खेमराज पोखरेल
कोठामा आएर फुत्त ब्याग फालेँ । डङ्रङ्ग ओछ्यानमा पल्टिएँ । बुढ्यौलीले छोएछ क्यार अलि थकाइ लागेजस्तो भएको छ । यात्रा मनमोहक थियो । आरामदायी थियो । सुखद थियो । तैपनि किन यो शरीर त्यसै त्यसै थाक्छ होला । किन मनका जीजिविषाहरू उकाली र ओराली गरेर थाक्दैनन् होला । कडा कालो कफी हातमा लिएर थकाइ मेटाउन खोज्दैछु । मन सम्झँदै छ बागलुङलाई । अझै रमाउँदै छ काली गण्डकीको कलकलमा । हिमालमा । हरिया पाखामा । पखेरामा ।
२०७४ साल जेठ महिनाको तीन गतेको रात । यी रातहरू सधै आउँछन् । जान्छन् । उस्तै आउँछन् र उस्तै जान्छन् । म भनेँ रातै पिच्छे अलग अनुभुति लिएर सुत्छु । कहिले के ले कहिले केले मेरो निद खाइदिन्छ । आजको रात मेरो उच्छवास उर्लेर आएको छ । या’ने फुर्किएर रमाउँदै छ ।
बाग्लुङ जाने कार्यक्रम । नेपाल इतिहास सङ्घको कार्यक्रम थियो त्यो । राष्ट्रिय गोष्ठी थियो त्यो । म कार्यकारी सदस्य भएकाले पनि जानु पथ्र्यो वा रहरे भएकाले पनि जानु थियो । आखिर घुम्ने रहर जब्वर हुन्छ नि ।
उफ ! काठमाडौँमा प्रज्ञा प्रतिष्ठानले जेठको ५, ६, र ७ तीन दिने साहित्यिक कार्यक्रमको निम्तो दिएको थियो । यसैबेला । यही मुहूर्तमा । जाऊँ कि नजाऊँ भएको थिएँ । त्यसैले मेरो रात अरू रातभन्दा फरक भएको थियो । दुइटा राम्रामा एउटा छान्नु पर्दाको पीडामा थिएँ म ।
सम्झिएँ । २०४७ सालमा म बागलुङ पुगेको रहेँछु । तिनताक म पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउथेँ । बाटो बनेको थिएन । हिँडेरै पोखराबाट नाउडाँडा, फलेबास, कुस्मा हुँदै बागलुङ पुगेको थिएँ । बलेवा परतिर एउटा कलेजमा पूर्णप्रकाश नेपाल यात्री प्रिन्सिपल हुनुहुन्थ्यो । त्यहीँ बास बसेर भोलिपल्ट उहाँलाई लिँदै बाग्लुङ पुगेको थिएँ । नेपाल प्राध्यापक संघको चुनावको मतपत्र लिएर गएको थिएँ ।
मैले दायित्व सम्झेँ । रहरले जिद्दी गर्यो । फेरि बागलुङ हेर्ने जीजिविषा पलाएर आयो । ४ गते बिहान म लागेँ कुम्लो कुटुरो बोकेर बागलुङको यात्रामा कलङ्कीतिर । कलङकीमा ६.३० मै पुगेँ । ८ बजे गाडी आयो । रातो गाडी । एसी गाडी । गाडी कुद्यो । गाडीमा न झ्याल, न खुल्ने ढोका । हामी झ्यालबाट पानीका बोतल, कुरकुरेका खोल फुत्त बाहिर फालेर सभ्य ठान्ने बानी परेकालाई त अप्ठ्यारो परेकै थियो । तर हाम्रो अप्ठ्यारो त्यो एसी गाडीले बुझे मारिदिनु ।
गाडी गुडिरहेको थियो ।
गाडी हुइँकिएको थियो । मुग्लिन । मुग्लिनमा भात खानु पथ्र्यो । गाडी अडिन मानेनँ । मस्र्याङदीको पहिरोले गाडी थुनियो । खोइ गाडीले कति तेल खाएको थियो कुन्नि, ऊ भोकाएको थियो थिएन थाहा भएन तर हामी भने भोकाएका थियौँ । बल्लबल्ल खैरेनी काट्यौँ । खैरेनी पारि थकालीको होटलमा कोचीकोची भात खायौँ । लाग्दथ्यो हामीले धेरै दिनदेखि भात खाएका छैनौँ ।
स्थानीय चुनावको रन्को थियो । नतिजा आइरहेको थियो । रुख र सूर्य प्रतिस्पर्धामा थिए । एकजना प्राध्यापक बाटोका घरमा देखिने रुखका झन्डाहरू देखाउँदै चिच्याउनु हुन्थ्योः ‘ऊ ओली, ऊ ओली ओली, ऊ ओलीको…’ यस्तै यस्तै । उहाँको आशय रमाइलो मात्र थिएन । त्यो गाडीमा भएका प्रगतिशीलहरूलाई होच्याउनु थियो । हियाउनु थियो । अहिले अर्कालाई होच्याएरै रमेको छ नेपालको राजनीति । हियाएरै ठालु भएको छ । सायद यो एउटा पीडा थियो मेरो लागि । कहर थियो मेरो लागि । तर म चुप थिएँ । कहिलेकाहिँ त लाग्छ, हामी पनि के प्राध्यापक होला ? गाडी सुस्तरी पोखरा, हेम्जा, लुम्ले र पाउँदुर हुँदै काँडे पुगेको थियो । काँडे पुग्दा सेतो बादल खोँचहरूमा रुमलिइरहेको थियो । मेरो मन ती हावाको श्वेत पङ्खमा उड्न चाहेको थियो । अहा क्या सुन्दर प्रकृति । हावाका झोँकाहरूले ती बादलहरू हाम्रा गोडामुनि हिँडाइरहेको थियो । टिपेर खल्तीमा हालूँ झैँ भएको थियो । तर तत्क्षण नै सम्झेँ । ती सुन्दर श्वेत पङ्खभित्रको जिन्दगि । त्यहाँभित्रको कहर । त्यहाँभित्र काठामाडौँले गरेको विभेद । र पनि हाँसेर बाँचिरहेको जीवन । त्यो बादल र जीवन दुइटैलाई सलाम गरेँ । र पनि गाडी अघि बढेकै थियो ।
कुस्मा बजार पुग्दा ठुलो साँझ परिसकेको थियो । अहो यो कुस्मा त कस्तो सुम्लिए छ । कति सुन्दर भएछ । मैले केटाकेटी देखेको यो कुस्मा त तरुनी भएछ । तन्नेरी भएछ । आच्या कति सुन्दर, हेरिरहूँ जस्तो ।
बागलुङ पुग्दा निस्पट्ट रात परेको थियो । कुस्मापछिका बाटाहरू अँध्यारोका गल्छेँडाहरूमा हराएका थिए । कालीगण्डकी पनि यहीँ कतै थियो होला । अन्धकारले निलेको थियो । बागलुङका स्थानीय आयोजक धौलागिरी कयाम्पसका क्याम्पस प्रमुख श्रीरामप्रसाद उपाध्याय तथा अन्य साथीहरूले हामीलाई होटेल पिस प्यालेस पुर्याउनु भएको थियो । एउटा कोठामा बस्नु पर्ने । मेरा साथी हुनुहुन्थ्यो चितवनका डा. राजेन्द्र रेग्मी । उहाँ चितवनको, म काठमाडौँको । उहाँ प्रजातान्त्रिक म प्रगतिशील । प्राय सबैजसो कार्यक्रममा हामी सँगै हुन्छौँ । खोइ किन मिल्छौँ कुन्नि । कोही प्रजातान्त्रिक र प्रगतिशील त छोइछिटा गर्छन् । यति व्यङग्य गर्छन् मानौ उनीहरू व्यङ्ग्य गरेरै आत्मतुष्ठि गर्छन् । म र डाक्टर रेग्मी किन यति मिलेका हौँला । कोठामा पुग्यौँ । स्थानीय चुनावको नतिजा आउँदै थियो । तर हाम्रा दृष्टिकोणहरू समान थिए । खोई प्राज्ञिक हुन सक्यो भने यस्तो हुन्छ कि ।
बिहानै हिँडेर, आआफ्नै तालमा बागलुङ कालिकाको दर्शन गर्न गइयो । डा. रेग्मी र म सँगै । अहा कति सुन्दर हो यो ठाउँ । सफा थियो । स्निग्घ थियो । सुन्दर थियो । हरियो वनको माझमा मन्दिर चम्किरहेको थियो । वनमारा राजनीतिको जगजगीमा पनि यो बागलुङले वन जोगाएको थियो । काठमाडौँमा श्वास फेर्न गाह्रो परेका हामीलाई यो ठाउँ स्वर्ग भएको थियो । मैले लामो लामो श्वास फेरेँ । कहीँ कतै अबरोध थिएन । सर्र श्वासले मेरो फोक्सो छोयो र फोक्सो रमायो । धन्य छ यो बागलुङ, धन्य छिन् यी कालिका ।
नेपाल इतिहास संघको गोस्ठी होटेल पिस प्यालेसकै सभाहलमा सुरु भएको थियो । फ्लेक्स बोर्डमा प्रवर्धक नेपाल पर्यटन बोर्ड, आयोजक इतिहास शिक्षण बिभाग धैलागिरी बहुमुखी क्याम्पस बागलुङ, सहयोग विश्वविद्यालय अनुदान आयोग, आयोजन त्रिवि केन्द्रीय बिभाग र नेपाल इतिहास संघ लेखिएको थियो ।
बागलुङका सबैले काका मान्ने पूर्व राज्य मन्त्री ओमकार प्रसाद गौचन, सांसद रत्ना शेरचन, क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय, इतिहास संघका पूर्व अध्यक्ष प्रा.डा. कृष्ण बहादुर थापा, वरिस्ट साहित्यकार प्रेम छोटा, सांसद चम्पा खँड्का, आदिको विशेष आतिथ्य तथा सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सभापतित्व नेपाल इतिहास संघका अध्यक्ष प्रा.डा. सुरेन्द्र के.सी.ले गर्नु भएको थियो । मन्तव्यमा राजादेखि जनतासम्मको बागलुङको इतिहास लेखिनु पर्ने, विदेशिएका नेपालीलाई नेपाल भित्र्याउनु पर्ने प्रसंग उठाइएका थिए ।
हिसानको जर्नल बिमोचित भएको थियो । चितवनका डा. राजेन्द्र रेग्मीद्वारा लेखिएको चितवनको कम्युनिस्ट पार्टीको इतिहास नामक पुस्तक पनि विमोचित भएको थियो । मन्तव्य राख्ने क्रममा प्रा.डा. कृष्ण बहादुर थापाले इतिहासका निर्माता, देश निर्माता पृथ्वी नारायण शाहलाई करौँती लाउने हो भने कसलाई फाइदा हुन्छ भन्ने प्रश्न गर्नु भएको थियो । उपकुलपति प्रा. भुषण श्रेष्ठले नेपाललाई मेचीदेखि महाकाली मात्र नभनौँ, महाकाली पारी पनि नेपाल छ, त्यहाँ पनि नेपालीको पीडा छ भन्नु भएथ्यो । दर्शकदीर्घामा एकजना प्राध्यापक भन्दै हुनुहुन्थ्योः ‘मेची महाकाली नदी भनेकै होइन, मेची र महाकाली अन्चल भनिएको हो’ । काकालाई त्यो भेगको इतिहास र संस्कृति कन्ठै । एकजना बागलुङे साथी भन्दै हुनुहुन्थ्योः “यी काकासँग धेरै सामग्री छ । तर कसैलाई दिँदैनन्” । मैले मजाक गरेँथेँः “हाम्रा ऋषिमुनिको ज्ञान त गोप्य मन्त्र थियो नि” ।
र पहिलो सत्र सकिएको थियो । इस्युजहरू प्रशस्तै उठेका थिए । शौम्य थियो प्रस्तुति । आश थियो संस्कृति जगेर्नाको ।
अब कार्यपत्रहरूको पालो थियो । सहप्राध्यापक डा. दिन बहादुर थापाले नेपाली भाषाको इतिहासलाई बागलुङलाई केन्द्र मानेर सरस प्रस्तुत गर्नुभएको थियो । यसैगरी श्रीविष्णु प्रसाद शर्मा आत्रेयले बागलुङको एतिहासिक सम्पदाका बारेमा विवेचना गर्नुभएको थियो
धौलागिरी बहुमुखी क्याम्पसका अर्थशास्त्रका सहप्राध्यापक डा. सुदर्शन सिलवाल धबलागिरीको पर्यटन प्रवर्धनमा रमाउनु भएको थियो कार्यपत्रमा । पर्यटनका लागि खानी, जलसम्पदा, जैविक विविधता, तीर्थयात्रा, पदयात्रा, संस्कृति र एतिहासिक स्थल, ढोरपाटनलाई चिनाउँदै हुनुहुन्थ्यो । यता म भने काली गण्डकीको कलकलको कल्पना गर्दै सभाहलको झ्यालबाट देखिने शौम्य धौलागिरी हिमालको आनन्दमा रमाएको थिएँ । त्यो हिमाल सेतो स्फटिक जस्तै थियो । सुन्दर थियो । र मलाई लागिरहेको थियो यो हिमाल मलाई स्वागत गर्दै छ । बिनाछेडखान बिनापक्षपात स्वागत गर्दै थियो ।
