बागलुङ, १९ असार – आर्थिक वर्ष २०७४ र ०७५ को लागि गलकोट नगरपालिकाको बजेट तथा योजना तर्जुमा सम्बन्धि सरोकारवालासंग परामर्श तथा छलफल कार्यक्रम आइतबार हटियामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले जनताले अनुभुति गर्ने गरि विकास निर्माण र सेवा सुविधा प्रदान गर्नु पर्ने बताएका छन् । नगरको सम्वृद्विको निम्ति गुरुयोजना निर्माण गरि विज्ञसंगको छलफलमार्फत जनताका सुझावहरु सहि किसिमले ग्रहण गरि अगाडि बढनु पर्नेमा जोड दिएका छन् ।
परामर्श तथा छलफल कार्यक्रममा गलकोट नगरको सडक, कृषि, शिक्षा, सञ्चार, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत, युवा स्वरोजगार, महिला हिंसा न्यूनिकरण, सिचाई, नगरभित्र फोहोर व्यवस्थापन, नगरपालिका कार्यालयको लागि घडेरी व्यवस्थापन लगायतका विषयमा छलफल समेत गरिएको थियो । कार्यक्रममा पूर्वसभाषद पूर्णबहादुर राना, नेपाली कांग्रेस गलकोट नगर समितिका सभापति नारायणध्वज मल्ल, नेकपा एमालेका जिल्ला सदस्य बुलबहादुर केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, गलकोट नगरपालिकाका मेयर पदका प्रत्यासी फमलाल निउरे, टंकबहादुर केसी, बमबहादुर गुरुङ र गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मकुन्द भण्डारीले मन्तव्य राखेका थिए ।
सो अवसरमा सरोकारवालाहरुबाट गलकोट नगरपालिकालाई कसरी सम्वृद्ध बनाउने भन्ने विषयमा सुझाव संकलन गरिएको थियो । छलफल तथा अन्तरक्रियामा गलकोट नगर भित्रका विजयी जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, महिला नेतृ, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleक्षेत्रिय खेलका लागि खेलाडिलाई विदाई
Next Article पहिरोमा पुरिएका तीनै जनाको मृत्यु