सोम शर्मा
भालेको डाकोसंगै पारी डाँडामा घामको झुल्को देखिन थालेको थियो । हाम्री आमालाई बिहानै उठ्नु पर्ने बाध्यता नै थियो । किनकी उनै थिइन हाम्रो चार जना परिवारको उत्तरदायित्व । हाम्रो घरमा कुनै छोरी मान्छे नभएकै कारणले पनि होला घरको चुलोचौकोको सबै जिम्मेवारी उनकै काँधमा पथ्र्यो । त्यो दिन पनि आमा बिहानै उठेर घरमा लिपपोत गर्दै हुनुहुन्थ्यो । हामी दुईभाइ र बाबा पनि एकै कोठामा थियौ । निद्राले छोड्ने बेला अझै भएको थिएन । त्यसैले हामी सबै सुतिरहेका थियौं । आमाले घर बढारेको स¥र्याक सुरुक आवाजले केही निद्रा भंग त भएकै थियो । हामी सुत्ने कोठा अर्कै कोठा थियो । हाम्रो सानो पसल पनि थियो त्यो चाहिँ अर्को कोठामा थियो । त्यसैले पनि खासै आवाज त आउंदैनथ्यो । तैपनि केहि न केहि भएपनि डिस्टब त हुन्थ्यो नै । पसलतिरको रुम सफा गरेर ममी धारामा पानी लिन जाने बेला हुन्छ । हामीलाई बोलाउदै “ल म पानी लिन गए है, उता पसलतिर पनि हेर्नु’’ भन्दै जानुभयो । ल ल भन्दै हामी चाहिं सुत्नमै मस्त । ममी केहि कपडा धुन भन्दै बाटामा कपडा र पानी लिनको लागि गाग्री लिएर धारातिर लाग्नुभयो । धारा केहि तल थियो । हामी सदाझैं सुतिरहेका थियौं ।
केहिबेरमा ममी हस्याङ–फस्याङ गर्दै धाराबाट गाग्रीभरि पानी लिएर त फर्किनुभयो तर उहाँको अनुहारमा त्यो दिन डरत्रासको भाव स्पष्ट छचल्किएको थियो । ममीले गाग्रीलाई राखेर हामीमाझ आएर कहालीलाग्दो स्वरमा ओए…उठ त सबैजना भन्न थाल्नुहुन्छ । बाबा पनि के भो र ? भन्दै जुरुक्क उठ्नुहुन्छ । हामी दुइभाई पनि उठ्छौं । ममी एक तमासले बोल्न थाल्नुहुन्छ– ‘तल…तल…तल… नि…। म सोधिहाल्छु “के तल ममी, के भयो र तल ? रातोपिरो हुनुभएकी मेरी आमा बोल्न थाल्नुहुन्छ…धारामा माओबादी छन्, ३ जना माओबादीले हातमा बन्दुक लिएर बसेका छन् । लौ आज के हुने हो कुन्नी ? ‘हामी यहाँ छौं भनेर कसैलाई भन्नुभयो भने तपाईको परिवारलाई मारीदिन्छौ’ ति माओवादीले ममीलाई भनेछन् । ममीले ‘हुन्छ’ मात्र भन्नुभएछ । कपडा धुने त कुरै भएन । उनीहरु त्यहाँ आउनुको कारण थियो– धाराभन्दा केही तल रहेको सरस्वती मन्दिरमा सैनिक चेकपोस्ट थियो । बिहान ८ बजेतिर मात्र सैनिकहरु त्यहाँ आउने गर्थे । तसर्थ उक्त पोस्टमा आक्रमण गर्ने उद्देश्यका साथ केही माओबादी त्यो धारामा बिहानै आएर बसेका रैछन् । हामी सबै आत्तिन थाल्यौ– अब के हुन्छ भनेर । बाबाले पसलतिरको ढोका र हामी सुतेको रुमको ढोका लगाउनुभयो । हामी डराउँदै कोठामा बस्यौं । केहिबेरमा एकदम कहालीलाग्दो आवाज आयो ‘डुम्म–डुम्म’…। डरले झनै नेटो काट्यो, ममी बर्बराउन थाल्नुभयो, लौ कसलाई हाने गोली । कुन्लाई मारे आज । तल चेकपोस्टमा आउने केहि सैनिक हाम्रो पसलमा खाजा खान आउने हुँदा केहीसंग हामी नजिक थियौं । हामीलाई डर थियो, कतै तिनै सेना त परेनन् ।