यता प्रा.डा. सुरेन्द्र के.सी. कार्यक्रम समापन गर्दै हुनुहुन्थ्यो । जादुमयी वक्ता । जादुमयी समापन गर्दै हुनुहुन्थ्यो । भेउ पाउनै मुस्किल ।
कार्यक्रम सकिने बित्तिकै त्यही सभाहलमा मेरो एकल लघुकथा वाचन कार्यक्रम राखिएको थियो । मलाई एकघन्टा समय दिइएको थियो । कार्यक्रम सुरु हुँदा त्यो समय आधा घन्टा भइसकेको थियो र म मन्चमा पुग्दा उदघोषक मित्र भन्दै हुनुहुन्थ्यो बीस मिनेट । त्यहाँ बागलुङका विशिष्ट साहित्यकार प्रेम छोटाको सभापतित्व थियो । काजी रोसन, लालचन्द्र राजभण्डारी लगायत धेरै बागलुङे साहित्यकार हुनुहुन्थ्यो । मैले फ्लेक्समा हेरेँ । ब्यानर राम्रो थियो । आयोजक प्रेम छोटाकै संस्था रत्न श्रेष्ठ पुरस्कार गुठी थियो । म लघुकथा वाचन गर्न थालेँ । फ्लोरबाट आवाज आयो । कोही अरू अरू भन्दै हुनुहुन्थ्यो भने कोही भयो भयो भन्दै हुनुहुन्थ्यो । जमेन । जम्दै जमेन । म छक्क परेँ । लघुकथा वाचन गरूँ कि नगरूँ भएँ । बडो कष्टले सकेँ । बागलुङका प्रशिद्ध साहित्यकार काजी रोसनले मन्तव्य राख्नु भएको थियो ।
म सोचिरहेको छु । म खुसी भइनँ यो आफ्नै कार्यक्रमबाट । उफ मैले किन यो लघुकथा वाचनको कार्यक्रम यहाँ गर्न मानेको होला ? यद्यपि मेरो सोच प्रेम छोटाकै पुस्तकालयमा केही बागलुङका साहित्यकार साथीहरू सँग बसेर वाचन गरूँ भन्ने थियो । त्यो मैले गर्न पाइनँ । र कहिलेकाहिँ लाग्छ मलाई । किन म नदुखेको टाउको डोरीले बाँधेर दुखाउँछु कुन्नि ।
सायद प्राध्यापक साथीहरूको हुटिङ ठिक थियो होला । बिहानैदेखि कार्यक्रममा बस्ता बस्ता बोर हुनुहुन्थ्यो होला । इतिहासका गर्त गर्तभित्र पसेर ज्ञानको ज्योति फिँजाएर बागलुङलाई सुभाषित पार्नु भएको थियो होला र दिमागले आराम मागेको थियो होला । वा इतिहास विज्ञ प्राध्यापकहरूलाई साहित्यमा रुची थिएन होला । यति जाबो कुरा पनि मैले नबुझेर किन पो लघुकथा वाचन गर्न तम्सिएँ होला ? अहिले सम्झिँदा आफैँ उदास भएको छु । तर पनि केही प्राध्यापक साथीहरूले र बागलुङका साथीहरूले भने लघुकथा वाचनको कार्यक्रमबाट आनन्दित भएको कुरा भन्दा मैले अलिकति राहतको श्वास फेरेको छु । मलम लगाएको छु । धन्यवाद छ मित्रहरू, मैले चिनेका नचिनेका साहित्यकारहरू । म जुनी जुनी आभारी भएको छु । मेरो मन बतासिएको बेला यहाँहरूको शुभवाणीले शान्त भएको छु । मलाई वरिष्ट साहितयकार प्रेम छोटा भन्दै हुनुहुन्थ्योः
‘तपाईँका लघुकथाहरूले मन छोए’
यो सुन्दा म पुलकित भएँ ।
