के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन् । यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ । जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः
१. महिनावारीका बेला पनि गर्भ रहन सक्छः युगौं पुरानो भनाइ चटक्कै बिर्सिदिनुहोेस् र याद राख्नुहोस् कि महिनावारीका बेला पनि तपाईं गर्भवती हुन सक्नुहुन्छ । यसका केही कारण छन् । पहिलो, महिनैपिच्छे डिम्बासयले डिम्बा निष्क्रमण गर्दा (ओभुलेसन हुँदा) केही महिलामा रगत आउँछ, यसलाई झुक्किएर महिलाले महिनावारी मान्न सक्छन् । डिम्ब निष्क्रमण हुँदाको समय महिलाको प्रजनन् क्षमता सर्वाधिक हुने हुँदा यसबेला गर्भवती हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यस्तो बेला यौन सम्पर्क गर्दा गर्भ रहन सक्छ । दोस्रो, कुनै महिलाको महिनावारी भइसकेपछि वा रगत आउन रोकिएको केही दिनपछि डिम्बा निष्क्रमण हुन सक्छ । महिलाको शरीरभित्र शुक्रकीट ३ दिनसम्म जीवित÷सक्रिय हुने भएकाले महिनावारीका बेला गरिने यौन सम्पर्कबाट गर्भवती हुने सम्भावना रहन्छ ।
२. पिल्स (गर्भ निरोधक चक्की) खाएका बेला हुने महिनावारी वास्तविक होइनः पिल्स खाएका बेला पनि महिलालाई रगत आउँछ, तर त्यो महिनावारी भने होइन । सामान्य अवस्थाको महिनावारीभन्दा पिल्स खाएका बेलाको महिनावारी फरक छ । किनभने ३ साता हर्मोनयुक्त पिल्स खाँदा त्यसले डिम्बासयबाट डिम्बा निष्क्रमण हुन दिँदैन तर महिलाको शरीरले डिम्बा निष्क्रमण नभए पनि त्यसको तयारी गरिरहेको हुन्छ । फलस्वरुप हर्मोनको लेभल शरीरमा घट्छ । चौथो साता हर्मोनबिनाको चक्की खाँदा गर्भाशयभित्र रक्तस्राव हुन्छ र त्यसलाई महिलाले महिनावारी भएको मान्छन् ।
३. जीवनभर महिनावारी परिवर्तन भइरहन्छः जब तपाईंलाई अब म यतिबेला महिनावारी हुन्छु भनेर अनुमान गर्न सक्छु भन्ने लाग्छ, त्यतिबेलै फेरि सबै कुरा परिवर्तन हुन सक्छ । यसो हुनुको एकमात्र कारण महिलाको शरीरमा निरन्तर परिवर्तन भइरहने हर्मोनको मात्रा हो । र, तपाईंले हेक्का राख्नुपर्ने कुरा के हो भने तपाईंको जीवनभर नै हर्मोनको मात्रा परिवर्तन भइरहन्छ । कुनै महिलामा महिनावारी सुरु हुँदाका बेला महिनावारी चक्र लामो हुन सक्छ । अर्थात् दुई महिनावारीबीच लामो समयको फरक हुन सक्छ । सामान्यतया किशोरीहरूको दुई महिनावारीको फरक २१ देखि ४५ दिनसम्म हुन सक्छ । तर, उमेर बढ्दै जाँदा फरक घद्दै गएर २१ दिनदेखि ३५ दिनसम्म हुन सक्छ । अझ ‘पेरिमेनोपज’ (महिनावारी सुक्ने ‘मेनोपज’ अघिका वर्षहरू) महिलामा हर्मोनको मात्रामा धेरै परिवर्तन हुन्छ । शरीरमा ‘एस्ट्रोजन’ हर्मोनको कमीले तपाईं चकित पर्न सक्नु हुन्छ । महिनावारी वर या पर सर्न सक्छ । त्यस्तै, दिन पनि अघि–पछि हुन सक्छ, रगत बढी वा थोरै जान सक्छ । मेनोपज हुनुअघि पेरिमेनोपजको समय १० वर्षसम्म पनि हुन सक्छ । यस्ता परिवर्तन बिस्तारै हुनु सामान्य हो। तर, एक्कासी अत्यधिक रक्तस्राव भएमा वा महिनावारी धेरै अघि–पछि भएमा (असामान्य रुपमा अनियमित) चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