गोली पड्केको केही मिनेटमा नै हामी बसेको कोठाको ढोका ढक–ढक गरेको आवाज आयो । हाम्रो मुटुको धड्कन यसै त बढिरहेको थियो झन् त्यो ढक–ढकले नै मुटु फुल्न थाल्यो । ‘ओ ढोका खोल्नुस्, को हुनुहुन्छ… छिटो ढोका खोल्नुस ।’ बाबाले पनि बिस्तारै गएर ढोका खोल्नुहुन्छ । बाबाले ढोका खोल्न पा’को छैन रातोपिरो भएर मुखमा कालो दलेका कम्ब्याट कपडा र हातमा बन्दुक तेर्साउंदै आएका सेनाले झन् थर्काउन थाले । किन ढोका खोल्न ढिला ? के गरेर बसेको हो हँ ? बाबाले सुतेर उठ्दै थियौं, कपडा लगाउन लागेकोले बेर भयो भनेपछि…ए तिमीहरुलाई यत्रो ठुलो बम पड्किंदा पनि निद्रा लाग्यो हैन, पख तिमीहरुलाई भन्दै सबैलाई बाहिर बोलायो सेनाले । हामी सबै बाहिर निस्क्यौ । बिचरा बाबाले जांगे पनि लगाउन पाउनुभएको थिएन । म पाइट लगाउँछु है भन्दा पनि ‘ए तलाई पाइट लगाउनु पर्ने भन्दै बाहिर लतार्न थाल्यो त्यो हुलको एक सेनाले । बिचरा बाबा…माथी स्यान्डो र तल मात्र झाडन बेर्नुभएको थियो । उनीहरुले पाइट लगाउन पनि नदिइकन बाहिर लतारे । हामी दुईभाइ सानै थियौं । हामी त्यो बेलासम्म त रुन पनि सकेका थिएनौं । रुदा पनि गाली गर्छन कि भन्ने डर थियो । हामी सुक्क–सुक्क मात्र ग¥यौ । बाबाममीलाई त्यसरी थर्काइरहँदा हामी चुपचाप थियौं । सबै बाहिर निस्केपछि घरका सबै कोठाको चाबी लगाएर चाबी सेनाले राख्यो । र, बाबाममीलाई एक तमासले प्रश्नको बर्षात् गर्न थाले । तिमीहरुले यत्रो बम पड्काएको नसुन्ने हैन, भन तिमीहरुले कतिजना माओबादीलाई पालेर बसेका छौ ? हिजो कहाँ सुतायौ ? कती थिए ? कति जनालाई खाना खुवायौ ? साला माओबादीलाई पाल्ने अनि अहिले थाहा पाइन भन्ने । उनीहरुले मुखबाट एकदमै अपशब्द बोल्दै एकतमासले गाली गरिरहे ममीबाबालाई । हामी दुईभाइ एक टलकले सुन्नुबाहेक केहि गर्न सकेनौं । कतिखेर त लाग्थ्यो सानो भएपनि उनीहरुले समातेको बन्दुक खोसेर उनीहरुलाई नै ठोकी दिउ । फेरि ती सेनाहरुले बाबाममीलाई सोध्न थाले– तैंले माओबादीहरुलाई कहाँ राखिस ? त्यो बन्दुक पड्काएर कता भागे छिटो भन ? त्यहाँ नारीप्रतिको कुनै सम्मान र आदर थिएन मात्र थियो त राक्षसरुपी ब्यबहार । एउटी नारीलाई पनि उनीहरुले तुच्छ भाषा प्रयोग गरेर प्रश्न सोधिरहेका थिए ।
बाबामीले हामीलाई केहि पनि थाहा छैन भने । बिचरा बाबाममी चपेटामा थिए । बिहानको सत्य कुरा भन्दिउ त माओबादीले मार्छन यता फेरी सेनाले हिँड तिनीहरुलाई देखाई भने भने कहाँबाट देखाउने ? उनीहरुलाई त्यतिले चित्त बुझेन र एउटा मेजरले आफुसंग भएको बन्दुक कक गर्दै बाबाको छातीमा तेर्सायो र भन्न थाल्यो ‘साला साँचो–साँचो भन तैले देखेको छस कि छैनस् ?’ मेजरले छातीमा गोली तेर्साएपछि ममी बेजोडले रुन थाल्नुभयो । हामी दुईभई ममीलाई समातेर रोयौं तर ति पिचासहरुले हामीलाई रुन पनि स्वतन्त्र दिएका थिएनन् । ‘ओए किन रोको चुप ?’ अनि हामी चुप । उता बाबाले मारे मार्नुस् हामीलाई केहि थाहा छैन भनेपछि सेनालेले बन्दुक बाबाको छातीबाट हटायो । अब तिमीहरु यही बस भन्दै माथी गाउँतिर जान थाले । हाम्रो घरमाथि पनि बिजय मामाको घर थियो । त्यहाँ गएर पनि त्यहाँको टिन ठटाउंदै बन्दुक तेर्साउंदै थर्काइरहेका थिए । मामालाई त अझ् लात्तै–लात्ताले हान्दै झपारिरहेका थिए सेनाले । त्यहाँ एउटा सेनालाई छोडेर अरु मामाको गाउँ मुस्यास्वर भन्ने ठाउँतिर लागे । ममीले बिहान धारामाथि चौरमा छोडेको लुगाको बाटा लिन जान खोज्दा सेनाले रोक्यो । सेनाको हुलले माथि गाउँमा गएर कसैको भकारी, कसैको ढोका फोरेर, कसैलाई मुखमा आ’को बोलेर र कसैलाई हातपात गरेर गरेछन् ।
हाम्रो घरतिर झर्दै गर्दा एक सेनाले त्यो कस्को बाटा भनेर सोध्छ । हामी चुपचाप । केहिबेरमा सेनाको गाली बर्सेपछि ममीले मेरो बाटा हो के भन्न पाउनु भको’थ्यो, उस्ले बन्दुक तेर्साउँदै भन्न थाल्यो– ‘ए तैले बिहान कपडा धुन जाँदा माओबादीलाई देखिनेस हैन, बल्ल थाहा भो तैले माओबादीलाई पालेर राखेकी रैछेस् । सेनाले भन्यो ‘केटा…हो यो घर सबै खोजेर हेर कता–कता बन्दुक लुकाएर राखेका छन कि ? सेना घरभित्र पसे र जतततै खोज्न थाले । घरमा केही भेटिएन । सेनाले ममीलाई सोधिरह्यो– ‘भन कहाँ गए ति माओबादीहरु ? नत्र तँलाई गोलीले हान्दिन्छु भनेपछि ममीले ‘उ त्यततिर गएका थिए ।’ भन्दिनुभयो । ममीको उत्तरपछि सेनाले उहाँको गालामा एक थप्पड हान्न पुग्छ । हामी सबै हेराहेर । हामी ममी–ममी भन्दै बेजोडले रुन थाल्यौ । यतिविधि भएपछि बाबा बोल्न थाल्नु भयो । यि बच्चाको के दोष केहि नगर्नुस् न भन्न के पाउनु भएको थियो उताबाट आएर एक सेनाले बाबाको छातीमा लात्ताले हानेर बाबालाई भुँईमा पछा¥यो । हामी बाबालाई ‘उठ्नुस न’ भन्दै बाबालाई उठाउन गयौ । उताबाट अर्को आवाज गर्जिन थाल्यो– ओए केटा हो सलाई ले त सालाहरुको घर आज आगो लगाएर खरानी पार्दिन्छु । धन्न त्यो बेलामा कसैले पनि सलाई दिएनन । ममीको कपाल समाउंदै र बाबालाई पनि तथानाम गाली गर्दै बाटामा भएका कपडालाई लात्ताले हानेर यत्रतत्र छरिदिए ।
केहिबेरको ज्यादतीपछि हामीलाई अझै ठुलो बज्रपात प¥यो । उनीहरुले अब तिमीहरुलाई आर्मी क्याम्पमा लगेर ठिक पार्छौं भनेर समातेर लगे । हाम्रो लाख अनुनय बिनयपछि पनि बाबाममीलाई लगेरै छोडे । हामी रुदै मामाको घरमा पुग्यौ । हामीले बाबाममीलाई भेट्न पाउने आशा गुमाइसकेका थियौं । म ममी र बाबासंग छिटो भेट होस् भन्दै भगबानसंग प्रार्थना गरिरहन्थे । सायद त्यसैको फलले होला भोलिपल्ट बाबालाई छोडिदिएको थियो सेनाले । सेनाको कुटाईबाट बाबाको छाती, गाला, मुख र कन्नामा लठ्ठीका डामहरु थिए । ममीलाई यताउती हेरे तर देखिन । ‘बाबा ममी खै त ?’ प्रश्न सोधिहाले– ‘छोरा ममी त्यहिं छ चांडै नै आउछे पिर नगर’ –बाबाले भन्नुभयो । बाबालाई दोषी नदेखेपछि भोलिपल्टै छोडिदिएका थिए रे, तर ममीले पहिला ‘देखिन’ र पछि ‘देखे’ भनेका सोधपुछको लागि राखेको रे । मानवअधिकारबादी र बागलुङका केहि भद्रभलादमीको पहलमा भोलिपल्ट ममीलाई उपल्लाचौरको ब्यारेकबाट जिल्ला प्रहरी कार्यालयमा सारिएको रैछ । मामा र म खाना लिएर जिप्रका जाँदा प्रहरीले ममीलाई भेट्न दिएन । मामा केहि ब्यक्तिसंग ममीलाई छुटाउनको लागी प्रयत्न गरिरहनुभएको थियो ।