तैपनि एउटा कुरा दिमागमा आइरहन्छ । प्राध्यापकको हुटिङलाई बागलुङे साथीहरूले साँच्चि के ठान्नु भयो होला ? मेरा कर्कस स्वरबाट उब्जिएको तलमाथिलाई माफ गरिदिनु होला साथीहरू । यसको कारक म थिएँ । म आत्मादेखि नै क्षमा माग्छु । मलाई क्षमा गरिदिनु होला, बागलुङका साथीहरू । काठमाडौँका साथीहरू । नेपालका साथीहरू । मैले त्यो कार्यक्रम त्यहाँ गर्न हुन्नथ्यो । पक्कापक्की गर्न हुन्नथ्यो ।
अर्को दिन बिहानै गलकोट दरवारको यात्रा । बाटोमा भिउ टावर थियो । सायद बिहुडाँडा भन्थे कयार । ऐसेलुका झ्याङहरूमा बलिया बाङ्गा साथीहरू ऐसेलु टिप्दै हुनुहुन्थ्यो । यो ठाउँ त स्वर्गको द्वार जस्तो लाग्यो । तल बेँसीमा किरिङमिरिङ बाटाहरू मनमोहक देखिन्थे । फाँटका गह्राहरूले मेरो मनलाई तानिरहेका थिए । घुम्टेको लेक र गाजाको लेक ‘हामीभन्दा कोही अग्ला छौ ?’ भनी शंखनाद गरिरहेका थिए । माओवादी द्वन्द्वकालमा यो घुम्टेको लेक यातना शिविर थियो भन्दै थिए साथीहरू । तल खोँचमा हटिया नामको बजार चम्किरहेको थियो । चिसो हावाको सररमा मन नरमाउने कुरै थिएन । घुम्टे र गाजा लेकको खोँचमा गलकोट दरवार छ ।
दरवारको आँगनमा पुगेपछि गलकोट बहुमुखी क्याम्पसका प्राध्यापक गलकोटको इतिहासका विज्ञ श्रीकृष्ण प्रसाद गौतम दरवारको आँगनको डीलमा उभिएर गल्कोट राज्यको इतिहास बताउन थाल्नु भयो । ठुलो च्याप्टो ढुङ्गा रहेछ । त्यही ढुङ्गोमा बसेर मुद्दाको फैसला गरिन्थ्यो । गलकोटका राजाहरूले नेपाल सरकारबाट भत्ता पाइरहेका थिए महिनाको २५० । अन्तिम गलकोटे राजा माधव बम मल्ललाई दरवारको सुत्नेकोठाबाट बाहिर ल्याएर एकजनाले कुरा गर्दैगर्दा अर्काले घनले पछाडिबाट हिर्काएर मारेका थिए रे बैसाख १, २०५९ मा । माओवादी द्वन्द्वकालमा । २००७ सालमा प्रजातन्त्रको आन्दोलनमा वीरगन्जमा सहादत प्रापत गर्ने थीर बम मल्ल यसै कुलबाट थिए रे । इतिहासका पानाहरू पढाउँदा फेला परेका यी वीर थीर बम मल्ल प्रति शिर झुकाएर नमन गरेँ गलकोट दरवारमा उभिएर । म साँच्चि भावुक भएको छु । प्रजातन्त्रको लागि लड्ने मात्र होइन आफूलाई प्रजातन्त्रसँग साट्ने वीर थीर बम मल्लका सन्तानलाई घन ठोकेर मार्ने ? के यो नेपाल साँच्चि सतीले सरापेकै देश हो त । गलकोटे राजा त नाम मात्र थियो । सायद एउटा स्कुलको शिक्षक थिए उनी । मानवीयता दानवीयतामा परिणत भएझैँ लाग्यो मलाई । मन एकदमै उदाश भयो । रिसले पिच्च भुईँमा थुकेँछु । त्यही दरवारको आँगनको मुद्दा फैसला गर्ने ढुङगोमा उभिएर विह्वल भएँछु ।
गलकोट अहिले नगरपालिका भएर फुर्किएको रहेछ । सायद अन्तजस्तै यो गलकोटलाई पनि लागिरहेको होला । कि ऊ अब ठूलो भएको छ । ऊ सभ्य भएको छ । हटियाकै रोयल गोर्खाज होटलमा खाएको खानाको स्वाद, अहा । खानापछि कृष्ण प्रसाद गौतमले गलकोट क्याम्पस लैजानु भयो र स्वागत गर्दै पाकेका पहेँला स्थानीय केरा खुवाउनु भयो । त्यो आतिथ्यता सङ्ख्यामा होइन, गुणमा अब्बल थियो ।