४. ‘स्यानिटरी प्याड’ र ‘टेम्पन्स’ मात्र विकल्प होइनन्ः महिनावारीका बेला सफा रहन स्यानिटरी प्याड र टेम्पन्स मात्र विकल्प होइनन् । तपाईं अन्य विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ । बजारमा पाइने ‘मेन्स्ट्रअल कप’ पनि यसको विकल्प हुन सक्छ । साथ, ‘पिरियड प्यान्टी’ र फेरि प्रयोग गर्न मिल्ने कपडाका प्याड (क्लोथ प्याड) पनि विकल्प हुन सक्छन् । यीमध्ये पुनः प्रयोग गर्न सकिने भएकाले किफायती र फोहोर पनि थोरै हुन्छ । कुनै–कुनैले लामो समयसम्म तपाईंलाई राहत दिन र सुरक्षित राख्न सक्छन् । यी सबैका फरक–फरक फाइदा र बेफाइदा छन्, त्यसैले आफूलाई उपयुक्त हुने विकल्प रोज्न सक्नुहुन्छ ।
५. ‘पिएमएस’ अझै पनि रहस्यमयः महिनावारी सुरु हुनुभन्दा एक–दुई साताअघि कतिपय महिलामा अल्छीपन, सुन्निनेरफुल्ने, छिनछिनमा मनोदशा फेरिने, यौनको उत्कट इच्छा जाग्ने जस्ता लक्षण देखिन सक्छन् । हरेक महिला अरुभन्दा फरक हुन्छिन्, तर पिएमएस (प्रि–मेन्स्ट्रअल सिन्ड्रोम) भने अधिकांश महिलाको जीवनमा तीतो यथार्थ हो । पिएमएस अर्थात् महिनावारी पूर्व महिलामा देखिने लक्षणबारे चिकित्सकहरू पनि खासै केही बताउन सक्दैनन् । अहिलेसम्म यसबारे पर्याप्त अनुसन्धान भइसकेको छैन । सम्भवतः महिनावारीका बेला हर्मोनमा हुने परिवर्तन, मस्तिष्कमा हुने रासायनिक परिवर्तन र अन्य भावनात्मक परिवर्तन एकै पटक हुँदाको प्रभाव स्वरुप डिप्रेसन आउन सक्छ र यसले पिएमएस अनुभूतिलाई अझ खराब पार्न सक्छ । महिनावारी भएका बेलासमेत यी लक्षण रहिरहन सक्छन् । एउटा अध्ययनले महिनावारीका बेला मांसपेशी बाउँडिने, सुन्निने र फुल्ने, ढाडको दुखाइ, टाउको दुख्ने आदिले चिन्तनरसोचमा पनि असर पार्ने देखायो । किनभने दुखाइले काममा, सोचविचारमा एकाग्रता भंग गर्छ । सबै महिलालाई यस्तो अनुभव हुन्छ, तर केही गर्नै नसक्ने भने होइन, अलि बढी कष्ट गर्नुपर्ने हुन सक्छ । पिएमएस सम्बन्धी कष्टबाट मुक्ति पाउने सर्वोत्तम उपाय भनेको जीवनशैली परिवर्तन गर्नु हो । यसका लागि नियमित आधा घन्टा व्यायाम गर्ने, राति ८ घन्टा सुत्ने, धूमपान नगर्ने, अल्कोहल सेवन नगर्ने र समयमा सन्तुलित भोजन गर्नुपर्छ । भोजनमा फलफूल, हरिया सागसब्जी र खाद्यान्नको मात्रा बढी र नुन, चिनी, क्याफिन र अल्कोहलको मात्रा भने सकेसम्म न्यून हुनु उत्तम हुन्छ । तपाईंको दैनिक जीवनयापनमा पिएमएसले असर पारे, डिप्रेसन वा एन्जाइटीका लक्षण देखिए चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ । यसभन्दा पनि गम्भीर अवस्था मानिने पिएमडिडी (प्रि–मेन्स्ट्रअल डिस्फोरिक डिस्अर्डर) भए उपचार नै गर्नुपर्ने हुन्छ । –वेबएमडी