पोखरा, ३० चैत – अडियो रेकर्ड भएको झण्डै १२ वर्षपछि गीतकार वसन्ती लालचनको ‘धौलागिरि अञ्चल, मन भयो मेरो चन्चल’ बोलको गीत अब भिडियोमा हेर्न पाइने भएको छ। सोमबार पोखरामा थकाली सेवा समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०६१ सालमै ‘सपनाको गाउँ’ एल्बममा समेटिएको उक्त गीतको म्युजिक भिडियो विमोचन गरे।
श्रेष्ठले भिडियोसँगै लालचनकै ‘धौलागिरि: कोबाङ हिमालपारिको गाउँ’ एल्बमसमेत विमोचन गर्दै नेपालको पर्यटन प्रवर्धनका लागि साहित्य र सङ्गीतले ठूलो भूमिका खेलेको बताए।
नेपालको धेरै इतिहाससँग मुस्ताङको साइनो जोडिएको भन्दै श्रेष्ठले मुस्ताङको प्रकृति र संस्कृतिलाई चिनाउन गीतकार लालचनको भूमिका स्मरणीय रहेको दाबी गरे। उनले लालचनको योगदानको कदर गरेर नेपाल पर्यटन बोर्डले विशेष सम्मान गर्नुपर्ने मागसमेत राखे।
‘आदिवासीले आफ्नो जातीय संस्कृति र सभ्यताको चर्चा गर्दा साम्पादायिक हुन्छ तर अन्यले त्यही कुरा गर्दा राष्ट्रियता हुने?’ श्रेष्ठले भने, ‘कुनै एक जातिको सभ्यताको विकास भएर मात्र देशको उन्नति हुने भए उहिल्यै भइसक्थ्यो, जसरी फूलबारी सुन्दर हुन सबै फूलहरु फुल्नुपर्छ, त्यसरी नै सबै जातिको संस्कृतिको विकास भए मात्र देशको विकास हुन्छ।’ स्थानीय सम्भावनाहरुको साहित्य र सङ्गीतमार्फत् उजागर गर्न जिविस, नगरपालिका जस्ता स्थानीय निकायले समेत चासो दिनुपर्नेमा उनको जोड थियो।
गीतकार लालचनले आफूलाई गाउँकै सौन्दर्य र वातावरणले लेख्न प्रेरणा दिएको बताउँदै आफूले गीतमार्फत् स्थानीय पर्यटनलाई उजागर गर्न चाहेको बताए। गीत सरल हुनुपर्ने मान्यता आफ्नो भएको भन्दै लालचनले पहिलो एल्बम ‘सपनाको गाउँ’मै यो गीतको अडियो समावेश भए पनि भिडियो निर्माण गर्ने सपना चाहिँ अहिले आएर पूरा भएकोमा खुसी व्यक्त गरे।
अजुदा थापाको स्वर र सुनील थापाको सङ्गीत रहेको गीतको म्युजिक भिडियोको निर्माण शङ्कर शेरचन, किरण शेरचन, विमल शेरचन, उषा शेरचन, मदन गौचन र बालकुमारी गौचनले गरेका हुन्। भिडियोको निर्देशन दिनाङ्क शेरचनले र मोडलिङ सिम्रन गौचनले गरेका छन्।
Previous Articleअन्तर्घात भएन भने हामीलाई कसैले सक्दैन – देउवा
Next Article डेली मेलले तिर्ने भो ३० लाख डलर क्षतिपूर्ति