाउजूलाई हामी पाल्छौँ भन्दै देवर–जेठाजुले भएको जायजेथा कुम्ल्याएछन् ।
बल–बैँसमा सम्पत्ति फिर्ता ल्याउन पसिना नबगाएकी होइनन् । परिणाम हात लाग्यो शून्य । सन्तानको नाममा एउटी छोरी बाँकी थिइन् । छोरीको पनि बिहे भएपछि वृद्धआमैको पाटीको बास भएको रहेछ ! छोरीले ‘बस्नुहोस् आमा मसँगै’ नभनेकी पनि होइनन् ।
‘छोरी पो आफ्नी भई, ज्वाइँ त अर्काको छोरो हो नि, बूढेसकालमा अलपत्र पर्नुभन्दा अहिले नै आफ्नो मेलोमेसो गर्नु बेस ठानेर यहीँ बस्न थालेँ बाबु,’ खुइया काढिन् उनले । बर्दिबासबाट फर्किएपछि दुई–तीनपटक ती आमैलाई भेटेँ र लामै कुराकानी गरेँ । प्रत्येक भेटमा कुराकानीको पोयो गाँठो पार्दा आँसु बोकेर फर्कंदै छु भन्ने भान हुन्थ्यो मलाई । यसले पनि सघाएको हो ‘देउती’लाई पूर्णता दिन ।
घरका तीन देउती
म ८–९ वर्षको थिएँ, असाध्यै रोगी । दुब्लो र पिलन्धरे पनि । प्रायः हजुरआमाको काखमै हुन्थेँ म ।
एकदिन घरमा फुपूदिदी पनि आउनुभएको थियो । खै किन हो, हजुरआमाको अनुहार बेग्लै भएको चाल पाएँ । आँखामा आँसु टिलपिल थियो । त्यही बेला देखेको हुँ– ठूलो मान्छे रोएको ।
‘ऊबेला मलाई बोक्सीको बात लगाएर घरमै मन्छिए । गुहूका टपरी यही हातले सोहोरेकी हुँ मैले । उस्तै आइमाई भए कहाँ बस्न सक्नू !’ हजुरआमाले फुपूलाई यसो भनेको धूमिल सम्झना छ मलाई ।
१९ वर्षको उमेरमा विधवा भएको । लोग्ने परलोक प्रस्थान गरेपछि दुई छोराहरूलाई हुर्काउँदाको कष्ट र समाजले दिएको प्रताडनाको पीडा उहाँका आँखाले बताइरहेका थिए, शायद !
त्यतिमात्र होइन, घरमा खानेकुरा नभएर मेलापात, पर्म जाँदा खाजा खान भनेर दिएको मकै–भटमास जाँतोमा पिनेर छाक गुजार्नु परेको अभिशप्त अवस्थाको पीडा पोख्दा उहाँको मुखबाट कुनै उद्गार होइन, आँखाबाट आँसुमात्रै चुहिन्थे । ‘विधवा’ भनेर छरछिमेकले गर्ने हेलाँहाँसो हजुरआमाको मुखबाट सुन्दा दन्त्यकथाजस्तो लाग्थ्यो मलाई ।
फुपूको पीडा त्योभन्दा कम्ती थिएन । ७–८ वर्षकै उमेरमा विवाह भएको । बिहे भएको एक–दुई वर्ष पतिवियोगको पीडा खप्नुपरेको आदि घटना हजुरआमाले सुनाउनुहुन्थ्यो मलाई । र त, उहाँका पनि आँखा कहिल्यै ओभानो देखिनँ मैले ।
माइत आएपिच्छे उहाँको अनुहार सिमखेतझैँ देखिन्थ्यो । कथाजस्ता लाग्ने उहाँका व्यथा सम्झँदा अहिले पनि शरीरका रौँ जुरुक्क उचालिन्छन् ।
त्यसबाहेक हजुरआमा र फुपूदिदीको शरीरमा कहिल्यै रातो वस्त्र देख्न पाइनँ । ‘के अपराध थियो होला बाल्यकाल, किशोरमै विधवा हुनुप¥यो । र, जीवनभर रातो लुगा लगाउन र शिर ठड्याएर बोल्न वर्जित हुनुप¥यो ?’ बारम्बार यही प्रश्नले चिथोरेपछि ‘देउती’ नलेखी सुखै पाइनँ ।
करिब दुई दशकअघि–
‘मलाई त भैँसी मारेको आरोप लगाए नि !’
