बागलुङ, २८ वैशाख- जिल्लाको बरेङ गाउँपालिकामा अध्यक्ष उम्मेदवार प्रदीप थापा मगर माथी बोतल प्रहार भएको छ । बरेङ—२ बराहकोट चौतारामा नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा अध्यक्षका उम्मेदवार प्रदीप थापा मगर माथी बोतल प्रहार भएको हो । बुधबार विहान नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त चुनावी सभा भइरहेको बेला बरेङ गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रदीप थापा मगरलाई सोही स्थानका रतन काला थापाले टाउकोमा वियरको बोतलले प्रहार गरी फरार भएका प्रहरीले जनाएको छ । बोतल प्रहारबाट थापा सामान्य घाइते भएका छन् । बोतल प्रहार गर्ने काला मगर पनि नेकपा माओवादी केन्द्रकै कार्यकर्ता हुन् । घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बरेङ डाँडाबाट प्रहरी निरीक्षक हरि पुनको नतृत्वमा २५ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान र फरार व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताऐ । ‘घटनाको विषयमा हामी गम्भिर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी उपरिक्षक खापुङले भने,‘फरार रहेका व्यक्तिको खोजी कार्य जारी छ ।’ बोतल प्रहारबाट टाउकोमा सामान्य चोट लागेका थापा उपचारपछि पुनः चुनाव प्रचार प्रसारमा हिँडेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिका उपप्रमुख पदका उम्मेद्वार विष्णु बस्नेत खत्रीले बताए । पहिले माओवादीले उक्त गाउँपालिकामा थापालाई प्रमुख र चिनीमाया काला मगरलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको थियो । काँग्रेससंगको सहकार्यपछि चिनीमायाले उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिइन ।
Previous Articleकाँग्रेसको घरदैलो अभियान जारी
Next Article नब्बे काटेका आमाबुबा भन्छन्,‘चुनाबमा भोट हाल्छौ’