शिरीष
म त सोच्थें
हामी बूढो होउन्जेल हाम्रा हत्केलाहरु साथै हुनेछन्
हामी चौतारोमा उभिएर परको साँझहरु हेर्नेछौं
उकालो लाग्दै गरेको कुइरो समाएर बालापन उफ्रनेछौं
निन्द्राभरी मीठो परिकल्पनामा डुब्नेछौं
र,
एकान्तमा फेरी पनि पहिलोपटक भेटेको प्रेमीझैं
निकै कसिलोसँग बाँधिनेछौं भक्कानो फुकाएर
पैतालाहरुको मिहिन आवाजमा हामी हुरीहरुझैं बेतोडले नाच्नेछौं
नदी किनारमा टोलाएर घाम हुनेछौं
डुब्नेछौं यति विघ्न कि ऐठन भएर सपना हराओस्
म त यो पनि सोच्थें
झरीहरूमा ओतिनेछौं फेरि एकपटक,
पानीले भिजाएको माटोसरी खुम्चनेछौं
रातमा निभ्नेछौं झुसिल्किरा भएर
र,
बिम्झनेछौं‘ पुतली बनेर
हामी एकअर्कामा डुब्दाडुब्दै निथ्रुक्क भएर
कतैको रित्तो फलेकमा आराम गर्नेछौं
तर,
यो सब हुनलाई म मान्छे हुनुपर्थ्यो
र संवेदनाहरु हिड्नुपर्थ्यो
तिमी पनि मेरो आँखामा बसेको दृश्य हुनुपर्थ्यो
जसलाई मैले निकै समय खिचिरहन सक्थें
हामी त जति हिँडे पनि
जति नै दौडिए पनि
यो सब आखिरमा ‘ऊ’ त्यो घाम जस्तै रहेछ
ऊ त्यो रुख जस्तै रहेछ
ऊ त्यो बाटो जस्तै रहेछ
हामी मान्छे हुनुपर्थ्यो
मसिन भइएछ,
अब त म ह्याङ्ग हुनथालें
एकदमै स्विच अफ गरिरहनुपर्ने
सेलफोनजस्तो,
म त सोच्थें,
कतै टाढा टाढा बतास टेक्दै धुलो उडाउनेछौं
फाँटहरुको सानासाना झुपडीमा उज्यालो
खसाउँदै हिड्नेछौं
कलिला आँखाहरु उफान भएर पुलमाथि टेक्नेछौं
तलसम्म ध्यानमग्न हेर्नेछौं
यो सब हुनलाई
म सडकभरि र्निर्निमेष निभिदिनुपर्थ्यो
र
उज्यालो जति सबै तिमीलाई पोखिदिनुपर्थ्यो ।
Previous Articleहिमालय एयरलाईन्सको दुबई उडान शुरु
Next Article कथा – औँठीसँगै हराएको माया