शीतल शर्मा
“विस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम !”
मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यही शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरेँ र लेखेँ । सन्दर्भ त मेरै जन्मदिनको थियो, असोज ७ गते । त्यस दिन मेसेज त आएको थियो तर दिउँसोसम्म कुर्दा पनि उसको कल आएन । कुर्न त कुरिरहेकै थिएँ उसको कलको तर बेलुकासम्म पनि कल आउँदै आएन । सट्टामा “आजको जन्मदिन राम्रै भयो होला, कोसँग मनायौ, बधाइ छ” भनेर मोबाइलको मेसेज बक्समा लामो मेसेजले टिङ्गटिङ्ग आवाज दियो । मलाई त्यसको जवाफ दिनुपर्छ जस्तो लागेन किनभने मैले मेरो जन्मदिन ऊबाहेक अरुसँग मनाउने गरेको नै थिइन, खासमा त सोचेको पनि थिइन र कसैसँग मनाइन पनि । मेरो जन्मदिनमा ऊ आउला र कतै टाढा गएर मनाउँला भनेर आशा गरेर बसिरहेकी थिएँ, तर त्यस्तो भएन । किन हो भनेर मैले जान्न पनि खोजिन, किनभने उसले आजसम्म त्यस्तो गर्दै गर्दैनथ्यो । यसभन्दा पहिला रातीको बाह्र बज्नेबित्तिकै उसले कल गरेर बर्थडे विस गरिहाल्थ्यो, त्यो नै मेरा लागि ठूलो हुन्थ्यो । यसपटकको जन्मदिनमा के भयो, कि उसलाई थाहा होला कि भगवानलाई । मलाई थाहा हुने त कुरै भएन । मलाई सम्झेर, नसुतीकन बाह्र बज्नासाथ शुभकामना दिन पनि सानो कुरा थिएन, मेरो स्मरण ऊ सधैँ गरिरहन्थ्यो । के उसको अरु काम नै हुन्थेन र ? मेरो मात्र सम्झना गर्नलाई ? शहरको ठूलो मान्छे, विद्वान हो, आफ्नो कर्तव्य पनि त पूरा गर्नुपर्यो नि उसलाई ।
मेरो जन्मदिनको भोलिपल्ट मलाई फोन गर्यो ।
“ए डल्ली हिजो किन मलाई फोन नगरेको म नहुँदा पनि जन्मदिन मनाउन आँट आयो होइन अब ?”
म झसङ्ग भएँ, अनि लाग्यो मैले नै फोन गरेको भए त भइहाल्थ्यो । मेरो शरीरको उचाइले धोका खाएर कम उचाइ भए पनि उसले ‘डल्ली’ भनेको असाध्यै मन पर्छ मलाई । उसको ‘डल्ली’ शब्दले मेरो सारा रिस शान्त भयो, आफैले सरी भन्नुबाहेक विकल्प देखिनँ । उसको भेट्ने आग्रहलाई नकार्न सकिनँ र फेरि उसले भनेको ठाउँमा भेट्न गएँ । सदाझैं त्यस दिन पनि हाम्रो भेट भयो । त्यस दिन बोल्न मन लागेन नबोली बसेँ, गुथुक्क परेर, बोल्नै मन लागेन कसरी बोलुँ ? एकछिनसम्म त ऊ पनि नबोली बस्यो ।
एकछिन पछि– “कति मख्ख परेर बसेको, नबोल्ने भए किन आको, जहिले पनि फुलेको फुल्यै ! मलाई तिम्रो यही बानी मन पर्दैन । मान्छे त सधैँ ह्याप्पी हुनुपर्छ, स्याड फेस बनाउनु हुँदैन ।”
उसको लामो भाषण सुन्दासुन्दै मेरो रिस शान्त भैसकेको थियो । म पनि धेरै समय ऊसँग नबोली कहाँ बस्न सक्छु र ? फेरि कुराकानी सुरु भैहाल्यो । खाजा खायौँ, घर जाने बेलामा
“तिमीलाई जन्म दिनको उपहार के दिऊँ, तिमी आफै भन, मलाई केही आउँदैन, तिमीले भनिनौँ भने केही ल्याइदिन्न पछि रिसाउन पनि पाइँदैन ।”
उसले एकै सासमा भन्यो । जन्मदिनमा मलाई यो उपहार लेऊ भनेर के भन्ने ? कहिल्यै केही भनेको थिइन, तै पनि उसले बेलाबेलामा नदिएको होइन । भारतमा रहेको विश्व प्रसिद्ध प्रेमको प्रतीक भनेर चिनिने ताजमहलको सानो उपहार पनि नल्याइदिएको पनि होइन । मलाई कसरी भनुँ, के भनुँ, भन्ने भैरह्यो । फेरि आँटै गरेर उसलाई सोधे–“तिमी साँच्चै मलाई जन्मदिनको उपहार दिन चाहन्छौ त ? नाइँ भन्न पाइँदैन नि ।”
उसले हुन्छ भनेर प्रमिस गर्यो ।
“तिमीले उपहार दिन चाहन्छौ भने मलाई औंठी लगाइदेऊ, अनि मात्रै तिमीले मलाई सम्झिरहन्छौ”– मैले आँट गरेर भनेँ ।
“हवस ।”
उसको जवाफमा खुशी भएँ । अनि हामी आ(आफ्नो घर गयौं ।
समय बित्दै थियो, उसले गरेका हरेक फोनमा त्यो “उपहार”को सन्दर्भ जोडिएको हुन्थ्यो । एउटा राम्रो दिनमा उसको उपहार लिने इच्छासँगै एक दिन फोन गरेँ, ऊ मलाई लिन आयो । अनि औँठी किन्न दुवै जना मिलेर गयौँ ।
“अब यो मैले नै लगाइदिने होला होइन त ? कुन औँलामा लगाउने हो ?”
