हरिकृष्ण गौतम,म्याग्दी,२८ वैशाख-उमेरले १०३ बर्षमा प्रवेश गरेकी म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा सातविसेकी आसिमा रोकाले स्थानीय तहको निर्वाचनका बारेमा चासो देखाउँछिन् । दैनिकजसो घरमा भेला हुने समुहको भेला, छलफललाई नजिकबाट निहाल्ने गरेकी रोकाका दुईवटा छोराले गाउँपालिका प्रमुख र वडा अध्यक्षमा उम्मेदवारी दिएपछि चुनावमा मत खसाल्ने इच्छा जनाएकी हुन् । मंगला गाउँपालिका प्रमुखमा नेकपा एमालेबाट छोरा सतप्रसाद र वडा अध्यक्षमा कविन रोकाले उम्मेदवारी दिएपछि चुनावी गतिविधिलाई उनले देखाउने गरेको चासोबाट परिवार समेत उत्साहित छन् । आमाको हातबाट आर्सिरवाद लिएर मनोनयन दर्ता गरेलगत्तै चुनावी अभियानमा होमिएका गाउँपालिका प्रमुखकका उम्मेवार रोकाले १०३ बर्षकी आमाले मतदान गर्ने इच्छा जनाएपछि उत्साहित भएको बताए । ‘उहाँको इच्छा अनुसार मतदानको ब्यवस्था मिलाउने प्रयासमा छौ । परिवारका अन्य सदस्यालाई चुनावका बारेमा दैनिक चासो देखाउनुहुन्छ’ रोकाले भने । सातविसेबाट परिवारले सवारीसाधनको प्रयोग गरेर गाउँमा रहेको महेन्द्ररत्न माविको केन्द्रमा मतदानका लागि लैजाने प्रतिबद्धा समेत ब्यक्त गरिसकेको रोकाको भनाई छ । उनले दुईदशक पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनको रौनकता घरपरिवार देखी गाउँसम्म छाएको अवस्थामा आमाको सक्रियता र चासोले थप उर्जा मिलेको बताए । बृद्धा आसिमाले छोराहरूलाई विजयको शुभकामना दिदैं विजय यात्रामा छोराहरू संगै हिड्ने चाहना समेत ब्यक्त गर्ने गरेको उनले बताए । दुईदशक अगाडी चुनावी गतिविधिमा सक्रिय भएका बृद्धबृद्धाले समेत गाउँबाटै सरकारी सेवासुविधा उपलब्ध हुने चुनावमा आफ्नो मत प्रकट गर्ने परिवारलाई बताएपछि गाउँका समेत उत्साह छाएको छ । सोही गाउँपालिकाको बावियाचौर सल्लानमा बस्ने ९५ बर्षिय टिका बहादुर कार्कीले समेत आफन्तलाई मतदानको ब्यवस्था मिलाउन अनुरोध गरेका छन् । कुनैसमय नेपाली कांंग्रेसबाट बावियाचौर आसपासका क्षेत्रमा सक्रिय रहेका कार्कीलाई कुन पार्टीले जित्छ, गाँउघरमा भइरहेका चुनावी गतिविधि लगाएतका बारेमा जानकारी गराउनुपर्ने उनका आफन्त धन बहादुर कार्कीले बताए । ‘हामीलाई जस्तै उहाँहरूलाई पनि चासो छ, बुढेकालमा पनि चुनाबको महत्व धेरै हुने रहेछ’ कार्कीले भने । विहानै देखी सुरू भएको चुनावी गतिविधिमा ब्यस्त उम्मेदवारले समेत चौरासी गरेका आमाबुबाको आर्सिरवाद लिए चुनाव जितिन्छ भन्दै घरदैलो अभियानको क्रममा बृद्धबृद्धालाई भेट्ने गरेका छन् । बावियाचौर सेरा बस्ने ९० बर्षिय पदम बहादुर खत्री र उनकी श्रीमति कृष्णकुमारीले समेत वडा–२ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छोरा नरसिंह खत्रीलाई मतदानका बारेमा चासो देखाउने गरेका छन् । ९० बर्षमा प्रवेश गरेपनि गाउँका सामाजिक कार्यमा सक्रिय रहेका पदम बहादुरले चुनाबले गाउँको विकासमा प्रवेश पाउने बताए । ‘म पनि एक राजनीतिकर्मी हुँ । चुनाव लोकतन्त्रको सौन्दर्यता हो भन्ने मलाई राम्रोसंग थाहा छ’उनले भने। उनले भावी सन्ततीलाई कुनैपनि दुख नहुने गरी इमान्दार र समाजमा सक्रिय रहेको उम्मेदवारले विजय प्राप्त
गर्नुपर्ने बताए । घर आसपासका क्षेत्रमा हुने चुनावी छलफलमा समेत पुग्ने गरेका खत्रीले स्थानीय निकायको अभावमा भ्रष्ट्रचार मौलाएको, जनताले अनावश्यउक सास्ती खेप्नुपरेको र विकास निर्माणका गतिविधि समेत सहरबजार केन्द्रित भएको गुनासो गर्ने गरेको वडा अध्यक्षका उम्मेदवार खत्रीले बताए । ‘नब्बेबर्ष पुगेका मातापिताको आर्सिवादले पनि मैले चुनाव जित्न हौसला मिलेको छ । गाउँका सबैजसो चुनावी गतिविधिमा होमिएका छन्’ उनले भने । बेनी नगरपालिका र पाँच
गाउँपालिका रहेको जिल्लाका अन्य क्षेत्रमा समेत जेष्ठ नागरिकले घरदैलोमा आफ्नो गुनासो सुनाउने र मतदान गर्ने प्रतिबद्धता उम्मेदवारलाई दिने गरेका छन् । बालबालिका देखी बृद्धबृद्धासम्म चुनावी चासोले निर्वाचनको बहिस्कार वा खारेजीको माग गरिरहेको नेकपाको गतिविधिमा समेत कमी आएको छ । जिल्लामा निर्वाचनको तयारीमा समेत तिब्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले निर्वाचन केन्द्रका लागि आवश्यक पर्ने साम्रागी सहितको टोली मंगलबार देखी गाउँतर्फ प्रस्थान गरेको बताए । जिल्लामा ७१ हजार ४६३ मतदाता रहेका छन् ।
Previous Articleअध्यक्षका उम्मेदवार माथी बोतल प्रहार
Next Article साझा प्यानलको चुनावीसभा लेखानीमा