बागलुङ, ७ भदौ-ढोरपाटन नगरपालिका—६, सुब्जागाउँका बासिन्दाहरु नजिकैको पुलको प्रयोग गरेर नदी वारपार गर्न पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । अविरल बर्षासँगै भूजिखोलामा आएको बाढीले आवतजावत गर्ने बाटो नै बगाइदिएपछि सुब्जागाउँका करिब ३० घरधुरीका स्थानीयहरुलाई यस्तो समस्या परेको हो । अहिले सुब्जागाउँका साना साना बालबालिकाहरुलाई नजिकैको शिवालय माध्यमिक विद्यालयमा जान र त्यहाँका स्थानीयहरुलाई नजिकैको सहिखोला बजारमा किनमेलको लागि जान साँघुरो भीरको बाटोमा झुण्डिएर जानु पर्छ । उमेर पुगेका पुरुषहरु पानीले छाल मारिरहेको भीरकै कुना भएर पुरानै बाटोबाट यात्रा गरेपनि महिला तथा साना बालबालिकाहरु भने भीरमा झुण्डिएर यात्रा गर्ने गर्दछन् । नजिकैको नवनिर्मित पुलबाट वारपार गर्न कि खोलामा डुवेर कि त भीरमा झुण्डिएर यात्रा गर्नुपर्छ । गत बर्षको बाढीबाट आंशिक रुपमा क्षती पुगेको अर्को पुलबाट यात्रा गर्दा बालबालिकाहरुलाई विदयालय टाढा पर्छ, त्यसमाथि पुल कोल्टो परेकोले आफैमा जोखिमयुक्त छ । भीरको बाटो पनि आफैमा अत्यन्तै साँघुरो र चिप्लो भएकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने स्थानीय रेमबहादुर घर्तिमगरले बताए । उक्त स्थानमा गोरेटो बाटोको लागि केही समय अघि सम्पन्न भएको नगरपरिषदबाट समेत कुनै सम्बोधन नभएको मगरको भनाई छ । अघिल्लो बर्ष आएको बाढीले भत्काइदिएको उक्त बाटो हिउँदको समयमा स्थानीय जनश्रमदानबाट मर्मत गरि प्रयोग गरिदै आइएको थियो ।