कृष्ण प्रसाद शर्मा
विकशित देशका नागरिक भन्छन् जब राज्य कमजोर हुन्छ तव नागरिक बलियो हुनुपर्छ । हुन त यता प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्ने कुरा पनि सुनेकै हो । जे होस् खास भनाई राष्ट्र भन्दा ठूलो अरू केही छैन त्यसैले राष्ट्रलाई सकेको योगदान गरौ भन्ने हो ।
सकारात्मक सोच अभियानका प्रर्वधक कर्ण शाक्यजीले जनता नागरिक नभएसम्म बिकास र समृद्धी सम्भव छैन भन्नुहुन्छ । हामी नागरिक बन्न सकेका छैनौं अहिलेसम्म जनतामै सिमित छौं । देशभित्र वैज्ञानिक महावीर पुन, पत्रकार रबी लामिछाने जस्ता नागरिक पनि छन् । यस्तै क्रममा एक अति नै सम्मानित स्तरका नागरिक हुन सिताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात ध्रुमुककस सुन्तली । हास्य कलाकारको कद हास्य रसमै उच्च राख्ने केही छन् तर त्यो कदको हद उच्च राख्ने यो जोडी नागका मणी हुन् । हामीहरूले हिजोसम्म जति बुझेका थिएउ अब त्यही बुझाईले पुग्दैन । कलाकारिताबाट राम्रो स्थान बनाएर काठमाण्डौमा एउटा आफ्नो घर समेत भएपछि उनलाई खासै जीवन निर्वाह गरेर बसेको भए पनि हुन्थ्यो । आजकाल कलाकार स्वदेशमा कम बिदेशमा धेरै बस्दछन् । यो जोडी पनि चाहेको देशमा पुग्न सक्छन् पुगेकै पनि थिए तर नसोचेको भुकम्पले आज धेरै मरेर गए पनि हाम्रै समाजमा लुकेका एक जोडी यसरी सामाजिक बनेका छन् कि अब देशमा बरु नौ–नौ महिनामा फेरिने प्रधानमन्त्रीको नाम याद छैन् होला यि जोडीको नाम सबैको मुख–मुखमा झुण्डिएको छ । तीन वटा एकिकृत नमुना बस्ती समयमै हस्तान्तरण गरी सकेका यस जोडीले फेरी एउटा राष्ट्रिय गौरबको आयोजना बनाउन घोषणा गरिसके । यसको अनुमानित लागत भने पाँच अर्ब हो र नाम हो नेपाल भित्रको नेपाल “नमुना नेपाल’’ ।
हुन त यो परियोजनाको शीर्षक मुताविक खर्च शीर्षक अनुसार पुरै बाहिर नआए पनि उनीहरूले बनाएको करिब दश मिनेटको भिडियोमा यसको अवधारणा आईसकेको छ । धेरै जसोले उनको परियोजनाको भिडियो नहेरी यो बढी महत्वकांक्षी भयो भन्ने गरेका छन् । पहिलो दिन झट्ट सुन्दा मैले पनि महत्वकांक्षी जस्तै लागेको थियो तर जब भिडियो हेरें अनि महत्वकांक्षी जस्तो लागेन । घरबाट सत्र सय बोकेर काठमाण्डौ छिरेका सितारामलाई यो पाँच अर्ब भन्ने ठूलै हो तर यसले समेट्ने कुराहरू हेदा उनको पाँच अर्ब ठीकै लाग्यो । हात्तीले खाने खान र बिरालोले खाने खानाको मात्र एउटै पक्कै हुँदैन । धेरैले भन्छन् पैसा जुटछ त ? हाम्रो प्रश्नै गलत भयो । हामीले भन्नु पर्छ पैसा जुटाउन सक्छौ र ? त्यो भनियो भने यो परियोजना राष्ट्र हो भन्ने बुझिन्छ । अब प्रश्न आँफैमा गरौ र सहयोग गरौं । तीन वटा बस्ती यो जोडीले सबैको मायाले नै बनाए । धेरै संघर्ष गरेर काठमाण्डौमा जोडेको एउटा घर पनि बेच्ने तरखरमा थिए । तपाई हामीले सहयोग नगरेको भए त्यो घर उहिलै बिक्री भईसक्थ्यो । त्यो घर थामियो र यो जोडीको मन थामियो । त्यही थामिएको मनले फेरी आँट्यो यत्रो परियोजना । यस परियोजनालाई सहयोग गरेर के हुन्छ भन्ने मनमा छ भने एकछिन ध्यान दिएर पढ्नुस् । तपाई हामी कति छौ होला पुरै आफ्नै जिल्ला समेत घुमेका छैनौं । मुस्ताङ नपुगेको यादव, सप्तरी नपुगेको लामा र बाग्लुङ नपुगेको मुसहर धेरै छन् । यि प्रतिनिधि मात्र हुन । अहिलेसम्म नेपाल सगरमाथाको देश, गौतम बुद्धको देश, वीर गोर्खालीको देश भनेर चिनाउँदै आएका छौ । यो हाम्रो गौरव हो तर ईतिहासको विरासतको ब्याज हामीले कहिलेसम्म खाने त्यो पनि एक पटक सोचौं । परियोजना अनुसार सबै जातजातीबाट प्रतिनिधित्व गराईने कुरा छभने सबै भाषाभाषीबाट पनि । हामी पहिचानको कुरा गर्छौ । हामीलाई थाहा पनि छैन कि कतिपय हाम्रा मातृभाषा लोप हुँदैछन् । कतिपय भाषा एक दुई परिवारमा सिमित छ । अब यस्तो अवस्थामा त्यो परिवारले बस्न पाउँदा त्यहाँ भोली बन्ने अध्ययन केन्द्रमा हाम्रो भाषाको बिकास हुन्छ । यसको प्रचार प्रसार हुन्छ । म एउटा समाजशस्त्रको विद्यार्थीका हैसियतले यो देखें भने भोली यही दृष्टिकोणले हेरौं त यो परियोजनामा कति देख्न सकिन्छ ।
हामी अहिले जातजातीको र पहिचानको लडाईमा ब्यस्त छौं । तर पहिचान संस्कृति सगँ जोडिएको हुन्छ । त्यो संस्कृति तीनै भेगमा छ । हामी राज्यको पुर्नसंरचनामा गए पनि भौगोलिक हिसाबले हामी हिमाल, पहाड र तराईका नै हौं । हामी सबैको साँस्कृतिक पहिचान एकै ठाउँमा भेट्न पाउनु हाम्रो लागी त महत्व छँदैछ बिदेशी पर्यटकलाई अझ कति महत्व हुन्छ होला । हामीले सत्य मोहन जोशीलाई सोधेर डेउडा बुझ्न भन्दा त्यही एउटा पर्खाल भित्रै गएर बुझ्न सक्छौ । दशै, तिहारदेखी लोसारका पर्व मनाउने मान्छे यही भेट्छौ अनि हामी साँस्कृतिक रुपमा कति धनी छौ सचेत हुन्छौ । एउटा राउटेलाई खोज्न हामी जंगल डुल्नु पर्छ अब यही आगनमा राउटे देख्छौं । यो साँस्कृतिक पक्ष !
नमुना नेपालले नेपालमा पर्यटक भित्राउन समेत ठूलो महत्व राख्छ । पक्कै पनि यो परियोजनालाई सहयोग गर्न हाम्रो पर्यटन बोर्ड अग्रणी हुने नै छ । हुन त सन् २०१२ को भिजिट नेपालपछि बोर्डले पर्चा छापेको छैन होला तर अब यो परियोजनामा नेपालका विभिन्न घुम्ने ठाउँ मध्ये यो एक अवश्य पर्ने छ । जुन हाम्रो बिदेशी पर्यटक भित्राउने प्रमुख केन्द्र हुने छ । आर्थिक बर्षको अन्त्यमा जथाभावी सरकारी रकमको दुरुपयोग गर्ने तथा हुम्ला, जुम्ला जस्ता जिल्लामा एकातिर रकम फ्रीज हुने अर्कोतिर कुपोषणले ग्रस्त भई बालबालिका मरेका समाचार पढिरहेका छौ भने हाम्रो राज्यले यस्ता परियोजनामा दिएर देशको शान राख्नु पर्छ । यो परियोजनाले देखाउन खोजेको मुल सन्देश पनि नेपाल एक विभिन्न जातको फुलबारी हो भन्ने सन्देश हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर यो परियोजना समयमै सकौं ।