काठमाडौंबाट घर फर्कंदा एकदिन आमाले सुनाउनुभयो । सुरुमा त आमाले ठट्टा गरेजस्तो लाग्यो, ‘कसरी मार्नु नि तपाईंले भैँसी, बेकार जिस्किनुहुन्छ !’ जस्तै आपत्मा हाँस्न नबिर्सने उहाँको स्वभाव छ । आमाको कुराले गम्भीर तुल्याएन मलाई ।
कुरा बुझ्दा–
खै के भएर हो, गाउँकै एकजनाको भैँसी मरेछ । घरनजिकै जंगल र जंगलको पुछारमा कुलायन मन्दिर छ हाम्रो । घाँसदाउरा गर्न जाँदा सधैैँ कुलदेवताको मन्दिर ढोग्ने परम्परै हो । तर, गाउँका बुजु्रकहरूले ‘फलानीले त्यसको भैँसी मरोस् भनेर भाकल गर्दै ढोगेकाले तेरो भैँसी किलाको किलै ठहरै भो’ भनेर उक्साएपछि ती सोझा–सीधा परिवारले मेरी आमामाथि भैँसी मारेको आरोप लगाएका रहेछन् ।
त्यतिमात्रै होइन, चौतारीमा कचहरी नै बसेर आमालाई तथानाम भनेछन् । ‘छारे रोगले’ दिनको तीनपल्ट ढल्ने निरीह मेरी आमाले कसरी भैँसी मार्न सक्थिन् ? पत्तीले चिरेसरह भयो छाती ! र, यो घटना पनि देउतीको उपकथा बन्न पुग्यो ।
फुपूआमैले सुनाउनुहुन्थ्यो– ९० सालको भूकम्पमा म पानी लिन गएको थिएँ । घरमुनिको अम्बाको रुख यसरी हल्लियो, अनौठो लाग्थ्यो सुन्दा ।
उमेरसँग हजुरआमा र फुपूले बाँचेको युगको कथा मथिङ्गलमा भ्रूणको रूपमा विकास भयो र दिनहुँ पिरोल्न थाल्यो । स्नातक उत्तीर्ण गरेपछि पाँचपटक उपन्यास लेख्न खोजेँ तर सक्दै सकिनँ । जतिपटक लेख्थेँ, कापीका पानामा गिजिङमिजिङ अक्षरमात्रै जम्मा हुन्थे– उपन्यासले आकारै ग्रहण गरेन । ०७३ को पुसमा आएर ‘ब्रेक थु्र भयो । एक महिनामै तयार भो पाण्डुलिपि ।
माघको दोस्रो सातातिर–
उपन्यासको पाण्डुलिपि बोकेर देउतीकै गाउँ पुगेँ । परिवेशलाई यथार्थ उतार्न सकिने र पाठकलाई देउतीकै आँगनमा पु¥याउने अभीष्ट थियो मेरो । जंगलमा बसेर उपन्यासको बिट मार्न थालेँ । भूकम्पले खण्डहर बनेको थियो गाउँ । वारिपारि लाश नपरेका घर थिएनन्, भूकम्पका बेला । त्यसैले गाउँमा मानिस बस्नै छाडिसकेका रहेछन् ! मैले जताततै देउती पो देख्न थालेँ । सात दिन बिताउँछु भनेर देउतीको भूमि पुगेको म तीन दिनमै फर्किएँ । हिँड्ने बेला पानी झमझम परिरहेको थियो । बिनाबर्सादी मोटरसाइकल स्टार्ट गर्दा आमा रुन थाल्नुभो, ‘यस्तो विक्षिप्त कथा नलेख् । अरू नै काम गरेर खा, बिन्ती बाबु !’
काठमाडौँ फर्किएपछि पुनः उपन्यासको अन्तिम सम्पादन थालेँ । कहिले साँझदेखि भोलिपल्ट बिहानको सूर्योदयसम्म लेखिरहने, कहिले हप्ता दिनसम्म पनि छुँदै नछुने– अचम्मको बानी छ मेरो । त्यस दिन मध्यराति उठेर काँटछाँट गर्न थालेँ । त्यस्तै पाँच–छ घण्टा ल्यापटपको किबोर्डमा हात दौडाएपछि ओछ्यानबाट ओर्लिएँ । र, बर्सादी लगाएँ ।
मोटरसाइकल स्टार्ट गरेर चोकमा पुगेपछि पो झल्याँस्स भएँ– पानी छिट्याएकै छैन ! पानी त त्यही उपन्यासमा परेको थियो । र, भेलले देउतीको जेठाजुको खेत निलेको थियो ।
त्यस्तै १२ वर्षअघि । साइकलमा सामान राखेर पसल–पसलमा बेच्ने काम थियो मेरो । ‘मार्केटिङ’ भनौँ न ।
साइकल गुडाउँदै जाँदा बाटामा एउटा पत्रिकाको टुक्रा फेला प¥यो । ‘कान्तिपुर’ थियो, शायद । त्यहाँ एउटा फोटो छापिएको थियो । फोटोमा एउटी वयोवृद्ध महिला शवलाई छाँद हालेर भक्कानिइरहेकी थिइन् । र, फोटोको क्याप्सन थियो, ‘हराएका श्रीमान् ३० वर्षपछि फेला परे । तर, सास होइन, लाश ।’ यसरी जन्मिएको हो ‘देउती’को अन्तिम ‘मेटाफोर’ । –बाह्खरीबाट साभार
Previous Articleसांगीतिक बजारमा बागलुङे सर्जकहरु
Next Article २०६० भाद्र ३१ः भुल्न नसकिने त्यो क्षण