फर्केर बागलुङ आएपछि फेरि हाम्रो गोस्ठी सुरु भयो । पहिले एउटा कार्यपत्र थियो गलकोट राज्यको इतिहास कृष्णप्रसाद गौतमको । उहाँ पुर्ण तन्मयका साथ गलकोट राज्यको इतिहास बताउँदै हुनु हुन्थ्यो । पर्बतका राजा प्रतापि नारायणले आफ्ना जेठा छोरा जितारी मल्ललाई अंस दिएका थिए गलकोट राज्य बिक्रम सम्वत १६३१मा । यानेकि स्वतन्त्र राज्यको रूपमा गलकोट राज्य १६३१ मा जन्म्यो र गण्डकी क्षेत्रको चौविसे राज्यमा गणना हुन थाल्यो । उनीपछि क्रमैले पार्थिव मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र अन्तिम राजा जगतबम मल्ल राजा भएको कुरा सुनाउनु भयो । विस.ं १८४४ को जेठ महिनामा गलकोट नेपाल राज्यमा विलय भयो । उनीहरूकै सन्तानहरूले काठमाडौँ गई राजाको चाकरी गरेकाले उनीहरूलाई बिर्ता प्रदान गरेको कुरा पनि भन्दै हुनुहुन्थ्यो ।
हालको दरवार भनिएको घर चाहिँ १९९० मा हरिचौरमा बनाइएको थियो भरत बम मल्लबाट । भरत बम मल्ललाई सरकारले रु. २ सय ५० भत्ता दिँदै आएको थियो । बिसं. १६६१ देखि २०१८ सम्म यो हरिचौर हटिया सदरमुकाम थियो ।
यो सत्र सकिएपछि हामी केही प्राध्यापक साथीहरू साहित्यकार तथा प्राज्ञ प्रेम छोटाको घरमा गयौँ । उहाँले लिएर जानु भएको थियो । म २०४७ सालमा प्रेम छोटाको घरमा पुगेको थिएँ । नेपाल प्राध्यापक संघको मतपत्र बोकेर । प्रेम छोटाको डायरीमा पूर्णप्रकाश यात्रीले लेख्नु भएको थियो । मैले लेखिन छु । त्यो प्रकाशित पो भए छ । मेरो यो ‘निग्लिजेनस’ देखेर अहिले उदेक लागिरहेको छ ।
प्रेम छोटा उहिले केटाकेटीमा नाटक खेल्नु हुन्थ्यो रे । उहाँको नाम प्रेम प्रसाद श्रेष्ठ रहेछ । नाटकमा खेल्ने अर्को मान्छेको नाम पनि प्रेम प्रसाद श्रेष्ठ नै रहेछ । अनि दुवै प्रेम प्रसाद श्रेष्ठहरू मध्ये उहाँ सानो भएकाले ‘छोटा’ उपनामबाट चिनिन थाल्नु भयो । ‘छोटा’ नामबाट नै ‘बडा’ हुनुभयो । कसलाई थाहा थियो र ? नाटक खेल्ने प्रेम छोटा नेपाली साहित्य आकाशमा ‘बडा’ नक्षत्र भएर उदाउने छन् भनेर ।
समापन कार्यक्रम भयो । समापन कार्यक्रममा बागलुङका पत्रकार महासंघका सचिव, साहित्यकार प्रेम छोटा, प्रा.डा. कृष्णबहादुर थापा, ओमकार प्रसाद गौचन, नवनिर्वाचित मेयर जनक पौडेल लगायत अन्य धेरै वक्ताले बोल्नु भएको थियो ।
२०७४ सालको जेठ ७ गते बिहान ५.३० बजे धौलागिरी क्याम्पसका क्याम्पस प्रमुख श्री राम प्रसाद उपाध्यायको चियापानमा क्याम्पस पुग्दा क्याम्पसकै चौरबाट देखिने धौलागिरी हिमालको सौन्दर्यमा मन रमायो ।
त्यसपछि बागलुङकै मास्तिर डाँडामा भर्खरै बनाउँदै गरेको धार्मिक पर्यटकीय स्थलतर्फ हिँडियो । गाडी जान सकेन । अलिकति उकालो हिँड्नु पर्यो । एकघन्टा लाग्यो होला उकालोको स्याँ स्याँ र फ्याँ फ्याँ । अहो कस्तो सुन्दर यो अबस्थिति र बुनोट । कति सुन्दर बनाइएको होला । स्वामी कमलनयनाचार्यको गाँउ पनि रहे छ यो । उनले बनाएको यो भव्य हनुमान, स्थापना गर्न लागिएको ५०५ किलोको घन्ट, ५०५ किलो कै कलस, सिसमहल , कमलनयनाचार्यको तपस्या गर्ने ठाउँ ।
