पर्वत, १९ असार – जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीमा गएराती वर्षासँगै आएको पहिरोले घर पुरीदा वेपत्ता भएका तीन जनाको मृत्यु भएको छ । साविकको होश्राङदी गाविस १ का ६३ वर्षिय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिरोले पुरीएको हो ।
घर पुँरीदा घर धनी मल्ल, उनकी आमा ८० वर्षिया बिनाकुमारी मल्ल र श्रीमती ५५ वर्षिय यमकुमारी मल्लको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानिवासी र सुरक्षाकर्मीले विहानैदेखि खोजीकार्य गर्दा उनिहरुलाई मृत अवस्थामा फेला पारेका हुन् ।
मल्लका छोरा भारतीय सेनामा कार्यरत रहेका छन्भने बुहारी र नाती बुटबलमा बस्दै आएका छन् । झण्डै तीन सय मिटर माथिबाट आएको पहिरोले घर पुरिएको थियो ।
अहिले मृतकका शब र आसपासका जोखिममा रहेका घरपरिवारलाई समेत सुरक्षित स्थानमा सार्ने काम भैरहेको महाशिला वडा नंं. १ का अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिए । राती १२ बजेको समयमा घर पुरिएको स्थानियले बताएका छन् । गाउँलेहरुले रातीदेखिनै उद्धारकार्य थालेका थिए ।
उक्त स्थानका अन्य ६ घर समेत पहिरोको जोखिममा परेका छन् । उनीहरुलाई समेत सुरक्षित स्थानमा सार्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरीको टोली पुगेको थियो ।