काठमाडौं, १२ चैत – समकालीन २४ स्रष्टाका प्रेम विषयक कथाहरुको संयुक्त संकलन ‘पर्फ्युम’ राजधानीमा सार्वजनिक भएको छ। लेखकहरु नारायण ढकाल, प्रगति राई, सङ्गीत श्रोता र पुस्तकका सम्पादकद्वय राजकुमार बानियाँ र दीपक सापकोटाले पुस्तक सार्वजनिक गरेका हुन्। शिल्पी थिएटरमा भएको पुस्तक विमोचनसहित प्रेम-बहस कार्यक्रममा ९ जना कथाकारले पनि पुस्तकको संयुक्त विमोचन गरेका थिए।
‘हाम्रो समयमा प्रेम गर्नु अपराध जस्तै हुन्थ्यो, मेरो एकजना साथीले त प्रेमिकासँगै डेटिङमा गएको बेला नराम्री कुटाइ समेत खाएको छ’ कथाकार नारायण ढकालले भने, ‘थापाथलीतिर प्रेमिकासँग घुमिरहेको बेलामा तँ केटी लिएर डुल्न हिँड्ने को होस् भनेर पिटेछन्। अहिले त्यस्तो बारबन्देज छैन। पहिलेका तुलनामा अहिले प्रेमका लागि बढी स्पेस छ।’
प्रेमको आयामबारे चर्चा गर्दै ढकालले पूर्वीय र पाश्चात्य सभ्यतामा प्रेमको परिभाषालाई पनि अलग तरिकाले हेर्ने गरिएको समेत चर्चा गरे। उपन्यासकार तथा कवि प्रगति राईले महिलाका कोणबाट मात्रै नभएर फरक सभ्यता र संस्कृतिमा प्रेमलाई ग्रहण गर्ने तरिका नै भिन्न भएको बताइन्। उनले प्रेमकथा भनेर धेरै नाम चलेका र स्थापित कथाकारले समेत महिलालाई नांगो मात्रै देखाउन खोजेको पनि जिकिर गिरन्।
किराँतहरुको मुन्धुम संस्कृतिमा महिलाहरु नै घरव्यवहारमा अगुवा हुने र उनीहरुलाई प्रेमव्यवहार प्रदर्शन गर्न कठिन नहुने राईको भनाइ थियो। ‘तर अहिले प्रेम हराउँदै गएको महसुस गरेको छु,’ उनले पुस्तकको प्रसंग कोट्याउँदै भनिन्, ‘समाजमा प्रेमको परिभाषा अन्योलमा परेको बेला ‘पर्फ्युम’ पुस्तकले विविध आयामलाई समेटेर प्रेममाथि बहस गर्ने ठाउँ बनाइदिएको छ। यसभित्रका कथाहरुले यो समयमा प्रेमलाई कसरी हेर्न सकिन्छ भनेर मन्थन गर्ने ठाउँ छाडिदिएको छ।’ प्रेम बहसमा बोल्दै कथाकार नारायण ढकाल
सङ्गीत श्रोताले भने समाजमा विद्यमान अवरोधहरुलाई छिचोल्न सक्ने र मानव जीवनलाई अझ प्रगतितिर लैजाने उद्देश्यसहितको प्रेम नै सच्चा प्रेम भएको टिप्पणी गरे। उनले भने, ‘प्रेम भनेको निरपेक्ष रुपमा प्राकृतिक सम्बन्ध होइन, यो त संस्कृति हो। पशुपंक्षीबीचको फरक लिंगी सम्बन्ध र मानवबीचको प्रेम सम्बन्धमा यही फरक छ। मान्छे आफ्नो सम्पूर्ण सभ्यताको हितसहित प्रेमको संघर्षमा हुन्छ।’
उनले युवायुवतीको आकर्षण र प्रेमालापलाई मात्रै विषय बनाएर लेखिँदैमा प्रेमकथा नहुने बताए। भने, ‘शरीर आकर्षण मात्र लेखियो भने त्यो यौनकथा हुन्छ। समाजका बाधाहरुसँग जुध्ने काम कुनै प्रेमजोडीले गरेका छन् भने तिनको सङ्घर्ष कथा प्रेम कथा हो।’
सहजकर्ता घिमिरे युवराजले कथाको चयन गर्दा सम्पादकले के कस्तो जस/अपजस पाउँछ भनेर सोधेको प्रश्नमा सम्पादक बानियाँले पुस्तक छापेर आइसकेपछि मात्रै त्यसको मूल्याङ्कन हुने जवाफ दिए। ‘कतिपय ठाउँमा हामीले मित्रलाभ पनि गरेका हौंला,’ उनले भने, ‘धेरै कथाहरुबाट छानेर २४ वटामा ल्याउनु र फरकफरक टेस्ट दिनु हामीलाई चुनौती नै थियो। तर यो पुस्तको बिज रोप्ने काम दीपकले गरेको हुँदा यसको मुख्य जस मलाईभन्दा पनि दीपकलाई नै जान्छ।’पर्फ्युम विमोचन कार्यक्रम
सम्पादक सापकोटाले ‘पाण्डुलिपि मासिक’को प्रेम विशेषांकका लागि संकलन गरिएका र नयाँ समेत गरेर पुस्तकाकार रुपमा यो ‘पर्फ्युम’ तयार गरिएको जानकारी गराए। ‘पाण्डुलिपि पत्रिका प्रकाशन स्थगित भएपछि संकलित प्रेमकथाहरु थन्किएका थिए,’ उनले भने, ‘नयाँ पुस्ताका सक्रिय लेखकहरु समेत समेटर छनोट गरी उत्कृष्ट कथाहरु प्रकशनमा ल्याएका हौं।’
पुस्तकमा अमर न्यौपाने, अश्विनी कोइराला, अभय श्रेष्ठ, कुमार नगरकोटी, मनिषा गौचन, नवीन विभास, नयनराज पाण्डे, निरुपा प्रसून, श्याम साह, सुबिन भट्टराई, उमा सुवेदी, ऋचा भट्टराईका कथा पर्फ्युमा समावेश छन्। साथै अशोक सिलवाल, बच्चु विक, विमल आचार्य, विनोदविक्रम केसी, दिनमान गुर्मछान, रिविन, राजु स्याङ्तान, गणेशकुमार राई, लेनिन बञ्जाडे, मनोज दाहाल, मुनाराज शेर्मा र योगेश ढकालका कथा पनि छन्। पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो।