पोखरा, ३० चैत – नेपाली कांग्रेसले बुधबार पोखरामा गरेको ४ नम्बर प्रदेशस्तरीय आमसभामा बोल्ने शीर्ष नेताले कांग्रेसभित्रको अन्तर्घातकै चिन्ता गरेका छन् । सभामा पार्टी अध्यक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइरालादेखि पूर्व उपसभापति गोपालमान श्रेष्ठले कांग्रेसभित्रकै अन्तर्घातकै चिन्ता व्यक्त गर्दै, ‘अब त्यसो नगर्न र जसरी पनि काँग्रेसलाई जिताउँन’ कार्यकर्तालाई अपील गरे।
‘हाम्रो पार्टीको सबैभन्दा ठूलो रोग अन्तर्घात हो,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘अन्तर्घात गर्ने कसैलाई पनि छुट छैन। अन्तर्घात गर्नेलाई कडाभन्दा कडा कारबाही हुन्छ।’ स्थानीय तहको निवर्गाचनमा अधिकतम सहमति जुटाएर गाउँमा उम्मेद्वार उठाउन देउवाले निर्देशन दिए। जित्ने उम्मेद्वारलाई मात्र टिकट दिने देउवाले जिकिर गरे। ‘सबै ७÷८ सय उम्मेद्वार को बनाउने काठमाडौंले हेर्न भ्याउँदैन। कसले जित्न सक्छ यहीँका नेतालाई थाहा हुन्छ। जित्न सक्नेलाई मात्र टिकट दिने हो,’ देउवाले भने।
सभापति देउवाले कांग्रेसलाई जिताए वृद्धाभत्ता दोब्बर गराउने पनि बताए। ‘हामी पैसा ल्याउने अरुले वृद्धाभत्ता हामीले दिएको भनेर फुर्ति ल्याउने?’ देउवाले भने, ‘कांग्रेसलाई जिताउनुस्, हामी वृद्धाभत्ता दोब्बर गराउँछौं। हामी पैसा ल्याउँछौं। विदेशीले अरुलाईभन्दा हामीलाई पत्याउँछन्।’
केही अघि पोखराको विपी चोकमै एमालेले गरेको आमसभामा अध्यक्ष केपी शर्मा ओलीले एमालेको जस्तो आमसभा कसैले गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिप्रति देउवाले व्यंग्य गर्दै भने, ‘ओलीले यहाँ हेर्न आए हुन्छ। सातो उड्छ।’ देउवाले देशमा मधेसी र पहाडीकाबीचमा द्वन्द्व गराउने षडयन्त्र भइरहेको आशंक गरे।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जो पायो त्यहीले उम्मेद्वार हुन्छु भन्दैमा नजितिने बताउँदै जित्न सक्ने र काम गर्न सक्ने हो कि होइन भनेर विचार गर्न आग्रह गरे। ‘हामीले क्षेत्र र जिल्लालाई अधिकार दिएका छौं,’ नेता पौडेलले भने, ‘यहीँका नेताले नै कसले जित्न सक्छ भनेर मूल्यांक गरेर पठाउनुहोला। सबै हामीलाई थाहा हुँदैन। देउवाजी र म भगवान होइनौं।’ पौडेलले पनि पार्टीभित्र अन्तर्घात बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। ‘हामी एक भएनौं र हा¥यौं भने गाउँघरमा नाकमुख देखाउनै गह्रो पर्छ। त्यसैले समझदारी अपनाउनुहोला,’ पौडेलले भने।
एमालेले धेरै भ्रम फैलाउने काम गरेको आरोप वरिष्ठ नेता पौडलले लगाए। ‘एमालेले धेरै भ्रम फैलाउने काम गरेको छ। एमालेको भ्रमप्रति खण्डन गर्न जरुरी छैन । ऊ आफैंले अण्डन गर्दै हिँड्छ,’ पौडेलले भने। विश्वकै कम्युनिष्टले भ्रम फैलाउने काम गरेको विकास नगरेको उनको आरोप थियो।
कांग्रेस महामन्त्री शशांक कोइरालाले अहिले जीवनमरण दोसाँद रहेको बताउँदै कांग्रेसलाई जसरी पनि जिताउनै पर्ने बताए। पूर्व पार्टी सभापति गिरिवाप्रसादको स्मरण गर्दै कोइरालाले पार्टी भित्रको अन्तर्घातको चिन्ता व्यक्त गरे। ‘गिरिजाबाबु भन्नुहुन्थ्यो, मलाई मेरै छायाँदेखि डर लाग्छ,’ महामन्त्री कोइरालाले भने ‘कांग्रेस कसैबाट हार्छ भने कांग्रेससँगै हार्छ। अन्तर्घातकै कारण हार्छ।’ महामन्त्री कोइरालाले यसपालीको स्थानीय चुनावमा कांग्रेसलाई हराउने गरी बागी उम्मेद्वार उठ्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’केन्द्रीय सदस्य तथा पूर्व उपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठले पनि कांग्रेसलाई हराउने अर्को शक्ति नभएको बरु कांग्रेसमै रहेको बताए। केन्द्रीय सदस्य, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमाले दोहोरो चरित्र भएको पार्टी भएको आरोप लगाए। आमसभामा बोल्ने अधिकांश नेता एमालेमाति खनिए भने कांग्रेसभित्रैको अन्तर्घातप्रति चिन्ता व्यक्त गरे।
अन्तर्घात भएन भने हामीलाई कसैले सक्दैन – देउवा
Previous Articleनेतृत्वकर्ता नै मुकदर्शक बनेपछि
Next Article ‘धौलागिरि अञ्चल’ १२ वर्षपछि भिडियोमा