यो ठाउँको नाम पञ्चकोट रहेछ । पुराना राजाको ती थुम्काहरूमा कोट रहेछन् । पञ्चकोटका पाँचबटा अग्ला थुम्काहरूमा ताराजालकोट, कारीकोट, माझ कोट , रारांय कोट र संसार कोट रहेछन् । यो कमलनयनाचार्यको पर्यटकीय धार्मिक स्थल चाहिँ ताराजाल कोटमा रहेछ । यो कोट समुद्र सतहबाट १३६५ मिटरको अग्लाइमा रहेछ । यो स्थलबाट हेर्दा अन्नपूर्ण हिमाल, धौलागिरी हिमाल र माछापुच्छ्रे हिमाल लस्करै देखिए । ती सबै हाँसे । हामी पनि हाँस्यौँ । हाम्रा हाँसोहरू क्यामरामा कैद गरिए । सायद क्यामरा पनि रमायो होला ।
यो पञ्चकोटमा पुगेर बागलुङ बजारलाई हेरेको थिएँ । अहो कति सुन्दर रहेछ यो बजार । एउटा समथर ढिस्कोमा गुजुमुज्ज रमाएको सुन्दर वागलुङ । सुन्दर धौलागिरी हिमालको सुवाशमा हुर्किएको मनोहर सहर ।
दिउँसोको १२.४५.बजेको थियो । टन्टलापुर घाम थियो । बागलुङकै पिस प्यालेसको मिठो खाना खाएर हामी म्याग्दीको बेनीतिर लाग्यौँ । बेनी पनि दुइटा रहेछन् । म्याग्दी बेनी र पर्बत बेनी । हामीलाई गलेश्वर मन्दिर जानु थियो । यसो छ्वास्स म्याग्दी बेनीको छेउ टेकेर हामी गलेश्वर पुग्यौँ । गलेश्वरबाट हाम्रो गाडी पर्बत जिल्लाको काली गन्डकीको तिरै तिर बागलुङको पुलमा उभिएको हाम्रो गाडी भेट्दा बेलुकाको ४ वजेको थियो । मलाई त लागिरहेको थियो । म्याग्दी बेनीमा बसेर तातोपानी पनि जान पाए त । तर लागेको कुरो कहाँ पुरा हुन्छ र ?
गाडीले पर्बतको कुस्मा बजार पुर्यायो । लामा लामा पुल हेर्ने योजना बन्यो । म पछाडि परेँ । त्यसपछि मैले न लामो पुल हेर्न पाएँ । फर्कनँ खोजेको त हाम्रो बस बसेको उल्टो दिशामा पो हिँडिरहेको रहेछु । मोबाइल झिकेर कम्पास हेरेँ । लौ म त उल्टो दिशामा पो छु त । म सोद्धै बस भए नजिक आएँ । रात परिसकेको थियो ।
गाडी पोखरा हानियो । बाटो मै थाहा भयो । लाहानका हाम्रा साथी हिरालाल कर्ण त्रिवि सेवा आयोगबाट उपप्रधयापक पदमा पास भएछन् । रमाइलो भयो । करिब ८ बजे पोखरा पुगियो ।
होटल दिपभ्यालीमा खानेबस्ने ठाउँको व्यवस्था रहेछ । यो व्यवस्था पृथ्वी नारायण कयाम्पसमा इतिहास पढाउने साथीहरू द्वय नारायण ढकाल र डा चन्द्रकान्त पौडेलको सौजन्य रहेछ । यी दुई भाइ मेरा साथीहरू कस्ता होलान्, कत्रो मन होला ? म आश्चर्य चकित भएको छु । हुँदै नहुने मान्छे प्रोफेसर हुँदा पनि एक कप चिया नजुरेको अनुभव छ मेरो काठमाडौँमा । तर यी दुई भाइ सरहरूले मलाई अचम्म पारे । म त्यो मनलाई सलाम गर्दछु ।
आरमदायी बसाइपछि बिन्दवासिनी पुगियो । मन्दिर थप्न थालेछन् पोखरेलीले । मलाई मन परेन । किन नेपालीहरू आफनो मौलिकतामा रमाउदैनन् । त्यसपछि फेवाताल को दर्शन, गुप्तेश्वर महादेबको गुफा, र फेरि गाडी । उही बाटो उही सुन्दरता हेर्दै, उही मस्र्याङ्दी र त्रिसुली हेर्दै काठमाडौँ फिर्दै छु । काठामाडौँतर्फ बाटो सोझिएपछि म सोच्न थालेँ । कस्तो भयो हँ मेरो बागलुङ यात्रा ?
