बागलुङ, १९ असार – असार १९ र २० गते पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले आईतबार शुभकामना तथा विदाई गरेको छ ।
पोखरामा हुने ९ औं क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी ७४ जना खेलाडीहरुलाई बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले खादा ओडाएर बिदाई गरेका थिए ।
जिल्लाबाट पुरुष भलिबलमा ९, एथ्लेटिक्समा १३, मार्सल आर्टमा १८, फुटलबमा ४, क्रिकेटमा २, कब्बडीमा १८ जना खेलाडीहरुले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । उक्त अवसरमा खेलका टिम अफिसरलाई पनि विदाई गरिएको थियो ।
जिल्ला खेलकुद विकास समिति र तेक्वान्दो संघ बागलुङले खेलाडीलाई उपहार स्वरुप जर्सी प्रदान गरेको थियो । विदाई कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले खेल क्षेत्रको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । उनले सबै खेलको लागि खेल मैदान बनाउन र खेलाडीहरुलाई खेलतर्फ आकर्षण गर्नको लागि नगरपालिकाले नयाँ कार्ययोजना बनाउने बताए ।
पौडेलले क्षेत्रीय प्रतियोगितामा छनोट भई राष्ट्रिय खेलमा समावेश हुन सफल हुने खेलाडीहरुलाई पुरस्कार तथा सम्मान गर्ने घोषणा गरेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको विदाई कार्यक्रमको स्वागत उपाध्यक्ष शम्भु आचार्य र संचालन कार्यालय सचिव भिमसेन शाक्यले गरेका थिए । उक्त कार्यक्रममा जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बाँस्कोटाले सम्पूर्ण खेलाडीहरुलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।