मधु शाही
काठमाडौँ, ३० जेठ – टेलिभिजनमा अरू दर्शक सिरियल हेरेर कथावस्तुको मूलभावमा रमाउँथे । श्वेता खड्का चाहिँ अभिनेत्रीले कुन रंगको कस्तो डिजाइनको पहिरन लगाइन् भन्नेतिर आँखा लाउँथिन् । ‘फेसन स्टाइल नियालेर मात्रै चित्त बुझे त हुन्थ्यो नि,’ श्वेता सम्झिन्छिन्, ‘मन परिहाल्यो भने त्यस्तै लुगा चाहियो भन्दै बाउआमासित ढिप्पी कस्थें ।’
फिल्मी करिअर सुरु नगर्दादेखि नै श्वेता ड्रेसअपको मामलामा चुजी नेचरकी थिइन् । अहिले करिअरको पिक आवरसम्म आइपुग्दा पनि उनलाई यो लतले छोडेको छैन । ‘लुगाको मामिलामा म अलिक अप्ठ्यारी नै छु,’ उनी निर्धक्क भन्छिन्, ‘जस्तो पायो त्यस्तै लगाएर हिँड्ने बानी छैन ।’ यहाँसम्म कि डिजाइनरले तयार पारिसकेको ड्रेस समेत श्वेताले चित्त नबुझेर धेरैपटक फिर्ता गरिदिएकी छन् । क्याजुअल ड्रेसको सन्दर्भमा भने श्वेता खासै चुजी हुँदिनन् । पार्टीवेयर वा कुनै विशेष कार्यक्रमका लागि छनोट गरिएका पहिरनमा भने अरूभन्दा भिन्न देखिन चाहन्छिन् उनी । ‘भीडमा अरूले भन्दा फरक लुगा लगाउँदा क्याची भइन्छ,’ उनको अनुभव छ ।
सेलिब्रेटी लाइफले उनको यो बानीलाई झनै महत्त्व दिन बाध्य बनाएको छ । वेस्टर्न गाउन लगाउन मन पराउने श्वेताको चुजी बानी फेसन डिजाइनर रोजिना श्रेष्ठलाई राम्रोसँग थाहा छ । दीपाश्री निरौला, वर्षा राउत, कुञ्जना घिमिरे, मेलिना मानन्धर, रूपा राणा, स्वस्तिमा खड्का लगायत सेलिब्रेटीका पहिरन डिजाइन गर्न जति सजिलो लाग्छ रोजिनालाई श्वेताको बनाउन त्यति नै हम्मेहम्मे पर्छ । ‘श्वेतालाई चित्त बुझाउन गाह्रै छ,’ उनी भन्छिन्, ‘२० वटामा बल्लतल्ल एउटा डिजाइन मन पराउँछिन् ।’ तर, जुन पहिरन छनोट गर्छिन् त्यो निकै बोल्ड र सुन्दर देखिने रोजिनाको अनुभव छ । अचेल भने डिजाइनर रोविन परियारको ड्रेस क्रिएसन मनपर्न थालेको श्वेता बताउँछिन् ।
पहिरन छनोटमा चुजी नेचर भएकी अर्की सेलिब्रेटी हुन्, माल्भिका सुब्बा । मिडिया पर्सनालिटी भएर पनि होला, उनको व्यक्तित्वमा पहिरनले खास महत्त्व राख्छ । केही समयअघि मिस नेपालको ग्रान्ड फिनाले हेर्न आएकी माल्भिका पूरै फ्लोरी गाउनमा सजिएकी थिइन् । धेरैजसो नेपालमै डिजाइन गरिएका पहिरन लगाउने माल्भिकाले यो पटक भने हङकङबाट मगाइन् ।
‘पवन लिम्बूको डिजाइन हो, हङकङबाट मगाएकी,’ उनले भनिन्, ‘गर्मीमा प्रिन्टेड लुगा सुहाउँछ पनि ।’ माल्भिकाले बाहिर कतै जानुपर्यो भने अगाडिदेखि नै पहिरन कस्तो लगाउने निर्णय गरिसकेकी हुन्छिन् । यदि त्यसो गर्न भ्याइनन् भने कुन लगाउने कुन नलगाउने भद्रगोल नै हुन्छ । सारी लगाउने सन्दर्भमा उनी घण्टौं कन्फ्युजनमा पर्ने सुनाउँछिन् । ‘सारी यसै त गाह्रो हुन्छ लगाउन,’ उनी भन्छिन्, ‘बिहे पार्टीमा सारी लाउनुपर्यो भने तनावै हुन्छ ।’ सारीमा माल्भिका खास गरी पाताली देखिन चाहन्छिन् । त्यही अनुरूप कस्तो सारी लगाउनेबारे छुट्याउन खोज्दा झन्डै दुई घण्टा समय लाग्ने उनको अनुभव छ ।
नायिका रिमा विश्वकर्माले अनुभवमा ड्रेसअप चुजी नेचर प्रोफेसनले ल्याएको बताउँछिन् । उनका अनुसार छोरी मान्छे त्यसैमा पनि यत्तिकै सेलेक्टिभ नेचरका हुन्छन् । सेलिब्रेटी भएपछि बेग्लै लुक्स दिने प्रयत्न हरेक पटक गर्नुपर्छ । पहिरनअनुरूप कपाल, मेकअपमा समेत उनले आफू चुजी नै रहेको सुनाइन् । तर, रोजाइको चक्करमा उनी ब्रान्ड कन्सियस भने हुन चाहदिनन् । आफूलाई सुहाउँदो छ भने लगाइहाल्ने रिमाको बानी छ । ड्रेस डिजाइन गर्नुभन्दा अघि रिमा थेरैपटक स्वाध्ययन गर्छिन् ।
बनाइसकेपछि रिजेक्ट गर्नु उनलाई मन पर्दैन । ‘त्यसैले बनाउनुभन्दा अघि नै डिजाइनमा क्लियर हुन्छु,’ उनी भन्छिन्, ‘सकेसम्म आफ्नै रोजाइमा डिजाइन गर्न दिन्छु ।’ त्यसमा डिजाइनरको सल्लाह त उनी हमेसा लिएकै हुन्छिन् । उनका अनुसार डिजाइनरको दृष्टिकोण दूरदर्शी हुन्छ । त्यसैले कहिलेकाहीँ उनीहरूकै च्वाइसमा चित्त बुझाउन पनि पर्छ ।
रिमालाई अलि एलिगेन्ट शैलीको पहिरन लगाउन मनपर्छ । चलिआएको फेसन ट्रेन्ड फलो नगर्ने त कुरै भएन । इन्टरनेसनल फेसन स्टाइल पनि फलो गर्ने रिमा कतिपय अवस्थामा आफू बसेको समाज र परिवेश अनुकूल छ कि छैन, ध्यान दिनैपर्ने बताउँछिन् । ‘चुजी छु भन्दैमा एक्स्ट्रा अर्डिनरी हुन सक्दिनँ,’ उनी भन्छिन्, ‘समाजले पचाउने खालका पहिरन छनोट गर्छु ।’