ढाँटेको पनि होइन । फुकर्याएको पनि होइन । म सत्ते सत्ते भन्दै छु । अचम्म स्वागत गर्यो बागलुङले । प्रशासन आयो । प्रहरी आयो । शिक्षा आयो । राजनीतिक कर्मी आए । समाजसेवी आए । साहित्यकार आए । महिला आए । पत्रकार आए । व्यापारी आए । वा यसो भनूँ कि खर्लप्प आयो बागलुङ । हामीलाई मनको रातो तुल ओछ्याएरै आयो धौलागिरी । धौलागिरी हिमाल मस्किएर मलाई मोहनी लाइरहेथ्यो । अन्नपूर्ण मलाई लोभ्याउँदै थियो । माछापुच्छ्ेले पुच्छर हल्लाएर मलाई स्वागत गरिरहेथ्यो । हामीलाई स्वागत गरिरहेथ्यो । र अचम्म मलाई त लाग्यो अझै पाहुनालाई स्वागत गर्ने परम्परा बाँकी नै रहेछ बागलुङमा । धौलागिरीमा ।
तर म भनिरहेछु । पक्का पक्की भनिरहेँछु कि ‘ए बागलुङ, ए धौलागिरी, यो ऋण तिर्ने छैन काठमाडौँले । यो ऋण तिर्ने छैन नेपालले । यो तिम्रो ऋण बुड्यो । डुब्यो । त्यति कृतज्ञ छैन काठमाडौँ । त्यति इमानी पनि छैन । ऊ हुँडार हो । ऊ सबै आफै खाऊँ भन्छ । आफैँ लाऊँ भन्छ ।’
तर पनि म तिर्न पाए हुन्थ्यो भन्छु । तर कसरी तिर्नु र ? । म तिमीलाई सम्झेर विह्वल भएको छु वागलुङ । वागलुङ बजार । धौलागिरी । गलकोट । पञ्चकोट । थुम्काहरू । बेनी । गलेश्वर । काली गण्डकी ।
र म नबिर्सने बाचा गर्न पनि सक्दिनँ बागलुङ । म पक्का पक्की बिर्सने छु । बिर्सन चाहेर वा नचाहेर पनि बिर्सने छु । र पनि रामप्रसाद चिफ सर, तपाईँलाई र तपाईँका सहयोद्धाहरूलाई त कहाँ बिर्सौँला र ? होटलभित्र खाएको मिठो खाना त कहाँ बिर्सौँला र ? घनले हानेर मारेको त्यो गलकोट दरवारको ढुङ्गो कहाँ बिर्र्सौँला र ? बिहु डाँडा बाट देखिएको स्वर्ग त कहाँ बिर्र्सौँला र ? कलकल बग्ने काली गण्डकीलाई कसरी बिर्साैँला र ? कालिकाको वन कसरी बिर्र्सौँला र ?
धन्य छ यो नेपाल इतिहास संघ । हामीलाई घुमाइरहन्छ । पढाइरहन्छ । सिकाइरहन्छ । रमाउन लगाउँछ । र पनि म खुसुक्क डा. ढाकालाई भन्दै थिएँ । छेउमा डा. गोपाल धौबन्जार पनि हुनुहुन्थ्यो
‘हाम्रा अग्रजहरूले जन्माउनु भएको छ यो नेपाल इतिहास संघ । यो गौरव हो हाम्रो । यो सकिएला । यो भातृ संगठन बन्ला । म त पहेँलो पात हुँ । झर्नै लागेको । ख्याल गर्नुस् । यो बाँचोस्’
झल्याँस्स भएँ । थानकोट आइसकेको थियो । र काठमाडौँ मलाई पर्खिरहेको थियो । पुग्ने बित्तिकै भन्यो ‘आउनु पर्दो रहेछ त ?’
२०७४÷२÷१४
धापासी, काठमाडौँ