लघुकथा
शिवशरण ज्ञवाली
उसैले भाइ भनेपछि हामी दाइभाइको नातामा गाँसियांै । नवीन नातापछिको पहिलो भेटमा उसले आत्मीयताको तर बेवास्तापूर्ण हात पनि मिलाएको थियो । त्यसैको भोलिपल्ट, जिल्ला प्रशासनमा सिडियोलाई धम्काएकै भरमा सबै काम तमाम गर्दा म उसकै साथमा थिएँ । केही दिनमा पार्टी सदस्यता दिदैं ‘भाइ मेरा पछि लाग्नु, सबै राम्रो हुन्छ ।’ भनेपछि त म उसको छाँया जस्तै बन्न पुगे । अब उसका आदेश र निर्देशनहरु म मार्फत तल जान थाले । ‘आफूभन्दा उपल्लो पोष्टमा बसेकाहरुलाई सर नभनेर दाई भन्नुपर्ने र पार्टीको नमस्कार गर्नुपर्ने’ नियम पनि म गवाँरलाई उसैले सिकायो । शहरमा बसे पनि गाउँको पार्टी कमिटीमा उसकै निगाहले अध्यक्ष बनियो । गाउँका मूद्दा उठाएर बार्गेनिङ् गर्ने, आफूले भनेअनुसार भयो भने सम्झौता, नभए आन्दोलन ! मैले गरिखाएकामा ऊ सन्तुष्ट थियो । शहरमा अतिथि र गाउँमा प्रमुख अतिथि मेरो मान भयो । उसैले नै मलाई चुनावको जिल्ला प्रचार संयोजक तोक्यो । ठाउँठाउँमा बुथ क्याप्चर गरेर एकलौटी मत पनि खसालियो । विपक्षी दुई चार जनालाई भीरबाट पनि लडाइयो । चुनाव जितेपछि किटानी दिनेहरु हाम्रै भए । मेरो भाग्यविधाता मन्त्री भए पछि शुभकामना बधाई तथा भाषणभुषणमा म पनि गनिन थालें । मन्त्रीले जिल्लाको लोकप्रिय नेताको हत्याको कडा भत्र्सना र दोषीलाई कानुनको दायरामा ल्याउन माग गर्दै आसन्न चुनावमा शोकलाई शक्तिमा बदल्ने सन्देश सहितको वक्तव्य दियो । अनि मलाई बार्गेनिङ्, आन्दोलन र सम्झौता, चुनाव, बुथ क्याप्चर र जित, शुभकामना, आसन ग्रहण र भाषण, स्वागत, बिदाई र निन्दा(भत्सर्ना आदिआदि जनताकै काममा लाग्न निर्देशन पनि । नभन्दै यसपालिको चुनावमा लोकप्रिय नेताको शोकलाई शक्तिमा बदल्ने जिम्मेवारी मेरै काँधमा आयो !
(धवलागिरी बहुमुखी क्याम्पस बागलुङ बजार)