बागलुङ, २४ भदौ – बासमृद्द राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ विहिवार राष्ट्रिय शिक्षा दिवश सम्पन्न भएको छ । हरेक बर्ष सेप्टेम्बर ८ गतेलाइ अन्तराष्ट्रिय साक्षरता दिवश मनाइने गरिन्छ ।
सोही अवसर पारेर नेपालले पनि राष्ट्रिय शिक्षा दिवश समेत मनाउने गरेको हो । नेपालमा अझै पनि शतप्रतिशत नागरिक साक्षर बन्न नसकेकोले शिक्षा दिवशलाइ साक्षरताको ढोका खोल्ने पर्वको रुपमा मनाउने गरिएको छ ।
दिवशको अवसरमा सरोकारवालाले नेपालको शिक्षालाइ जीवनउपयोगी बनाउनुपर्ने धारणा राखेका थिए । साथै उनीहरुले व्यवहारिक, प्राविधिक ज्ञान दिन सकेमा मात्र नेपालीले रोजगारी खोज्दै विदेशीको भूमिमा जानुनपर्ने बताए ।
कार्यक्रममा सांसद ज्ञानकुमारी छन्त्यालले सबै नागरिकलाइ शिक्षा दिन नसके देश विकास समेत संभव नहुने बताइन् । उनले अझै पनि जिल्लाको पश्चिमी क्षेत्रमा धेरै बालबालिका विद्यालय जान नसकेको, गएकाहरु पनि छाड्ने गरेको धारणा राखिन् ।
उनले राज्यले शिक्षा क्षेत्रको लगानी बढाएर देशलाइ विदेशीको जस्तै प्रतिष्पर्धि बनाउनुपर्ने बताइन् । कार्यक्रममा सांसद नरबहादुर थापाले शिक्षा नीति स्पष्ट बनाएर राज्यले देश विकासको आधार शिक्षालाइ बनाउनुपर्ने धारणा राखे ।
जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षता, विद्यालय निरिक्षक प्रकाश ओझा, श्रोत व्यक्ति ढकबहादुर पुन र दिपक सुवेदीको संचालन तथा शाखा अधिकृत सरिता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, नेपाली काँग्रेसका सभापति दिपेन्द्रबहादुर थापा, एमाले अध्यक्ष श्रीप्रसाद शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञामनाथ गैह्रे, राप्रपा नेपालका अध्यक्ष नविन शर्बुजा, अखण्ड नेपालका उपाध्यक्ष रुद्रबहादुर महत लगायतका राजनीतिक दलले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, आधिकारीक ट्रेड युनियनका अध्यक्ष तेजप्रसाद निउरे, नेपाल शिक्षक महासंघका अध्यक्ष टिकाराम सापकोटा, एनप्याब्सनका अध्यक्ष बालकृष्ण शर्मा, बाल क्लब जिल्ला संजालकी अध्यक्ष सुरक्षा खड्का लगायतले बोलेका थिए । उक्त अवसरमा सेवा निवृत्त भएका ४८ जना शिक्षकलाइ सम्मानित गरिएको थियो ।
हरेक बर्ष सम्मानित गर्दै आएको कार्यक्रम मध्येबाट पत्रकार राम थापा अविरललाइ यो बर्षको उत्कृष्ठ शिक्षा पत्रकारको रुपमा सम्मान समेत गरिएको थियो । हरेक बर्ष बालबालिकालाइ जुलुसमा लगेर मनाइने गरिएको दिवश यो बर्ष भने सामुदायिक तथा निजी विद्यालयहरुका शिक्षकहरुको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालय तहका बालबालिकाले शिक्षा तथा राष्ट्रियता झल्कने खालका नृत्य तथा गीत संगित प्रस्तुत गरेका थिए ।