उसले यति सोधिसकेपछि मैले दाहिने साँहिली औँला दिएँ । उसले लगाइदियो । मैले धन्यवाद भनेर आभार व्यक्त गरेँ । म निकै खुशी पनि भएँ, लाग्यो उसले मलाई सधैँ यसरी नै माया गरिरहने छ । त्यस दिन दुवै जनाले खाजा खाएर आआफ्नो घरतिर गइयो । उसले मलाई घरसम्म छेड्न पनि गएको थियो ।
दिनहरु बित्दै गइरहेको थियो । अर्को दिन भेट्ने निश्चित गरेर फोनमा कुरा टुङ्ग्याउथ्यौँ । फेरि एक दिन खाजा सँगै खाऊँ भनेर उसैले फोन गर्यो । सदा झैँ उही ठाउँमा म गएँ । उसले लगाइदिएको औँठी लगाएरै गएको थिएँ । कुरै कुरामा उसले सोध्यो “औंठी लगाएपछि धेरै माया पाए जस्तो लागिराछ हो ?” मैले सहजै जवाफ दिएँ “एस” । त्यसपछि उसको भाषण सुरु भयो– “तिमीले दिएको उपहार मैले नलगाउँदैमा माया कम हुने अनि मैले लगाइदिएको औँठी तिमीले नलगाउँदैमा तिमीले मलाई नसम्झने हुन्छ र ? म त तिमीलाई त्यतिकै पनि सम्झिरहन्छु त । अनि फेरि जुन समय पनि तिमीलाई सम्झेर बसिरहन सकिन्छ त ? आज उसले अनौठो कुरा गरिरहेको देखेर म अवाक भइरहेको थिएँ । खासै बोल्न मन लागेन ऊसँग, मसँग कुरा नै नभए जस्तो लाग्यो । कुरा त उसको बेठिक होइन तर के यस्ता व्यवहारले मायालाई दिगो राख्ला त ? यिनै प्रश्नहरु मनमा खेलाउँदै घर गएँ । बेलुका हुँदासम्म पनि कुरा खेल्न छाडेन, सोचेँ यो औँठी लगाउदिन, तत्कालै औँठी खोलेर ब्यागमा राखे ।
टिङ्गटिङ्ग टिङ्गटिङ्ग टिङ्गटिङ्ग टिङ्गटिङ्ग फोनको घण्टी बज्यो उसैको रहेछ । “भेट्ने होइन ?”
हो, मैले जवाफ दिएँ र उसलाई भेट्न गएँ । त्यस दिन मैले कफी मात्रै पिएँ । गफगाफ भयो बीचबीचमा व्यावहारिक गफ पनि हुने गथ्र्यो हामीबीच ।
“देख्यौ त तिमीले आज त्यो औंठी लगाएकी छैनौ तर मलाई पनि त बिर्सिएकी छैनौ, मैले पनि तिमीलाई बिर्सेको छैन ।”
उसले त्यही कुरा कोट्याएपछि मलाई झन बोल्न मन लागेन । बोल्ने दिल नै खुलेन । उसलाई थाहा थियो कि थिएन, मैले त्यो औंठी किन नलगाएको भनेर । मैले भन्न पनि चाहिन । त्यसदिन त्यतिकै घरतिर लागियो । घरमा पुगें मनमा नानाथरी कुरा खेल्न थाले । सोचें अब यो औंठी लगाउदिन । जे भनोस भनोस् उसले । अब यो औंठी घरमै राख्छु भनेर ब्यागबाट औंठी झिक्न लाग्दा थाहा भयो कि औँठी त हराइसकेछ । कतिबेला, कहाँ, के गर्दा हरायो थाहा नै पाइन । उसलाई भन्न पनि डर लागिरहेको थियो । जे भए पनि मेरो मन राख्न नै भए पनि उसले मलाई माया गरेर लगाइदिएको थियो, भुल्न सकिन । चिटचिट पसिना छुट्यो, हातगोडा फतक्क गले, मनमा डर पस्यो कतै औंठीसँगै उसको माया पनि हराउँछ कि भनेर ।
मनमा जे सोच्यो त्यही हुन्छ भन्थे । नभन्दै त्यही हुन गयो । त्यस दिनदेखि उसले फोन गर्ने समय घटाउँदै गयो । कहिलेकाहीँ मात्र गथ्र्योे फोन पनि । फोन गरिहाले पनि औपचारिकता पूरा गर्न मात्र र आजसम्म पनि त्यसै गर्दैछ, भेट्ने कुरा त कता हो कता । त्यस्तो औंठी जसको मलाई धेरै रहर थियो । उसैको हातबाट लगाउने, आज त्यसैका कारण हाई डल्ली भन्ने आवाज हराएको छ, मेरो माया हराएको छ ।