यौनसम्पर्क आफैंमा मूत्रथैलीको संक्रमणको कारण होइन, तर यौनसम्पर्क र मूत्रथैलीको शोथ वा संक्रमणबीच सम्बन्ध भने छ । विशेष गरी केही समयमै धेरैपल्ट यौनसम्पर्क गर्दा मूत्रनली वा मूत्रथैलीको शोथ वा संक्रमण सहज रूपमा सर्छ । यसक्रममा भगक्षेत्रमा भएका जीवाणु मलद्वारतर्फ पनि जान सक्छन् । शुक्रकीट नाशक किसिमका गर्भ्निरोध प्रयोग गर्दा पनि यस किसिमको संक्रमण हुने सम्भावना हुन्छ । कतिपय स्थितिमा यौन साथी नयाँ हुँदा पनि यस्तो किसिमको संक्रमण भएको पाइन्छ । कतिपय विवाह हुनासाथ केही दिनभित्रै एकै दिनमा कैयौं पटक यौनसम्पर्क राख्ने स्थितिमा पुग्छन् भने कतिपय दम्पतीका लागि सबै तालमेल मिल्न केही समय लाग्छ । विवाहको केही समयपछि छोटो समयमै धेरै पटक यौनसम्पर्क राख्दा पनि मूत्रथैलीको शोथ वा संक्रमण हुन सक्छ । विदेशमा विवाह पछि दुलाहा–दुलही ‘हनिमुन’का लागि जाने चलन छ र यही समयमा धेरै यौनसम्पर्क हुने र यस्तो समस्या पनि देखिने भएकाले यसलाई ज्यलभथmययल ऋथकतष्तष्क पनि भनिन्छ । सजिलो रूपमा भन्नुपर्दा यसलाई मधुमासका बेला हुने मूत्रथैलीको शोथ भन्न सकिन्छ ।
किन नवविवाहित महिलामा ?
विवाहको सुरुका दिनमा कतिपय महिलाले मूत्रथैली वा भनौं पिसाबको संक्रमण भएको गुनासो गर्छन्, तर अहिले विवाह भएपछि मात्र यौनसम्पर्क राख्ने चलन हराइसकेको हुनाले विवाहपछि मधुमासका बेला मात्र यस्तो समस्या झेल्नुपर्ने नभै विवाहभन्दा पहिले नै यस्तो स्थिति उत्पन्न हुन सक्छ । प्रायःजसो देखिने लक्षण पिसाब वा मूत्रथैलीको संक्रमण लामो समयसम्म पिसाबथैलीमा रहनु वा पूर्ण रूपमा निख्रिन नसक्नु हो । केही स्थितिमा यौनाङ्गको सरसफाइ राम्रोसँग नहुनु पनि कारण हुन सक्छ, तर तपाईंको सन्दर्भमा भने यो लागू नहुन सक्छ । माथि नै भनिसकियो कि भर्खरै विवाह भएको स्थितिमा चाँडो–चाँडो र धेरै पटक यौनसम्पर्क राखिन्छ । यस्तो स्थितिमा संक्रमणको जोखिम पनि बढ्छ । कारणवश मलद्वारतिरका जीवाणु योनिद्वारतिर पुगेको स्थितिले मूत्रनली वा मूत्रथैलीको संक्रमण गराउन सक्छ । महिलाहरूको हकमा योनिद्वारदेखि मूत्रथैलीसम्मको मूत्रनलीको लम्बाइ छोटो हुन्छ तर पुरुषको हकमा यो निकै लामो हुन्छ, त्यसै पनि यो समस्या महिलामा बढी देखिन्छ ।
यसलाई कसरी कम गर्न सकिएला ?
यौनसम्पर्कपछि यसरी हुने मूत्रथैलीको शोथलाई कसरी कम गर्न सकिन्छ भन्ने लाग्नु स्वभाविक हो । यौनसम्पर्क राख्नुभन्दा पहिले यौनाङ्ग तथा हात राम्रोसँग धुनुपर्छ । यौनसम्पर्कपछि पनि यौनाङ्ग धुनुपर्छ । यौनसम्पर्क राखिसकेपछि तुरुन्तै पिसाब फेर्नु लाभदायक हुन्छ, किनभने पिसाब फेर्दा यदि कुनै जीवणु पसेको भए त्यो पनि पखालिन्छ । योनि सुख्खा हुँदा पनि समस्या सिर्जना हुने भएकाले चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ । शुक्रकीट नाशक वा डायफ्रामजस्ता गर्भनिरोधका उपाय प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । नेपालमा यस प्रकारका गर्भनिरोध सहज रूपमा उपलब्ध नभएकाले यसो गर्न केही गाह्रो नहोला । यौन सम्पर्कबाटै परहेज गर्ने सल्लाह त दिनु आवश्यक छैन, तर यौनसम्पर्क कोमल रूपमा र छोटो अवधिका लागि राख्नु सहयोगी हुन्छ । यस्तो समस्या बारम्बार भैरह्यो भने चिकित्सकसँगको सल्लाहमा प्रतिजैविकी औषधी खानुपर्ने हुन्छ । यस्ता औषधी आफ्नै मनले खानु हुँदैन । त्यसबाहेक पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले गर्दा पिसाब जहिले पनि सफा होस् । अर्को महत्त्वपूर्ण कुरा दिसा धुँदा हात योनितिर नल्याई पछिल्तिर नै राख्नुपर्छ । –साप्ताहिकबाट
Previous Articleगलत संगतले निम्त्याएको दुःखद मृत्यु
Next Article यसकारण धु्रमुस सुन्तलीलाई सहयोग गरौं