राष्ट्रको महत्वपूर्ण चाड वा पर्व पारेर हरेक वर्ष राष्ट्रले राष्ट्रिय जीवनका विविध पक्षमा महत्वपूर्ण योगदान पुराएका व्यक्तिहरूलाई सम्मान गर्ने चलन हामीकहाँ धेरै पहिलेदेखि नै चल्दै आएको छ । पहिले पहिले राजाको जन्मोत्सवको अवसरमा यो सम्मान घोषणा गरिन्थ्यो र वितरण गरिन्थ्यो । विगत अहिले फेरिएको छ र यो सम्मान गर्ने दिन गणतन्त्र दिवस भएको छ । गणतन्त्रको मौलिक मान्यता जनताको सामूहिक आत्मनिर्णयको अधिकारको सम्मान हो । नेपालमा गणतन्त्रको घोषणा संविधानसभाबाट भयो र यसको वारेमा धेरै वहस पनि भएका छन । गणतन्त्रको घोषणा गर्दा जनता प्रत्यक्ष सहभागी नभएपनि उनीहरुले चुनेका जनप्रतिनिध र संविधानसभाबाट गणतन्त्रको घोषणा भयो । सोही दिनलाई राष्ट्रले विशेष दिनका रुपमा मनाउदै आइरहेको छ । सोही दिनका अवसरमा महत्वपूर्ण योगदान पुराएका ब्यक्तिलाई सम्मान गर्ने गरिएको छ । यो वर्ष पनि गणतन्त्र दिवसका अवसरमा धेरै ब्यक्ति सम्मानीत भए ।
गणतन्त्र दिवसमा धेरै ब्यक्ति सम्मानित भएपनि सम्मानको तरिकामा भने धेरैमा असन्तुष्टी देखियो र विरोधका स्वरहरु वाहिरिए । राष्ट्रले प्रदान गर्ने विभूषण वितरण शैलीमा आफन्तपन र मरणोपरान्त महान् व्यक्तिहरूलाई तक्मा भिराएर अपमान गर्ने सिलसिलाको निरन्तरता अहिले पनि देखियो । गतवर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मदन भण्डारीलाई नेपाल रत्नपदक प्रदान गरेको थियो भने यसपटक पदक दिने राष्ट्रपति मदन भण्डारीकी पत्नी र थाप्ने उनकी छोरी परिन् । मदन भण्डारी सम्भवतः विलक्षण राजनीतिक कुशलता र सम्भाव्यता बोकेका व्यक्ति थिए, उनले साम्यवादलाई नेपाली माटो र मुटुसँग गाँस्ने प्रयास गरे र सिद्धान्तविहीनताको राजनीतिबाट टाढिने कोसिस गरे । तर यो सम्भावनालाई अगाडि बढाउने क्रममै उनको रहस्यमय हत्या भयो । एमाले सरकारले त्यो हत्याको छानबिन गर्ने हिम्मत गरेन, तर नेपाल रत्न मरणोपरान्त प्रदान गरेर एउटा विवाद उत्पन्न गरयो । त्यसको गहिरो समिक्षा हुनै बाँकी छ ।
वास्तवमा मदन भण्डारी जीवित रहेका भए उनले यो पदक स्विकार्थे या अस्विकार गर्थे, त्यो अलग विषय हो । मदन भण्डारीकोे राजनीतिक विचार जनताको वहुदलिय जनवाद विश्वले पचाएको विषय बनेको छ । उनको हत्यामा पनि यही विचारसंग समबन्धित छ । राष्ट्रियता र प्रजातन्त्रको सहकार्यबिना नेपालको स्वतन्त्र अस्तित्व सम्भव छैन भन्ने बीपी कोइरालालाई पनि भौतिक निधनको ३५ वर्षपछि नेपाल रत्न द्वारा विभूषित गरिएको छ । यसबीचमा नेपाली कांग्रेस स्वयंले पनि बीपीको राजनीतिक हत्या र अपमान पटकपटक गरेको छ । के राष्ट्रले साँच्चै सम्मान गरेको हो त बीपी र भण्डारीलाई अथवा के यो सम्मानबिना उनीहरूको हैसियत र आदर जनताको नजरमा कम थियो ? अथवा दलीय कोटा या दाम्लोमा उनीहरूलाई मरणोपरान्त बाँधेर कतै उनीहरूलाई अपमानित त गरिएको छैन ? भन्ने प्रश्न पनि उठीरहेका छन । राष्ट्रका महत्वपूर्ण ब्यक्तिलाई सामान्यसंग दाजेर एकैपटक विभुषण दिने गलत परम्परा यसपटक पनि दोहोरिएको छ । सम्मानित व्यक्तिहरूको छनोट पारदर्शी नभएसम्म राज्यको ढुकुटीमाथि हरेक वर्ष बोझ नबढाउनु नै राम्रो हुनेछ । राज्य सञ्चालकको ध्यान यता जाओस ।