एक दिन हामी गाउँका केही साथीहरु नजिकैको कुवामा नुहाउन गएका थियौं । म नुहाउंदै थिए । अचानक एक जना साथीले भन्न थाल्यो– ‘ओए तेरो ममीलाई ल्याएका छन् छिटो आइज ।’ शरीरमा लगाएको साबुन पनि राम्रोसंग नपखाली कपडा लगेर टाप कसें । ठुला मामाको घर तल एउटा चौर थियो, त्यहाँ थुप्रै मान्छे जम्मा भएका थिए । जब भित्र पुग्छु एउटा गुन्द्री माथी मेरो ममीलाई सुताइएको थियो । उहाँको आँखा बन्द थियो । केहि बोल्नुभएको थिएन् । मलाई एक्दमै डर लाग्यो । नजिकै कान्छो मामा पनि हुनुहुन्थ्यो मैले सोधे– ‘मामा ममीलाई के भयो ?’ मामाले भन्नुभयो– ‘भान्जा ममी बेहोस हुनुहुन्छ,उहांलाई लेउंदा पनि स्ट्रेचरमा लिएर आएको हो,घरी होस खुलिहाल्छ फेरी बेहोस भैहाल्नुहुन्छ, टेन्सन नगर ममीलाई ठिक हुन्छ ।’ ममी भन्दै म बर्बराउन थाले । केहिबेरमा ममी उठ्नुभयो म खुशी हुन थालें । लौ मलाई मार्छन भन्दै भन्दै ममी फेरि बेहोस हुनुभयो । कोलाहल मच्चिन थाल्यो । म घरिघरी ममीलाई पानी खुवाउंथे, टाउको मुसारीदिन्थे, टाउकोमा पानी हालिदिन्थे तर होश खुल्न सकेन । ममीलाई घरमै सलाईन दिनुभयो कान्छो मामाले । हामीलाई देखेर झन् रुनुहोला र झन स्ट्रेसमा जानुहुन्छ कि भनेर हामीलाई केहिबेर पर राखियो । केहिबेरमा ममीले खै मेरा छोराहरु भनेर बोलानुभएछ र हामीलाई त्यहाँ लागियो । ममीलाई दिन प्रतिदिन गर्दै ठिक त हुंदै गयो तर मनमा जुन डर थियो त्यो कहिलेपनि निको हुन सकेन । उहाँलाई शारीरिक र मानसिक रुपबाट गहिरो पिडा दिईएको थियो । कानबाट बेला–बेलामा रगत बगिरहन्थ्यो, राती झस्किनुहुन्थ्यो । हामी केहि समय त कान्छा मामाको घरमा नै बस्यौं ।
हाम्रो परिबार त्यो युद्वसंग तर्सिंदै र थप त्रासबाट मुक्त हुनको लागि दिउँसो पसल खोल्न गएपनि बेलुका भने सुत्न कहिले मामाकोमा कहिले कस्कोमा गरेर रातहरु काट्यौ । त्यो घटनापछि सेनाको बढी चाहलपहल हुन थाल्यो । त्यो बाटो हिंड्ने मान्छे नै हुन छाडे । त्यसको बिकल्पको रुपमा बाग्लुङ बजार जान र फर्किन चौलानी खोलाको बाटो या पानी ट्यांकीको बाटो हिंड्न थाले । ममीलाई बेलाबेलामा हस्पिटल भर्ना र घरकै आरामले केहि हल्का भएको महसुस हुन थाल्छ तर उहाँलाई निर्घात रुपमा कुटेपछि कानको जाली फुटेकोले कान कम सुन्ने हुन थाल्नुभयो । बाबालाई पनि ढाड दुख्ने समस्याले ग्रस्त बनाएको थियो । द्वन्द्व शान्तिमा रुपान्तरण भएपछि कान्छो मामाको अथक प्रयासमा हाम्रो परिवारलाई केहि सामान्य राहत उपलब्ध भयो । ममीको कानको उपचार पनि निशुल्क ब्यबस्था गरियो । बिभिन्न समयमा काठ्मान्डु गएर उपचार गरेर फर्केपनि ममीको कानको पुर्ण रुपमा उपचार हुन सकेको छैन् । सरकारले दिएको राहतले केहि छिट्फुट काम त भएका होलान तर त्यो बेलामा हामीले भोगेको पिडामा मलम लगाउने काम भएको छैन । खै कती गुनासो गरौं हाम्रो सरकारलाई । उ त आफ्नै पिडामा छ– कहिले मेरो कुर्ची फुत्केला भन्ने ।’
Somsharma2121@gmail.com